शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसमा महाधिवेशनको सरगर्मी : चर्चामा दोस्रो पुस्ता

सोमबार, १९ साउन २०७७, ०७ : ५९
सोमबार, १९ साउन २०७७

काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । १४औँ महाधिवेशनमा सभापतिका आकाङ्क्षी देखिएका नेताहरु आन्तरिक रणनीति बनाउन नेता कार्यकर्तासँगको भेटवार्तामा व्यस्त देखिन्छन् । छलफल र भेटघाटका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेता शेखर कोइरालाले सम्पर्क कार्यालयसमेत खुलेका छन् ।

पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोलेर आफ्नो समूहको बैठक र भेला गर्दै आएका छन् भने केही दिनअघि पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाले पनि महाराजगन्ज चक्रपथमा सम्पर्क कार्यालय खोलेका छन् । नेता डा. शेखर कोइरालाले अनामनगरमा सम्पर्क कार्यालय खोलेर आफू नजिकका कार्यकर्ता र शुभचिन्तकसँग सम्पर्क बढाउँदै आएका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने आफ्नै निवास चाक्सीबारीमा नेता कार्यकर्तासँग भेटवार्ता गरिरहेका छन् । उपसभापति विमलेन्द्र निधिको निवास मध्य बानेश्वरमा पनि नेता कार्यकर्ताको चहल पहल बढ्दो छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पनि नेता कार्यकर्ताको चहलपहल बढिरहेको छ । केही दिनअघि निधिले शशांक कोइरालाको निवास पुगेर आसन्न महाधिवेशनबारे छलफल गरेका थिए । उनीहरुले एकअर्कालाई भावी सभापतिका लागि शुभकाना दिएर छुट्टिएका थिए ।

सभापति शेरबहादुर देउवाले सभापतिमा दोहोरिन रणनीति कदम चाल्दै आफ्नो पक्षमा महोल बनाउँदै गएको पाइन्छ । यतिबेला पार्टीका विभिन्न निकायमा कार्यकर्ता मनोनयन देउवाको ध्यान केन्द्रित छ ।

काँग्रेसको युवा पुस्ता महाधिवेशनको बहसमा उत्रिएको अवस्था छ । १० साउनमा ‘नेपाली राजनीतिमा काँग्रेसलाई भरोसाको केन्द्र बनाउन युवा नेताको सङ्गठित प्रयास’ अन्तरक्रिया कार्यक्रमा १३ जना युवा केन्द्रीय सदस्य एउटै मञ्चमा उभिएका थिए ।

कार्यक्रममा नेताहरु चन्द्र भण्डारी, एनपी साउद, धनराज गुरुङ,  नविन्द्रराज जोशी, बद्री पाण्डे, सुरेन्द्र पाण्डे, विश्वप्रकाश शर्मा, गगन थापा, गुरुराज घिमिरे, पुष्पा भुसाल, कमला पन्त, जीवन परियार र किरण यादव सहभागी थिए ।

कार्यकर्ताले युवा नेतामाथि भरोसा राखे पनि युवा भनिएका नेताहरुमा आगामी महाधिवेशनबाट नेतृत्वको महत्त्वाकाङ्क्षा राखेर अघि बढ्ने हिम्मत देखिएको छैन ।

यद्यपि कार्यक्रममा उपस्थित युवा नेताहरुले साथ दिने भए आफू सभापतिकै लागि उम्मेदवार बन्न तयार भएको गगन थापाको भनाइ थियो ।

‘हामीमध्ये तपाईंहरु कसैले हिम्मत गर्नुहुन्छ भने पनि ठीक छ, म सहयोग गर्छु । मलाई सहयोग गर्ने हो भने म अघि बढ्न तयार छु,’ थापाले भनेका थिए ।

‘१३औँ महाधिवेशनका बेलाको जस्तै हुनु भएन । त्यतिबेला पनि यस्तै छलफल हुन्थे । सहयोगको कुरा हुन्थ्यो । तर पछि रत्नपार्कमा एक्लै भोट माग्दै हिँड्नुपर्यो,’ १३औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका थापाले त्यतिबेलाको अवस्था सुनाएका थिए । उक्त कार्यक्रममा उनको प्रस्तावलाई कसैले समर्थन र साथ दिने सङ्केत देखिएन । युवा जमघटमा थापाले यति भने पनि युवा नेताहरु वृद्ध नेताहरूकै फेर समातेर नेतृत्वको भ¥याङ चढ्ने दाउमा देखिन्छन् ।

थापा आफै पनि आफूलाई महामन्त्रीको स्वाभावीक उम्मेदारका रूपमा बताउने गर्छन् । अन्य युवा नेताले पनि आफूलाई महामन्त्रीको भन्दा माथिका आकाङ्क्षा राखेको सुनिँदैन । बरु यतिबेला भावी सभापतिमा दास्रो तहका नेताको चर्चा हुने गरेको छ । संस्थापन पक्षबाट उपसभापति निधि भावी सभापतिको दौडमा छन् । तर उनी सभापति देउवाले आफूलाई सघाउने अवस्था आएमा मात्र सभापतिको उम्मेदवार बन्ने मनसाय देखिन्छ ।


यता संस्थापन इतरपक्षबाट महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला दौडमा छन् । संस्थापन इतरपक्षमै रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि दास्रो पटक सभापतिको मैदानका उत्रिने रणनीति देखिन्छ ।

साथै १३औँ महाधिवेशनमा तेस्रो भएका उनी यस पटक कहाँ कसरी उभ्याउँछन् भन्ने काँग्रेसजनमा चासो पनि छ । सिटौलाले आफू अहिले देउवा र पौडेल समूह कतैतिर पनि बताएका छन् । प्रदेश अधिवेशन नसकिँदासम्म आफ्नै समूहलाई अघि बढाउने सिटौलाको भनाइ छ ।

पौडेल–सिंह भर्सेस शशांक–शेखर

आफ्नो समूहलाई उपगुटको सामना गरिरहेका पौडेललाई सर्वसम्मत उम्मेदवार बन्न चुनौती छ । पौडेलको समूहमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालको आफ्नै समूह छ । पौडेल समूहमा चुनाव जित्नुभन्दा एकल उम्मेदवारी तय गर्न बढी कठिन देखिन्छ ।

तर इतरसमूहबाट एउटै उम्मेदवार हुने पौडेलको सार्वजनिक दाबी छ । महाधिवेशनमा सिटौलासमेत आफ्नो पक्षमा उभिने पौडेलको बुझाइ छ । तर कोइराला र सिंह एकअर्कालाई छोड्ने पक्षमा देखिँदैनन् । तर कोइराला परिवारमै दाजु शेखर र भाइ शशांकका साथै सिंहबीचको आपसी प्रतिस्पर्धाले आफूलाई उम्मेदवार बन्न सहज हुने पौडेलको बुझाइ छ ।

पछिल्लो समय पौडेल र सिंहबीच देखिएको निकटले कोइराला परिवारमाथि पनि दबाब छ ।

पौडेल र सिंहको गठजोडमा अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी र महेश आचार्यले साथ दिने हुन् कि भन्ने कोइराला परिवारमा चिन्ता देखिन्छ । तर पौडेललाई कोइराला परिवारका दुई जना आकाङ्क्षीलाई ब्याक गराउन त्यति सजिलो छैन ।

संस्थापन पक्षमा देउवालाई चुनौती दिएर अर्को उम्मेदवार खडा हुने सम्भावना कम भएकाले इतरपक्षलाई एकल उम्मेदावर खडा गर्न दबाब छ ।

 तर कोइराला परिवारमै शशांक– शेखर भन्नेमा नै दुई मत छ । बीपीका ज्येष्ठ छोरा प्रकाश कोइराला र जीपीकी छोरी सुजाताले दुई दाजुभाइलाई मिलाउन सहजीकरण गरिरहेका छन् ।

दुवैले आफूलाई छाडिदिए हुन्थ्यो भन्ने चाहना राखेका छन् । शेखरमा सक्रियता र शशांकको महामन्त्रीको ओज छ । कोइराला परिवारको पछाडि कार्यकर्ताको पनि ठूलो जमात छ । उनीहरूको चाहना कोइराला परिवार मिलेरै अघि बढोस् भन्ने छ ।

यसबारे शशांकले भने, ‘सबैभन्दा पहिले आफ्नो घर ठीक पार्नुपर्यो । शेखर दा हुनुहुन्छ । सुजाता छिन् । सबैभन्दा पहिला हामी मिल्नुपर्छ । त्यसपछि प्रकाशमान सिंहलाई आफ्नो पक्षमा ल्याउनुपर्यो । रामचन्द्र दाइलाई भन्नुपर्यो ।’

पौडेलले यसपटक आफू पनि नलड्ने र सभापति देउवालाई पनि नलड्न सुझाव दिएको शशांकको भनाइ छ  ।

उनले भने, ‘अर्जुननरसिंह केसी हुनुहुन्छ । रामशरण महतजी हुनुहुन्छ । सबैसँग कुरा गर्नुप-यो । सबैसँग कुरा गरेर अघि बढ्छु । मलाई लाग्छ म सबै मिलाउन सक्छु ।’ १४औँ महाधिवेशन कोइरालामा पुग्ने धेरैको काँग्रेसीको बुझाइ छ ।

शशांकले भनेजस्तै पौडेल नलडेको अवस्थामा पनि सिंहले शशांक र शेखरमध्ये एकलाई नेता मान्छन् कि भन्दैन भन्ने मूल प्रश्न छ । उनीहरुभन्दा राजनीतिमा परिपक्व देखिएका सिंहले आफूलाई भावी सभापतिका रूपमा प्रस्तुत गरिसकेको अवस्था छ ।

काठमाडौँमा नेविसङ्घको अध्यक्षदेखि पार्टीको जिल्ला सभापति हुँदै केन्द्रमा उपसभापति, निर्वाचित पहिलो महामन्त्री भएका उनी सत्ता राजनीतिमा पनि भिजेका नेता हुन् ।

सिंहसँग संसदीय दलको उपनेता, पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीको ओज छ । देउवासँगै संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका सिंह १४ औ महाधिवेशनमा पार्टी सभातिमा पनि प्रतिस्पर्धा गर्ने तयारीमा देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप