शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भित्रबाट हुनुपर्ने ढोका बाहिरबाट राख्दा मेलम्चीमा दुर्घटना

सोमबार, १९ साउन २०७७, १६ : २३
सोमबार, १९ साउन २०७७

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

समितिले पछिल्लो समयमा प्राविधिक ‘डिजाइन रिभ्यु’ नभएको पनि जनाएको छ । समितिले सुरुङमा रहेका चारवटै गेटमा पुनःअवलोकन (रिभ्यू) गर्न पनि सुझाव दिएको छ । गेटमा नटबोल्ट राम्रो नकसिएको पाइएको छ । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजना निर्माणस्थलमा दुई साता पहिले सुरुङको गेट खुल्दा त्यहाँ एक सातासम्म जम्मा गरिएको पानी बाहिर निस्केको थियो । सो दुर्घनाका कारण  कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इञ्जिनीयर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् । सुरुङ परीक्षणका लागि पानी भर्न झण्डै १५ दिन लाग्नेमा एक सातामा पानी बाहिर निस्केको हो । असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो । 

सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी र गेट निर्माण गर्ने कम्पनी दुवैको भएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो । समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने सुझाव दिएको छ । उनले भने, “त्यो सुधार गरेपछि मात्रै सुरुङमा पानी पठाउन सकिन्छ ।”

सुरुङमा रहेका त्रुटि हटाउनका लागि अझै झण्डै दुई महिना लाग्ने मन्त्रालयले जनाएको छ । यो अवधिमा निर्माण कम्पनीले ‘हेडबक्स’ काम गरिरहेको छ । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँगको सम्झौतानुसार ‘हेडबक्स’ निर्माणको अवधि अझै तीन महिना छ । सरकारले यसअघि अस्थायी बाँधबाट पानी पथान्तरण शुरु गरेको थियो । त्रुटि सच्याउदासम्म ‘हेडबक्स’ को निर्माण सकिएमा त्यसैबाट पानी पथान्तरण हुनेछ । मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरु निर्माणका काम रोकिएको छैन । उनले भने, “पानी वितरणका लागि आवश्यक संरचना निर्माण र आवश्यक व्यवस्थापकीय तयारीको काम अघि बढेको छ ।”

आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुईवटा ट्याङ्की निर्माण भइसकेको छ । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियन विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण भएको थियो । 

बन्दाबन्दीको अवधिमा पनि यस आयोजनामा निर्माणको काम भइरहेको थियो । सरकारले निर्माण सम्पन्न हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजना तामाकोशी जलविद्युत् आयोजना र यो आयोजनामा निर्माणको काम सञ्चालन गर्ने निर्णय गरेको थियो । बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुन सकेको थिएन । निर्माण कम्पनीले उपलब्ध जनशक्ति र सामग्रीबाट निर्माण गरिरहेको हो । स्थानीयवासी र स्थानीय तहले आयोजनाका कारण कोभिड–१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सुचारु थियो । 

लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आयोजनामा यो आयोजना पर्छ । काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुईदशक भयो । विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरुपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । 

केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक असारसम्म काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने प्रतिबद्धता जनाएको थियो । यो दुर्घटनाले त्यो समय धकेलिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप