बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा कोरोना संक्रमणको अवस्था भयावह

प्रदेशका तीन जिल्ला र अस्थायी राजधानी जनकपुरधाम सुनसान
मङ्गलबार, २० साउन २०७७, १३ : ५२
मङ्गलबार, २० साउन २०७७

जनकपुर । प्रदेश २ का विभिन्न जिल्लामा कोरोनाभाइरस संक्रमणको अवस्था भयावह बन्दै गएको छ । प्रदेशका ८ जिल्लामध्ये ३ जिल्लासहित बढी मात्रामा संक्रमित फेला परेका विभिन्न पालिकामा निषेधाज्ञा जारी गरिएको छ ।प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित विभिन्न स्थानमा कोरोना संक्रमित पाइएपछि जनकपुरधाममा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ ।

मंगलबार बिहानैदेखि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका बजार, पसल, सरकारी तथा गैरसरकारी कार्यालय लगायत व्यापारिक केन्द्र बन्द छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि नगर्न तथा गर्न नदिन स्थानीय प्रशासनले सम्बद्ध सबैमा आग्रह गरेको छ । नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार राति १२ बजेदेखि एक हप्तासम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उपमहानगरपालिका भरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय धुनुषाले जनाएको छ ।

मंगलबार बिहानैदेखि जनकपुरधाममा ‘अत्यावश्यक’ बाहेकका सेवा बन्द छन् । त्यस्तै बारा, पर्सा र सप्तरी जिल्लामा कोरोना संक्रमण तीव्र रुपमा विस्तार हुन थालेपछि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका र जलेश्वरसँग जोडिएका महोत्तरी गाउँपालिकाको २ वडा लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

धनुषामा अहिले संक्रमितको संख्या ७ सय २९ पुगेको छ । जसमा ६५८ पुरुष र ७१ महिला छन भने एकजनाको मृत्यु भएको छ । जिल्लामा ५ सय ७९ जना उपचार पश्चात निको भएर घर फर्केका छन् । प्रदेश नम्बर २ मा हालसम्म ५ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भईसकेको छ ।

प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले राजनीतिक दलहरु, विज्ञ लगायतसँग आपत्तकालीन बैठक आयोजना गरेको छ । यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिना काम आवत–जावत गर्नेहरुलाई कडाइका साथ चेकजाँच गर्दैछन् । स्थानीय प्रशासनको आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

नगरपालिकामा दुई दर्जनभन्दा बढी कर्मचारी संक्रमित
महोत्तरीको जलेश्वरनाथ नगरपालिकामा दुई दर्जन भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पाइएको छ । जलेश्वरनाथ नगरपालिकाको कार्यपालिकाको कार्यालयका ५४ जना कर्मचारीको पिसिआर टेष्ट गरिएकोमा सोमबार २५ जना कर्मचारीमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले दिएको जानकारी अनुसार सोमबार महोत्तरीमा ३० जनामा कोरोना संक्रमित पुष्टि भएको हो । तीमध्ये जलेश्वरनाथ नगरपालिकाका २५ जना कर्मचारी र २ जना सर्वसाधारण छन् भने लोहारपट्टी नगरपालिकामा एक, नेपाली सेनाको रणभिम गण प्रकौलीमा कार्यरत एक सैनिक र भंगहा नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जलेश्वर नगरपालिकाभित्रका ५३ जनाको स्वाब संकलन गरेर पठाइएकोमा २७ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारीले कटुवालले बताए । यता, जलेश्वरनाथ नगरपालिकाका मेयर रामाशंकर मिश्राले नगरको अवस्था भयावह बन्दै गएको बताए । उनले संक्रमित कर्मचारीहरुको कन्ट्रयाक्ट ट्रेसिङ्ग गरिरहेको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप