शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

आइतबार, १८ साउन २०७७, १९ : ०९
आइतबार, १८ साउन २०७७

सिञ्जा । कर्णाली राजमार्गमा आवतजावत सुचारु हुन सकेको छैन । निरन्तर पहिरो जान गरेकाले यात्रुहरुलाई यात्रा गर्न निकै सास्ती र जोखम छ । आवश्यकीय काम लिएर गनतव्यमा हिडेका नागरिकको बाटोमै अलपत्र छन् ।

कर्णाली राजमार्गको कालीकोट सडक खण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैंसीगौडा, टिमुरे भिड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौं स्थानमा पहिरो गएपछि करिब एक सातादेखि राजमार्ग अवरुद्ध भएको थियो ।

 कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिरोले सडक अवरुद्ध भएपछि यातायात सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।

“कालेखोला, दहिखोलालगायतका स्थानमा डोजर लगाएर सडक खोलिसकेको छ,” प्रहरी नायब उपरीक्षक ओलियाले भने, “आज पिली सडकको पहिरो हटाउने काम भईरहको छ । आजका दिनसम्म सडक खुल्छ होला ।” 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले कालीकोटको टाकुल्ला खोलादेखि जुम्लासम्मको सडक खण्ड सुचारु भएको बताए ।

बाढी पहिरोले सडक बन्द भएपछि पाँच दिन लगाएर पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बोलाएको समीक्षामा सहभागी हुन नसकिएको जिल्ला कृषि विकास तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुखद्वय बालकराम देवकोटा र गोविन्द महतले जनाए ।

“मन्त्रालयले कर्णालीका १० जिल्लाका कृषि तथा पशु कार्यालयका प्रमुखहरुलाई यही साउन १५–१७ गतेसम्मको वार्षिक प्रगति समीक्षामा बोलाएको थियो,” कृषि विकास कार्यालयका प्रमुख देवकोटाले भने, “साउन १३ गते हिड्दा १७ गतेसम्म कालीकोट सडक खण्डमा आएको बाढी र पहिरोको अवरोधमा परियो ।” 

यता भेटेनरी तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले समीक्षा सहभागी हुने भन्दा जीवन जोगाएर बल्लतल्ल घर फर्कन सफल भएको जनाए ।

जिल्ला वन कार्यालय मुगु तथा जुम्लाका जिल्ला वन अधिकृतद्वय भरत बुढ्थापा र दिनेश खत्रीले जीवनमा पहिलो पटक चार दिन लगाएर कष्टकर यात्रा गर्नुपरेको दुखेसो गरे । कर्णाली राजमार्गको स्तरवृद्धि नगरे एवं पुल निर्माणमा तदरुकता नदिएसम्म यहाँका नागरिकहरुले बर्सेनि यही समस्या भोग्नुपर्ने उनहरुको भनाई थियो ।

जुम्लाका उद्योगी महेन्द्र थापाले राज्यको नेतृत्व गर्नेहरुको कमजोरीका कारण कर्णालीबासी प्राकृतिक विपद्को शिकार हुनुपरेको बताए । वैकल्पिक मार्ग निर्माण नभएसम्म यो समस्या सजिलै नटर्ने उद्योगी थापाले जनाए ।

ट्राभल व्यवसायी भानु देवकोटाले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने दिनबाट मुक्त गर्न कर्णालीबासी कहिले हुने हो रु भन्ने प्रश्न गरे ।  मुलुक संघीयतामा गईसकेपछि पनि कर्णालीका नागरिकहरुको दुःख टर्न नसकेको व्यवसायी देवकोटाले गुनासो गरे ।

खाँडाचक्र नगरपालिका ६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारहरुले सडक स्तरनोत्तिमा ध्यान नदिदा स्थानीय व्यवसायी तथा यात्रुहरुले पटक पटक दुःख भोग्नुपरेको गुनासो गरे । चार दिनसम्म सडक अवरुद्धमा पर्दा रु।७० हजारको तरकारी कुहिएर गएको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप