शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली सुन प्रकरणः तस्करी गर्न भाडामा अपार्टमेन्ट, सुराकीको डबल रोल

सोमबार, १९ साउन २०७७, १० : ०८
सोमबार, १९ साउन २०७७

काठमाडौं । साढे १४ केजी चाँदी र आधा किलो सुन तस्करीमा दुई प्रहरी जवानको गलत नियत देखिएको छ । जवानको गलत नियतले मुख्य योजनाकार भागे । तर, पक्राउ परेका मध्येका भारतीय नागरिक निलेश सखियाबाट संगठित तस्करीको तथ्य भने पटाक्षेप भएको छ ।

साउन १३ मा तस्कर समूहका ३ जना ईल्ताफ हुसेन अन्सारी, संजय पटेल र निलेश सखिया सुनको पोको बोकेर राजस्थान जाँदै थिए । दरबारमार्गका डिएसपी रञ्जन दाहालको नेतृत्वको अप्रेशन टोलीले सो पोको मात्रै बरामद गरे, तस्कर भगाए । महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीका अनुसन्धान अधिकारी ती तस्कर खोजिरहेका छन् ।

ईल्ताफ हुसेन अन्सारीको समूहले सुन तस्करी गर्न कमलपोखरीमा अपर्टमेन्ट भाडामा लिएका थिए । कमलपोखरी अपार्टमेन्ट–२ बी उनीहरुले मासिक १ लाख भाडामा लिएका थिए । अपार्टमेन्टको भाडा भारतीय सुन कारोबारी निलेश सखियाले ६० प्रतिशत र सञ्जयले ४० प्रतिशत तिर्थे । विगत ६ महिनादेखि सो अपार्टमेन्ट भाडामा लिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए ।  

गुजरातको राजकोट घर भएका निलेश ‘सुन अप्रेशन’ हुनुभन्दा १२ दिनअघि नेपाल आएका थिए । चामलको ट्रकमा बसेर उनी वीरगञ्ज हुँदै काठमाडौं आएको प्रहरीको भनाइ छ ।

काठमाडौँमा निलेशले चाँदीमा सुनको लेप लगाउने जिम्मा देवान पटेल र उनका भाइ कौशललाई दिए । गुजरात घर भएका पटेल दाजुभाई बर्षौंदेखि काठमाडौं बस्दै आएका छन् । ठहिटीमा उनीहरु स–परिवार बस्छन् ।

चाँदीमा सुनको लेप लगाएर तयार गरेपछि निलेशले आफ्ना अपार्टमेन्ट पार्टनर सञ्जयलाई खबर गरेर । अनि, संजय र बाराका ईल्ताफ हुसेन अन्सारी बा.६च ५५१९ नम्बरको स्कोर्पियोमा काठमाडौँ आए । साउन १३ मा उनीहरु सुन राख्नकै लागी बनाएको विशेष झोलामा सुन प्याक गरेर वीरगञ्ज हुँदै राजस्थान हिँडे ।


अनि पोल खुल्यो

चाँदीमा सुनको लेप लगाउने जिम्मा लिएका कौशल र देवानलाई तस्कर समूहले पैसा दिन बाँकी थियो । कौशलका दाजुभाइको आर्थिक अवस्था पछिल्लो समय कमजोर भएको छ । तर, तस्करीका मुख्य योजनाकारले सुन लेपन गर्दा लागेको खर्च पछि पठाइदिउँला भनेर टार्न खोजे । प्रहरी स्रोतका अनुसार अवैध सामान काठमाडौँबाट पास गराउन पुलिस पनि मिलाउनुपर्ने देवानको शर्त थियो । तर, ईल्ताफ र संजयले उनको कुरालाई महत्त्व दिएनन् ।

त्यसपछि देवानले आफ्ना भाई कौशलसँग सल्लाह गरे–‘प्रहरीसँग मिलेर सुन लुटौँ !’

सुन चाँदी लुटेर आफ्ना हात पार्न सके करिब ५७ लाख आउँथ्यो । कौशलले चिनजानका प्रहरी जवान बहादुर सिंह कठातयतसँग भने–‘अवैध सामान भारत जाँदै छ, त्यो लुटेर हामीलाई दिनु तपाईंलाई १५ लाख दिन्छौँ ।’

दरबारमार्गका सिआरभी चालक कठायतले सो योजना सिभिल युनिटका जवान प्रशन्न श्रेष्ठलाई सुनाए । प्रशन्नले आफ्ना कमाण्डर डिएसपीलाई भने–‘कमलपोखरी अपार्टमेन्टबाट अवैध सामान भारत जाँदैछ, अप्रेशन गर्नुपर्छ ।’


अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार देवानसँग तस्कर समूहका निलेश मिले । गुजरातमा जेम स्टोनका काम गर्ने निलेश सो सुनचाँदी लुटाउने भुमिकामा देखिएका छन् । सामान आफ्नो हातमा आउने गरी ईल्ताफ र संजय पटेलबाट लुटाएर बेच्ने देवानको योजनामा उनी सहमत थिए । योजना सफल हुँदा ईल्ताफ र सञ्जय डुब्थे । तर, अरुले पैसा कमाउँथे ।


सुराकीको डबल रोल

विवादीत ‘सुन अप्रेशन’मा पुलिसका सुराकी कौशल र देवानको दाहोरो भूमिका देखिएको छ । चाँदीलाई सुन बनाउने भुमिकामा देखिएका देवानपछि सामान लुट्ने योजनामा लागे । भाइ कौशलले प्रहरी मिलाउने भुमिका खेले ।

समान आफ्नो हात पारेर बेच्ने र त्यहि मध्येबाट १५ लाख पुलिसलाई दिने देवानको योजना थियो । यदि, प्रहरीले कानुनसम्मत बरामद गरेर सुनचाँदी भन्सार बुझाए पनि उनीहरु दाजुभाईले नै आकर्षक सुराक कमिशन पाउँथे । त्यसैले, प्रहरी अप्रेशनमा भिडेपछि दाजु–भाई र बिजय पटेल ठहिटी स्थित डेरामा चुपचाप बसिरहेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार देवानसँग तस्कर समूहका निलेश मिले । गुजरातमा जेम स्टोनका काम गर्ने निलेश सो सुनचाँदी लुटाउने भुमिकामा देखिएका छन् । सामान आफ्नो हातमा आउने गरी ईल्ताफ र संजय पटेलबाट लुटाएर बेच्ने देवानको योजनामा उनी सहमत थिए । योजना सफल हुँदा ईल्ताफ र सञ्जय डुब्थे । तर, अरुले पैसा कमाउँथे ।

सुन लुटेपछि निलेश–देवान भेट

साउन १३ मा दुईओटा मोटरसाइकलले बा.६च ५५१९ नम्बरको स्कोर्पियोलाई कमलपोखरी अपार्टमेन्टबाट फलो गर्छन् । जवान बहादुर सिंह आफ्ना साथी उमेश श्रेष्ठले चलाएको मोटरसाइकलको पछाडी हुन्छन् ।

त्रिपुरेश्वरमा गाडी ओभरटेक गरेर बहादुरले रोक्न खोज्छन् । अनि, सिसा खोलेर चालक इल्ताफ हुसेन सोध्छन्–‘के भयो ?’

बहादुरले भन्छन्–‘गाडी साईड गर्नुस, हामी प्रहरी हौँ चेकजाँच गर्नुपर्ने छ ।’

त्यसपछि स्कोर्पियो व्याक गरेर इल्ताफले तिब्र गतिमा दौडाउँछन् । गाडी थापाथली घुमेर सुन्धारा पुग्छ । प्रहरीले फलो गरेपछि ईल्ताफले निलेशलाई सुन र पेस्तोलको झोला लिएर गाडीबाट झर्न र बस चढ्न भन्छन् । निलेश सुन्धाराको आकाशेपुलनिर झरेर बस चढ्न खोज्दै हुन्छन्, प्रहरी जवान कठायतले उनको कठालो समात्छन् । अनि, सुनको झोला खोसेर उनलाई भगाउँछन् ।

निलेश झोला प्रहरीलाई दिएपछि हिँड्दै ठहिटी स्थित देवानको डेरामा पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सुन नक्कली भएको खुलेपछि प्रहरीले कौशललाई बोलाएर नियन्त्रणमा लिन्छ । उता, भोलिल्ट बिहान २ बजे निलेश, देवान र बिजय पटेल हिँड्दै नागढुंगा पुग्छन् । त्यहाँबाट लु.१ज ३९७९ नम्बरको ट्याक्सीमा भैरहवातर्फ लाग्छन् । प्रहरीले उनीहरुलाई नवलपरासी पूर्वको दुम्किबासबाट पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप