शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको जेलमा २० घण्टा भिडन्तः मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

सोमबार, १९ साउन २०७७, २२ : २८
सोमबार, १९ साउन २०७७

एजेन्सी । अफगानिस्तानको एउटा कारागारमा झण्डै २० घण्टा भएको भिडन्तमा परी मृत्यु भएकाहरुको सङ्ख्या ३७ पुगेको छ ।  देशको नान्गाहार प्रान्तमा पर्ने जललावादमा रहेको कारागारमा सोमबार भएको भिडन्तमा परी उनीहरुको मृत्यु भएको हो । 

प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगियनीले आठ जना आक्रमणकारीहरुलाई मार्न सरकारी सुरक्षाकर्मीहरु सफल भएको दावी गरे । सरकारी अधिकारीहरुले यो समाचार लेख्दासम्ममा सो घटनामा परी कुल ३७ जनाको मृत्यु भएको जनाएका छन् । मृत्यु भएकामध्ये आठ जना आक्रमणकारी भएपनि अरु २९ जनामा आम नागरिक, सुरक्षाकर्मी, कैदीका चौकीदार र कैदीहरु पनि रहेका बताइएको छ । 

सोही घटनामा परी शुरुमा २१ जनाको मृत्यु भएको र त्यसपछि कुल २९ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ।  रक्तपातपूर्ण यस भिडन्त स्थानीय समयअनुसार आइतबार बेलुका साढे ६ बजेदेखि शुरु भएको थियो । भिडन्तका क्रममा कार बमलगायतका हात हतियारहरुको प्रयोग भएको अधिकारीहरुले जनाएका छन् । 

घटनामा परी अरु ५० भन्दा बढी घाइते भएको पनि प्रवक्ता कोगियनीले पुष्टि गरे । तर सुरक्षाकर्मी, आम नागरिक, जेल कर्मचारी, कैदीमध्ये कति घाइते भएका हुन भन्ने बारेमा भने उनले जानकारी दिएनन् ।  घटनाका बारेमा अतिवादी इस्लामिक स्टेट (आइएस)का लडाकूहरुले जिम्मेवारी लिएको समाचारमा जनाइएको छ । यस क्षेत्रमा आइएसका लडाकूहरुले लामो समयदेखि हिंसात्मक गतिविधिहरु गर्दै आएका छन् । 

गत शुक्रबारदेखि मुस्लीम धर्माबलम्बीहरुको महान पर्व ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धविराम लागू गरिएको थियो । त्यसैगरी अफगान राष्ट्रपति असरफ घानीले ईदलगत्तै तालिबानसँग वार्ता शुरु हुने र त्यसपछि स्थायी युद्धविराम हुने बताएका थिए । शान्ति प्रक्रिया अगाडि बढ्ने अपेक्षा भइरहेका बेलामा कारागारमा आक्रमण भएर ठूलो मानवीय क्षति भएपछि अफगानिस्तानको शान्ति प्रक्रिया बारे फेरि चिन्ता बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप