शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टेलिकमको पनि मोबाइल वालेट आउने, सहायक कम्पनीले अघि बढायो प्रक्रिया

मङ्गलबार, २० साउन २०७७, १३ : ४७
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । नेपाल टेलिकमले भुक्तानी सेवा प्रदायक (पीएसपी) को काम सुरु गरेको छ । नेपाल टेलिकमले मोबाइल फाइनान्स सर्भिस (एमएफएस) नामको सेवाको लागि प्रक्रिया सुरु गरेको हो । यसका लागि नेपाल राष्ट्र बैंकबाट आशयपत्र समेत पाइसकेको छ । 

टेलिकमले नेपाल डिजिटल पेमेन्ट कम्पनी नामको छुट्टै सहायक कम्पनी स्थापना गरेको छ । सो कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकको समेत आंशिक लगानी छ । सो कम्पनीलाई नेपाल राष्ट्र बैंकले पीएसपी लाइसेन्सका लागि आशयपत्र दिएसँगै त्यस्तो सिस्टम खरिदका लागि कम्पनीले प्रस्ताव आह्वान गरिसकेको छ । 

कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत निर्मल श्रेष्ठले आफूहरु सरकारी स्वामित्वका कम्पनीहरुको लगानी भएको कम्पनी भएकोले सरकारी भुक्तानीहरुलाई व्यवस्थित गर्ने हिसाबले बजारमा आउन लागेको बताए । भुक्तानी सेवा प्रदायक नै भएपनि आफ्नो मूल कम्पनीसँगको सहकार्यमा भुक्तानी सेवालाई विस्तार गर्ने र यसलाई विश्वसनीय बनाउँदै लैजाने योजना रहेको समेत उनको भनाई छ । 

१ अर्ब रुपैंया अधिकृत पुँजी भएको सो कम्पनीको जारी पुँजी भने हालसम्म ४० करोड रुपैंया मात्रै छ । पूर्वाधार पूरा गरेर राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएसँगै यसले बजारमा भुक्तानी सेवाको काम सुरु गर्नेछ । मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको अनुमति बन्द गरेको छ । तर, आफूहरुले एलओआई पाइसकेकोले मौद्रिक नीतिको उक्त व्यवस्था आफूहरुलाई आकर्षित नहुने श्रेष्ठको दाबी छ । अहिले बजारमा आईएमई पे, इसेवा, सेलपे, खल्ती, प्रभुपे जस्ता १४ डिजिटल भुक्तानी सेवा प्रदायकले सञ्चालन अनुमति पाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप