बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसमा महाधिवेशन ‘स्टन्ट’: विभाग गठन र विस्तारको अन्तिम तयारीमा देउवा

सोमबार, १९ साउन २०७७, १७ : ४३
सोमबार, १९ साउन २०७७

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विभाग गठन र विस्तारको तीव्र गृहकार्य गरिरहेको छ । सातवटै प्रदेशका प्रतिनिधिले विभागका पदाधिकारी र सदस्यको नामावाली सङ्कलन गरी पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।

प्रदेश १ बाट ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ बाट आनन्द ढुङ्गाना, बागमती प्रदेशबाट सहमहामन्त्री प्रकाशशरण महत, गण्डकी प्रदेशबाट गोपालमान श्रेष्ठ, प्रदेश ५ बाट बालकृष्ण खाँण, कर्णाली प्रदेशबाट जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट एनपी साउदलाई नामावली छनोटको जिम्मेवारी दिएका थियो । 

देउवाले गत फागुन तेस्रो सात आफ्नो चार वर्षको कार्यकाल सकिएपछि २० वटा विभाग गठन गरेका थिए । पौडेल पक्षको विरोधका बीच देउवाले फागुन १७ गते १३ र १९ गते ७ गरी २० वटा विभाग गठन गरेका थिए । योबीचमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई समेत समेट्नका लागि देउवाले २७ विभाग भने खाली छाडेका थिए । तर पौडेल पक्ष पार्टीको केन्द्रीय विभाग गठन र सदस्यहरूको मनोनयनको विषयलाई मुद्दा बनाएर प्रतिवादमा उत्रिएको छ । 
महाधिवेशन भएको दुई महिना (नयाँ विधानअनुसार ६ महिना) भित्र गठन गर्नुपर्ने विभाग महाधिवेशनको ७ महिनाअघि गठन गरिनु विधान विपरीत भएको पौडेल पक्षको तर्क छ । 

पौडेल पक्षले पार्टी विभागमा भइरहेका मनोनयनलगायत असहमतिका ५ वटा विषयमा सभापति देउवालाई भेटेरै ध्यानाकर्षण गराएको थियो भने मनोनयन र नियुक्ति खारेजीका लागि पार्टीको निर्वाचन समितिमा उजुरीसमेत दिएको छ । पार्टीको केन्द्रीय महाधिवेशनसहित तल्ला तहका अधिवेशनहरुको तिथि घोषणा भइसकेपछि विभागमा संयोजक तोक्ने, सदस्यहरु मनोनयन गर्ने र पार्टीका अन्य निकायसमेत गठन गर्ने काम भइरहेको भन्दै पौडेल पक्षले आपत्ति जनाउँदै आएको छ । तर विगतमा भागबण्डा नमिल्दा विधान विपरीत हुने निर्णयमा पनि सहमति जनाएपछि यतिबेला पौडेल पक्षको मुद्दा कमजोर बनेको छ ।

त्यसैले पनि सभापति देउवा पौडेल पक्षको सहमति बेगर विभाग गठन र विस्तारका लागि तम्सिएको देखिन्छ । त्यसका लागि विभिन्न जिल्लाबाट नाम सङ्कलन भइसकेको बताए । उनका अनुसार बुधबारसम्म थप १० वटा विभागको गठन र यसअघि गठन भएका विभाग विस्तार गरिने छ । साउदले भने, ‘यतिबेला थप १० वटा जति विभाग गठन गरेर ६०/४० को हिसाब गरिन्छ । विभागको संरचना र सदस्य मनोनयमा पनि ६०÷४० कै सूत्र लागू गरिनेछ ।’

विभागमा संयोजकसहित ५१ जना सदस्य रहने पार्टीको विधानमा व्यवस्था छ । साउदका अनुसार देउवाले यतिबेला ६० प्रतिशतका हिसाबले मात्र सदस्य मनोनयन गर्ने छन् । यद्यपि विभागमा बस्न चाहने पौडेल पक्षका कार्यकर्तालाई समेट्ने प्रयास गरिएको छ । पार्टीभित्रको सहमतिका लागि मात्र ६०÷४० सूत्र प्रयोग गरिए पनि कार्यकर्ताको मूल्याङ्कनका आधारमा जिम्मेवारी दिइने साउदले बताए ।

यस्तै नेता कार्कीले पार्टीको तल्लो निकायले विभागमा बस्न चाहने सबै पक्षनिकटका कार्यकर्ताको नाम पठाएका बताए ।  उनले भने, ‘क्षेत्रीय सभापति, जिल्ला पार्टी सभापति, भ्रातृ संस्थाका सभापति, भ्रातृ संस्थाका केन्द्रीय पदाधिकारीहरु लगायतका कार्यकर्ताको नाम हामीकहाँ आएको छ । यसमा यो पक्ष ऊ पक्ष भन्ने छैन । समग्रमा विभागमा रहन योग्य कार्यकताहरु नै हुनुहुन्छ ।’ 

पार्टीभित्र सहमतिका लागि यति समय पर्खिंदा पनि सहमति नभएपछि पार्टीलाई जीवन्त र सक्रिय राख्न विभाग गठन गरिन लागेको कार्कीको भनाइ छ । विभागमा बस्न धेरै कार्यकर्ताले इच्छा व्यक्त गरेको उनले बताए ।  आफूले यो गुट र त्यो गुटभन्दा पनि योग्यता, क्षमता, स्वीकार्यताका हिसाबमा नाम छानोट गरेको कार्कीको जिकिर छ । तर सभापतिले शक्तिको दुरुपयोग विधान र आचारसंहिता विपरीत कदम चाल्ने गरेको भन्दै पौडेल पक्ष आक्रोशित छ ।
महाधिवेशन आफू अनकूल बनाउन लागिपरेको भन्दै सभापति देउवा हरेक कदम र निर्णयप्रति पौडेल पक्ष यतिबेला सशङ्कित बन्न थालेको छ ।

देउवाका पछिल्ला कदमले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट चुनिने ४ हजार १ सय २५ महाधिवेशन प्रतिनिधिमा प्रभाव देखिने पौडेल पक्षको बुझाइ छ । किनभने महाधिवेशनमा करिब ५ हजार प्रतिनिधि पार्टी केन्द्रीय नेतृत्व मतदात हुन्छन् । अहिले केन्द्रीय विभागमा परिरहेका नेता तथा कार्यकर्ता अधिकांश क्षेत्रीय प्रतिनिधि भइसकेका र फेरि पनि चुनिएर आउने सम्भावना भएकाहरूको अनुहार देखिन्छ ।

यस्तै देउवाले फागुन १९ गते ३० र बुधबार ४ सय ७९ पुराना नेता तथा कार्यकर्तालाई ज्येष्ठ राजनीतिज्ञ सभामा ल्याएकाले पनि संस्थापन इतर पक्ष झस्किएको छ । पार्टीको सक्रिय राजनीतिमा नरहेका पूर्वसभामुख, पूर्वमन्त्री, सांसद, पार्टीको पूर्वपदाधिकारी तथा कार्यकर्तालाई देउवाले राजनीतिज्ञ सभामा मनोनय गरेका थिए ।

उनीहरुले महाधिवेशन प्रतिनिधि चुनेर पठाउन महत्त्वपूर्ण भूमिका खेल्ने संस्थापन इतरको बुझाइ छ । पार्टीमा पुराना नेता कार्यकर्तालाई काँग्रेसले बिर्सिएको आरोप लागिरहेका बेला राजनीतिज्ञ सभामा ल्याउने विषय महाधिवेशनको ‘स्टन्ट’ बन्न पुगेको छ । महाधिवेशनकै जोडघटाउले पार्टी प्रवेशको विषय पनि निर्वावाद हुन सकेको छैन ।

तत्कालीन लोकतन्त्रिक फोरमबाट काँग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहलाई २५ हजार क्रियाशील सदस्यता दिएको छ । तत्कालीन एमाले, माओवादी केन्द्र, राजपा र राप्रपाबाट आएर केन्द्रीय सदस्य बनाइएका नेताहरुको नाममा पनि क्रियाशील सदस्यता दिने तयारी छ ।

यस्तै गत मङ्गलबार काँग्रेस प्रवेश गरेका सुनिल थापाको समूहलाई सहमहामन्त्रीसहित ५ जना केन्द्रीय सदस्य र २ जना आमन्त्रित सदस्य दिइने छ । यस्तै ५ हजार क्रियाशील सदस्य दिने देउवाको तयारी छ । विभिन्न पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा राख्न देउवाले महाधिवेशनको मुखमा अस्वाभाविक पद बाढ्ने गरेको पौडेल पक्षको आरोप छ । सुनिल थापाको पार्टी प्रवेशलाई काँग्रेसभित्र महाधिवेशन स्टन्टका रूपमा हेरिएको छ । सुनिल थापा समूहबाट ५० जना महाधिवेशन प्रतिनिधि थप्ने देउवाको रणनीति देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप