शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्याब्सनको परिपत्र प्रति नेपाल टेलिकमको आपत्ति

आइतबार, १८ साउन २०७७, २१ : १५
आइतबार, १८ साउन २०७७

काठमाडौं । नेपाल टेलिकमले कोभिड–१९ महामारीका कारण उब्जिएको विषम परिस्थितिमा ल्याएको ई–शिक्षा प्याकेज र यस सम्बन्धमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)ले जारी गरेको परिपत्र प्रति आपत्ति जनाएको छ ।

प्याब्सनसँग टेलिकमले ई–शिक्षा प्याकेज सम्बन्धमा छलफल गरिरहेको अवस्थामा प्याब्सनले टेलिकमप्रति आक्षेपसहितको परिपत्र आफ्नो वेबसाइटमा राखेको प्रति आफ्नो ध्यानाकर्षण भएको टेलिकमले जनाएको छ । 

टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तीको पूर्णपाठः
नेपाल टेलिकमले कोभिड–१९ महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदान/प्रदान गर्नका लागि ई–शिक्षा प्याकेज मिति २०७७ बैशाख १४ गतेदेखि कार्यान्वयनमा ल्याएको विदितै छ ।

अप्रत्यासित रुपले बिथोलिएको शैक्षिक वातावरणमा विद्यार्थी र शिक्षकलाई पुनः जोड्न यो प्याकेजले सेतुको काम गरेको छ । यस प्याकेजको प्रयोग गरी हाल मुलुकभरका ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थी र शिक्षकहरुले अनलाइन कक्षामार्फत नियमित अध्ययन र अध्यापनका क्रियाकलाप सुचारु गरिरहेका छन् ।

अनलाइन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरु मध्ये कम्पनीले विद्यार्थी र शिक्षक माझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी रु. ५०० मा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको छ ।  

यसै क्रममा विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले कम्पनीसँग सहकार्य गर्न पत्राचार गरेपश्चात विभिन्न चरणमा  छलफल भएको थियो । यस कम्पनी र संगठनबीच भएको सकारात्मक छलफल पश्चात तत्कालको लागि कम्पनीले उपलब्ध गराइरहेको ई–शिक्षा प्याकेज सम्बन्धी विवरण संगठनले आफ्नो वेबसाइटमा समेत प्रकाशित गरेको थियो । साथै अनलाइन शिक्षाको लागि मात्र उपयोगी हुने डाटा प्याकेज सम्बन्धमा पनि कम्पनी सकारात्मक भई थप छलफल भइरहेको थियो । 

विश्वभरी नै कोभिड–१९को कारणले उब्जिएको विषम परिस्थितिमा मुलुकभर पुन पठनपाठनको वातावरण तयार गर्न कम्पनीले महत्वपूर्ण पहल तथा भूमिका निर्वाह गरिरहेको अवस्थामा सो संगठनसँगको छलफल बमोजिम नै कम्पनीले सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्याइसकेको थियो । सो अवस्थामा अनपेक्षित रुपले प्याब्सनले कम्पनीलाई कुनै जानकारी नगराई २०७७ साउन १५ गते ‘ई–लर्निङ प्याकेज सुविधा सम्बन्धमा भन्ने परिपत्र आफ्नो वेबसाइटमा राखेको पाइयो ।   

कम्पनीसँगको सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई  दोषारोपण गर्ने शब्दावली सहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको छ । आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमती व्यक्त गर्दछ । 

कम्पनीका ग्राहकवर्ग तथा अनलाइन अध्ययनका लागि पहल गरी प्रतिबद्ध रहेका शैक्षिक संस्था तथा विद्यार्थीवर्ग प्रति आभार व्यक्त गर्दै जस्तोसुकै विषम परिस्थितिमा पनि कम्पनीले आफ्ना सेवासुविधाहरु सदा झैं जिम्मेवारीपूर्वक उपलब्ध गराइरहने प्रतिबद्धता समेत ब्यक्त गर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप