बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाईजात्रामै व्यङ्ग्य किन ?

कोही भन्छन् परम्परा, कोही भन्छन् वाक् स्वतन्त्रता
मङ्गलबार, २० साउन २०७७, ०९ : ३३
मङ्गलबार, २० साउन २०७७

काठमाडौँ । ‘गाईजात्रा’ नेवारहरुको मौलिक पर्व हो । गाईजात्रालाई साधारणतय मृतकको सम्झनामा गाई, झाँकी, व्यङ्ग्य, प्रहसनलगायत प्रदर्शन गर्ने दिन भनेर समेत बुझ्ने गरिन्छ । तत्कालीन राजा प्रताप मल्लले छोराको शोकमा रहेकी पत्नीको मन शान्त पार्न युवराज मात्र होइन देशमा अन्य धेरै व्यक्ति पनि मरेका हुन्छन् भनेर देखाउन यो जात्रा सुरु गरिएको इतिहासमा उल्लेख छ ।

गाईजात्रामा गाईको झाँकीले नपुगेर रानी खुसी पार्न व्यङ्ग्य, प्रहसन जस्ता क्रियाकलाप गर्दा रानी खुसी भएकाले उक्त समयदेखि यो दिन बर्सेनि हाँसो, मजाकसमेत गर्ने गरिएको इतिहासमा पढ्न पाइन्छ । हिन्दू धर्मअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ ।

वाक् स्वतन्त्रताको रूपमा समेत सदुपयोग हँुदै आएको गाईजात्रालाई प्रहसन, राजनीतिक, सामाजिक विकृतिप्रति व्यङ्ग्य गर्ने पर्वका रूपमा समेत लिने गरिएको छ । जनै पूर्णिमाको भोलि पल्टदेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव पनि हो ‘गाईजात्रा’ । यो पर्वमा हाम्रा कलाकारहरु राजनीतिक घोचपेच गर्ने, सामाजिक विषयवस्तु माथि तीखो व्यङ्ग्य प्रहारका कार्यक्रम गर्ने, व्यङ्ग्यले भरिएको अडियो, भिडियो प्रहसन निकाल्नेदेखि लेख रचना प्रकाशनसमेत गर्दछन् ।

‘गाईजात्रा’मै व्यङ्ग्य किन ? यो पर्वमा विभिन्न व्यङ्ग्यात्मक गतिविधि गर्दै आइरहेका कलाकारलाई हामीले प्रश्न राखेका छौँ । प्रस्तुत छ उनीहरुको धारणा जस्ताको तस्तै ।

मदनकृष्ण श्रेष्ठ :

पहिला गाईजात्रामा व्यङ्ग्यका कार्यक्रमहरु गर्ने चलन थिएन । नेवार समुदायले यो परम्परा भव्य रूपमा मनाउने गर्दथे । प्रताप मल्लको पालादेखि चलेको यो परम्परामा नेवार समुदायका कोहीले गाई बनाएर देखाउँदै हिँड्ने र कोहीले विभिन्न क्रियाकलाप गर्दै हसाउँदै हिँड्ने चलन थियो ।

बिस्तारै बिस्तारै यो पर्वमा कतै कतै हास्यव्यङ्ग्य पनि प्रस्तुत गर्न थालियो । त्यसको विकसित रूप हो अहिले गरिने विभिन्न व्यङ्ग्यात्मक कार्यक्रमहरु ।

एक समय राजपाल थापा, ध्रुव हाडाले गाईजात्रामा सामाजिक विषयमा राम्रो व्यङ्ग्य प्रस्तुत गर्ने गर्नुहुन्थ्यो । त्यो निकै सबल मानिन्थ्यो ।

उहाँहरु प्रहरीको जागिरे भएकोले राजनीतिक र प्रशासनिक व्यङ्ग्य गर्न सम्भव थिएन । म लगायत केही साथी मिलेर २०२८ सालमा ‘मुना सः’ भन्ने संस्था गठन गरिएको थियो । मुना सः भनेको आवाजहरुको समूह हो । यो संस्थामार्फत हामीले पनि विभिन्न सन्देशमूलक हास्यव्यङ्ग्य प्रस्तुत गर्दथ्यौँ ।

सामाजिक व्यङ्ग्यबाट सुरु भएको व्यङ्ग्य कार्यक्रममा बिस्तारै बिस्तारै राजनीति पनि घुस्न थाल्यो । शासक वर्गले गाईजात्राको दिन भनेर मनमा लागेको कुरा विभिन्न माध्यमबाट राख्न छुट दिन थाले ।

यो दिन गरिएको छेडछाड युक्त व्यङ्ग्यालाई सबैैले ठट्यौलीका रूपमा लिन थाले । अन्य बेला बोल्न नपाएका, भन्न नमिल्ने कुरा यो समय व्यङ्ग्यका माध्यमले प्रस्तुत गर्दा सम्बन्धित मानिसबाट नराम्रो रियाक्सन पनि नआउने भएकाले गाईजात्रा एक किसिमिले व्यङ्ग्यको पर्वको रूपमा समेत बिकसित भयो ।

हरिवंश आचार्य :

गाईजात्रा मनाउने चलन प्रताप मल्लको पालादेखि चलेको हो । उनले छोराको निधनपछि शोकाकुल भएकी रानीलाई बुझाउन, हसाउन आफू नै बनेर आए पनि हुने, आफ्ना बारेमा व्यङ्ग्य गरे पनि छुट भनेका थिए रे ।

सो समय अश्लीलता लगायतका विभिन्न क्रियाकलाप पनि भए रे । केटाकेटीको भेषमा समेत निस्किए रे । यो देखेर रानी हाँस्न थालिन् रे । त्यसरी यो पर्व सुरु भयो भन्ने छ ।

बिस्तारै यो पर्वमा थिएटरबाट पनि व्यङ्ग्य प्रहार गर्ने परम्परा चल्यो । थिएटरमा व्यङ्ग्य गर्ने चलन प्रज्ञा भवनले सुरु गरेको थियो । राणा, पञ्चायत शासन कालमा अन्य समय बोल्न, आफ्नो कुरा राख्न पाउने स्वतन्त्रता थिएन ।

तर गाईजात्राको एक दिन भने अभिव्यक्ति स्वतन्त्रता थियो । यो दिनमा शासक, ठूलाबडा लगायतलाई समेत व्यङ्ग्य गर्न मिल्थ्यो । मैले पनि २०३३ सालदेखि गाईजात्रामा व्यङ्ग्य गर्न थालेको थिएँ । त्यो अहिले पनि जारी छ ।

किरण केसी :

परम्परादेखि यो दिनलाई वाक् स्वतन्त्रताको दिनको रूपमा लिइएको छ । पहिले शासन व्यवस्था कडा थियो । जनताले शासकको विषयमा मात्र होइन कुनै पनि विषयमा स्वतन्त्र रूपमा आफ्नो विचार राख्न पाउँदैन थिए ।

शासकलगायत धेरै पक्षको बारेमा जनमानसमा रहेको भावना बाहिर ल्याउनु जरुरी छ भनेर त्यति बेलाका ज्ञानी राजा प्रताव मल्लले आफूलाई समेत गाली गर्न पाउने गरेर गाईजात्रा पर्वको सुरुवात गरे । यो दिनमा वाक् स्वतन्त्रता दिए ।

त्यही परम्पराको निरन्तरताका लागि अहिले पनि गाईजात्रामा व्यङ्ग्य गर्ने गरिन्छ । यो एक दिन बोल्न छुट भएकाले सबैको विषयमा व्यङ्ग्य गर्न मिल्छ । एक दिनको यो पर्व लम्ब्याएर हामीले प्रज्ञा प्रतिष्ठानमा २२ दिनसम्म पनि व्यङ्ग्य कार्यक्रम गरेका थियाँै ।

अहिले त व्यङ्ग्यका लागि ‘गाईजात्रा’नै कुर्नु पर्दैन ।

मनोज गजुरेल :

व्यङ्ग्य गर्ने चलन इतिहाससँग जोडिएको छ । राजा प्रताप मल्लले आफ्नी पत्नी जो छोरोको मृत्युमा शोकमा रहेकी थिइन् । उनलाई मृत्युको सत्यता बोध गराउन, हसाउन विभिन्न ख्याल ठट्टा गर्ने, विभिन्न आकृतिका झाँकी निकाल्ने गरेर यो पर्व सुरु गरेका थिए रे ।

धेरै पहिलेको कुरो त जानकारी छैन मलाई । त्यसका लागि इतिहास खोतल्नु पर्ला । पञ्चायतकालमा आएर गाईजात्राको अवसरमा गरिने सामान्य ख्यालठट्टामा विभिन्न राजनीतिक ठट्टा समेत मिसाएर गर्न थालियो । पञ्चायकालमा अन्य समय बोल्न छुट थिएन ।

गाईजात्राको यो एक दिन भने राज्य व्यावस्था, शासकलगायत सबैको विषयमा बोल्न पाउने छुट दिइयो । त्यही भएर पनि जाईजात्रामै व्यङ्ग्य गर्ने परम्पराको थालनी भएको होला ।

दीपकराज गिरी :

गाईजात्राको इतिहास हेर्ने हो भने अहिले जस्तो व्यङ्ग्यको कार्यक्रमको चलन थिएन । मरेको मानिसलाई सम्झने विशेष गरेर नेवार समुदायको पर्व हो यो । यसमा झाँकी प्रदर्शन गर्ने, अनुहार कुरूप बनाउने लगायतका धेरै परम्परा थियो ।

यही परम्परामा बिस्तारै डबलीहरुमा नाटक तथा रमाइलो प्रस्तुतिका कार्यक्रम पनि हुन थाले । त्यस्ता प्रस्तुतिमा बिस्तारै शासक वर्ग, प्रशासन लगायतको व्यङ्ग्य घुसाउन थालियो । बिस्तारै बिस्तारै गाईजात्रा व्यङ्ग्यको पर्वको रूपमा समेत विकसित भयो ।

पञ्चायत, राणाजस्तो कठोर राज्य व्यवस्थाको समयमा जुनै बेला पनि बोल्ने छुट थिएन । तर गाईजात्राको दिनमा बोलेको कसैले पनि नराम्रो रूपमा लिँदैन थिए ।

यही अवसरमा राज्य व्यवस्थाका कमीकमजोरी औँल्याउने, जनताको कुरा राख्ने काम व्यङ्ग्यमार्फत हुन थाल्यो । त्यसको निरन्तरताको रूपमा अहिले पनि यो दिनमा व्यङ्ग्य कार्यक्रम गर्ने गरिन्छ ।

पछिल्लो समय यो बिस्तारै हराएर जान थालेको छ । एक त कार्यक्रमका लागि राम्रो हल छैन । अर्काे कुरा सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट जसले जहिले पनि सबैलाई गाली गरिरहेका छन् । त्यो पनि सीधै । सीधै गाली गरेपछि व्यङ्ग्यको महत्त्व के भयो र ?

उत्तम केसी :

अहिले वर्षभरि नै व्यङ्ग्य गर्ने गरिन्छ । प्रजातन्त्र आएपछि यस्तो छुट भएको हो । पहिले राणाहरुले जनतालाई मनमा लागेको, बोल्न नसकेको कुरा व्यङ्ग्यका मध्यमले गाईजात्राको अवसरमा राख्नका लागि ७ दिन छुट दिएका थिए रे ।

उनीहरुले दर्शक हसाओ । हाम्रा कमीकमजोरी पनि राख, त्यसलाई हेरेर हामी सुुधार गरौँला भनेर छुट दिएको भन्ने मान्यता छ । त्यही कारण गाईजात्रामै व्यङ्ग्य गर्ने चलन चलेको हो । राणाको पालामा सिंहदरबारभित्रको नाच घरमा यस्तो कार्यक्रम हुन्थ्यो रे ।

त्यो परम्पराको निरन्तरका लागि गाईजात्रामा व्यङ्ग्य कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । अहिले मौलिक  हक स्वतन्त्रता भनेका छन् । वर्षभरि सबैले सबैलाई गाली गरेका छन् । सीधै भन्नुपर्दा अहिले जताततै गाईजात्रा छ ।

जितु नेपाल :

हरेक चिजको सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन् । सरकारको पनि प्रतिपक्ष हुन्छ । त्यसले सरकारले गरेका गल्ती कमीकमजोरीमा खबरदारी गर्छ । मन्दिरमा जाने हो भने पनि त्यहाँ भगवानका सेनाबेना अगाडि हुन्छन् । यसको मतलव भगवानलाई पनि खबरदारी चाहिन्छ ।

नेता, राज्य सञ्चालन गर्ने, सार्वजनिक निकायमा रहने व्यक्तिहरुलाई सीधै भन्न नमिल्ने, गल्ती कमिकमजोरी आँैल्याएर घुमाउरो तरिकाले राख्नुलाई नै व्यङ्ग्य भनिने गरिएको छ । गाईजात्रामा वाक् स्वतन्त्रता भएकोले पनि यो दिन व्यङ्ग्य गर्ने चलन चलेको हो जस्तो मलाई लाग्छ ।

अहिले सीधै सराप्दासमेत नमान्ने भइसकेका छन् । यो अवस्थामा व्यङ्ग्याको काम छैन । पहिले हाम्रा व्यङ्ग्यले नेता, राजनीति, प्रशासनलगायत सच्चिन्थ्यो । अहिले त्यस्तो आस गर्न सकिँदैन ।

व्यङ्ग्य हामी कलाकारको काम भएकाले यसलाई निरन्तरता दिइरहेका छौँ । हाम्रो विभिन्न परम्परा छन् । ती परम्परामा गरिने क्रियाकलाप पनि फरकफरक छन् । यो गाईजात्रा व्यङ्ग्य गर्ने परम्परा चलिआएको छ ।

शिवशङ्कर रिजाल (जोगिन्दर) :

गाईजात्रामै व्यङ्ग्य गर्ने कुरा कुनै ऐन, नियम, संविधान, विधान लगायतबाट निर्धारण भएको कुरो होइन । परम्परादेखि गाईजात्राको विशेष दिन वाक् स्वतन्त्रताको दिन भनेर लिएको पाइन्छ । यो दिन खुलेर सबैपक्षका कमिकमजोरी औँल्याउँदा कानुन लाग्दैन भन्ने परम्परा छ ।

अन्य समय बोल्न नपाएका सबै विषय यो बेला व्यङ्ग्यका रूपमा राखेर सन्देश प्रवाह गर्नेसमेत गरिन्छ । पहिलेदेखि नै चलिआएको संस्कृतिको निरन्तरताका लागि अहिले पनि व्यङ्ग्य गर्ने गरिएको हो ।

हाम्रा केही सांस्कृति पर्व छ । ती पवर्हरुमा पहिले जे चलिआएको छ । हामीले त्यसैलाई निरन्तरता दिइरेका छौँ ।

दमन रूपाखेती :

गाईजात्रा प्रताप मल्लको पालादेखि चल्दै आएको एउटा पर्व हो । यो पर्वमा ठूलाबडालाई मज्जाले घोचपेच गरेर बोल्न मिल्छ । अहिले नेताहरुले देश सिध्याउन लागे, राम्रा नेता भएनन् ।

सबैतिर भ्रष्टाचार बढ्यो । यी सबै सही ठाउँमा आउँछ कि भनेर हामीले विभिन्न माध्यमबाट व्यङ्ग्यहरु गरिरहेका छौँ । अहिले जुनै पार्टीमा पनि ६० भन्दा माथिका व्यक्ति संरक्षक भएर बसेका छन् । युवालाई जिम्मा दियो भने देश बन्छ । हाम्रो देशको मिचिएको सीमा युवा नेतृत्व आएपछि फर्किन्छ भनेर सचेत गराउन हामीले व्यङ्ग्य गर्दै आएका छौँ ।

यो गाईजात्रामा अरुमाथि घोचपेच गर्न छुट हुने भएकाले व्यङ्ग्य गर्ने गरिन्छ । यो समय गरिएको व्यङ्ग्य हाँसोको रूपमा समेत लिने भएकोले दुःखी हुने, रिसइवी साँध्ने गर्दैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप