बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर मसान्तसम्म जसपामा समायोजनको काम सक्नेगरी तयार भयो निर्देशिका

आइतबार, १८ साउन २०७७, १९ : ०१
आइतबार, १८ साउन २०७७

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (जसपा) नेपालले अगामी मंसिरसम्म पार्टीका सम्पूर्ण तहको समायोजन प्रकृया पूरा गर्ने योजना तयार पारेको छ ।  जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले गठन गरेको कार्यदलले समायोजन निर्देशिका २०७७ मार्फत पार्टीलाई आगामी मंसिरसम्म समायोजनका सम्पूर्ण काम पूरा गर्ने गरी सुझाव दिएको हो । पार्टी एकीकरणको कामलाई प्रदेश समिति तथा स्थानीय समितिहरु (जिल्ला, पालिका, वडा तथा प्रारम्भिक समिति) र भ्रातृ, जनवर्गीय संगठनहरु समायोजन गरी पूर्णता दिनका लागि कार्यदलले निर्देशिका तयार गरी पार्टीलाई बुझाएको छ । 

जसपा नेपाल नेताद्वय लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदलले पार्टीलाई निर्देशिका बुझाइसकेको छ । साउन २१ गतेदेखि बस्ने कार्यकारिणी समितिको बैठकले पारित गरेपछिमात्र निर्देशिका लागू हुन्छ । पार्टी एकीकरणमा सामेल तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सबै तहका समितिलाई एकीकृत गरी समायोजन गरिने र यसका लागि तत्कालीन दुवै पार्टीको केन्द्रले मान्यता दिएको अभिलेखहरुलाई मानिने निर्देशिकामा उल्लेख छ ।

समितिका अध्यक्ष लगायतका नेतृत्व चयन गर्दा सम्बन्धित स्थानका पार्टी सदस्य संख्या, मातहतका समितिहरु, भ्रातृ संगठनहरु लगायतका संगठनात्मक स्थिति र नेतृत्वमा प्रस्तावित व्यक्तिको क्रियाशीलता, वरिष्ठता, योग्यता, क्षमता र प्रभावकारिता आदिलाई समायोजनको मापदण्ड बनाइएको छ । 

समायोजनका लागि यथासम्भव सहमतिका लागि प्रयास गर्ने, सहमति नभएको खण्डमा मात्र मापदण्डको आधारमा गर्ने निर्देशिकामा उल्लेख छ । रातोपाटीलाई प्राप्त निर्देशिका अनुसार इन्चार्ज, सहइन्चार्ज तथा पार्टीका पदाधिकारीहरु चयन गर्दा मुख्य जिम्मेवारीहरुमा सन्तुलन मिलाउनुपर्ने छ भने एकभन्दा बढी संख्यामा रहेका पदहरु अनिवार्य रुपमा बाँडफाँड गर्नुपर्ने उल्लेख छ । साथै, समितिहरुमा पार्टी विधानको धारा ५९ बमोजिम सामान्यता एक व्यक्ति एक प्रमुख जिम्मेवारीको नीति कार्यान्वयन गरी पदाधिकारी चयन गर्नुपर्ने भनिएको छ ।

विधानको सो धारामा पार्टीले समान्यतः एक व्यक्ति एक प्रमुख जिम्मेवारीको नीति लिने उल्लेख छ । सामान्यतया पदेनबाहेक माथिल्लो समितिका व्यक्तिहरु तल्लो समितिमा र तल्लो समितिका व्यक्तिहरु माथिल्लो समितिमा रहन नपाउने उल्लेख छ । 

सबै तहका समितिहरुमा पदाधिकारी चयन गर्दा त्यहाँको सामुदायिक विशेषता अनुरुप समावेशितालाई ध्यान दिनुपर्ने भनिएको छ । समितिहरुमा सम्भव भएसम्म एक तिहाई महिलाका साथै दलित र अल्पसंख्यक तथा सीमान्तकृत समुदायहरुलाई स्थान दिनुपर्ने निर्देशिकामा उल्लेख छ । 

कुनै ठाउँमा दुई पार्टीमध्ये कुनै एक पार्टीको मात्र समिति छ भने सो समिति जनता समाजवादी पार्टी नेपालको समितिको रुपमा पुनर्गठन हुनेछ र त्यसरी पुनर्गठन गर्दा अर्को पार्टीका सदस्यहरु रहेको स्थानमा तिनिहरुलाई पनि योग्यता, क्षमतानुसार समेटिने निर्देशिकामा उल्लेख गरिएको छ । 

त्यसैगरी, प्रदेश समितिहरुको समायोजनका लागि केन्द्रीय कार्यकारिणी समितिले विशेष व्यवस्था गर्ने भनिएको छ । दुवै पार्टी विगतमा एकीकरणको प्रकृयाबाट अगाडि बढेको सन्दर्भमा त्यतिबेला समायोजन हुन बाँकी रहेको भए त्यस कामलाई पनि अब यसै निर्देशिका बमोजिम एकीकृत रुपमा समायोजन गर्नुपर्ने उल्लेख गर्दै प्रदेश समितिहरुको समायोजन पार्टी विधानको धारा ३३ को उपधारा २ बमोजिम तोकिएको पद र संख्यामा नबढ्ने गरी गर्नुपर्ने छ । 
सो धारामा प्रदेशमा अध्यक्ष १, उपाध्यक्ष ५, मुख्यसचिव १, सचिव ३, कोषाध्यक्ष १ समेत निर्वाचित, मनोनित र पदेन सदस्य गरी ९९ जनासम्म हुने उल्लेख गरिएको छ । 

प्रदेश समिति तथा पहिचानमा आधारित राष्ट्रिय समितिहरु समायोजनका लागि केन्द्रीय टीम खटाइने निर्देशिकामा उल्लेख छ । प्रदेश तथा राष्ट्रिय समितिहरुमा केन्द्रीय कार्यकारिणी समितिले इन्चार्ज र सहइन्चार्जहरु तोक्नेछ । सहइन्चार्जहरु प्रदेशमा चारजनासम्म तथा राष्ट्रिय समितिहरुमा जतिवटा जिल्ला छन्, त्यति नै संख्यासम्म तोक्न सकिने निर्देशिकामा उल्लेख छ ।

पालिकाका समितिहरुको संख्या तय गर्दा पालिका समितिका प्रतिनिधिहरु रहेको कार्यदल गठन गर्नुपर्नेछ । पालिका समिति समायोजन कार्यको सहजीकरण पूर्व पार्टीको जिल्ला समितिले गर्ने उल्लेख छ । वडा समितिहरुको समायोजनको काम पनि आफ्नो क्षेत्राधिकारभित्र पालिका समितिको जस्तै हुने बताइएको छ । 

जनवर्गीय संगठन अन्तर्गत महिला, किसान, युवा, विद्यार्थी, मुस्लिम, थारु, पिछडा वर्ग, सकुम्बासी, अपाङ्ग, यौनिक तथा लैंगिक अल्पसंख्यक, ज्येष्ठ नागरिक, उपभोक्ता अधिकार लगायतका संघ, युनियनहरु तथा मजदुर, बौद्धिक पेसाकर्मी, सांस्कृतिक, खेलकुद, आदिवासी जनजाति, दलित, उद्योग वाणिज्य तथा व्यवसाय, पूर्व सैनिक तथा प्रहरी लगायतका महासंघहरु समायोजन गर्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिले कामको प्रकृति अनुसार कार्यदल बनाउने निर्देशिकामा उल्लेख छ ।

जुन समितिबाट एकीकरण र समायोजन कार्य अगाडि बढाउँदा सहज र पार्टीमा उत्साहपूर्ण वातावरण बन्छ, ती स्थानहरुमा समायोजन कार्य अगाडि बढाउनु पर्ने सुझाव दिँदै कार्यदलले सहमतिमा समायोजन हुन सक्ने तल्ला समितिहरुलाई माथिल्लो समिति समायोजन नभएको कारणले रोक्न नहुने प्रष्ट पारेको छ ।

पार्टीमा प्रवेशपत्रको व्यवस्था हुनुपर्ने सुझाव पनि निर्देशिकाले दिएको छ । पार्टी एकीकरण पश्चात देशैभरी देखापरेको जनआकर्षणलाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्नका लागि पार्टी प्रवेश पत्रको व्यवस्था गर्न भनिएको छ । यसरी प्रवेश गरेका व्यक्तिहरुको विवरण पार्टी प्रवेश पत्रको अधकट्टीमा राखी तुरुन्त पार्टी परिचयपत्र दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

राजपा र समाजवादी पार्टीबीच वैशाख १० गते पार्टी एकीकरण गर्ने सहमति भएको थियो । निर्वाचन आयोगमा जसपा नेपाल पार्टी असार २४ गते विधिवत दर्ता भयो भने पार्टीले असार २८ गते प्रमाणपत्र पाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप