शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्युतको लाखौं रकम हिनामिना गरी अध्यक्ष फरार, उपभोक्ता अन्धकारमा

आइतबार, १८ साउन २०७७, १७ : ०९
आइतबार, १८ साउन २०७७

गुल्मी । गुल्मीको  नेटा दर्लिङ्ग ह्वाङ्गदीस्थित विद्युत योजना सञ्चालन गर्ने एक सहकारी संस्थाका अध्यक्ष लाखौं रकम हिनामिना गरी विगत दुई वर्षदेखि फरार भएका छन् । त्यहाँस्थित निस्ते बडिगाड विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष नरबहादुर श्रीसले सुरुदेखिकै हिसाब नबुझाई दुई वर्षयता फरार भएका हुन् । ८ वर्ष अघि तत्कालीन गुल्मी क्षेत्र नम्बर ३ का  सभासद चन्द्रबहादुर थापा (सागर) ले पारेको योजना अनुसार सरकारबाट ८० प्रतिशत र उपभोक्ताहरुबाट २० प्रतिशतसहित झण्डै चार करोड रुपैयाँमा निस्ते बडिगाड सामुदायिक विद्युत योजना सम्पन्न गरिएको थियो ।

सामुदायिक विद्युत योजना अन्तर्गत उपभोक्ताबाट लगानी गर्नुपर्ने २० प्रतिशतका लागि साविकका तीनवटा गाविस नेटा, दर्लिङ्ग र ह्वाङ्गदीका जनताबाट रकम उठाईएको थियो ।  योजना सम्पन्न भएको यतिका वर्ष बितिसक्दा पनि अध्यक्ष श्रीसले उपभोक्ताहरुलाई हिसाब नबुझाई फरार भएको मालिका गाउँपालिका वडा नम्बर ३, ह्वाङ्गदीका उपभोक्ता दधिराम घिमिरेले बताए ।

‘विद्युत सहकारी संस्थाका अन्य पदाधिकारी पनि तितरबितर भएका छन् । नेटा घर भएका सचिव दिपक श्रीस तम्घासतिर गएर बसेका छन् । अध्यक्ष दुई वर्ष अघिदेखि बुटवलतिर गएर सम्पर्कविहीन भएका छन्,’ घिमिरेले भने, ‘दर्लिङ्ग घर भएका कोषाध्यक्ष भुपाल खत्रीमात्रै हाम्रो सम्पर्कमा हुनुहुन्छ ।’

ह्वाङ्गदीमा ट्रान्सफर्मर दुई महिनादेखि ट्रान्सफरमर बिग्रेको भए पनि विद्युत सहकारी संस्था नै भताभुङ्ग भएका कारण स्थानीयवासी अँध्यारोमा बस्नु परेको छ । ह्वाङ्गदीका जनताले बत्ती बाल्न पाउने खुशीमा ११ लाख रुपैयाँ उठाएर उक्त सहरकारी संस्थामा दिएका थिए । दुई महिना यता बत्ती बाल्न नपाए पनि  उनीहरुले नियमित महशुल बुझाउँदै आएका छन् ।

ह्वाङ्गदीमा १ सय ३० घरधुरी उपभोक्ता अँध्यारोमा बस्न बाध्य भएको उपभोक्ता घिमिरेले बताए । उक्त सहकारी संस्थाका कोषाध्यक्ष भुपाल खत्रीले अध्यक्ष दुई वर्षदेखि सम्पर्कविहीन हुँदा सहकारी नै लथालिङ्ग भएको बताए । ‘हिसाव किताव लथालिङ्ग भएको छ । संस्था नविकरण पनि गरिएको छैन,’ कोषाध्यक्ष खत्रीले भने, ‘विद्युत प्राधिकरणमा बुझाउनु पर्ने लाखौं रकम बुझाउन पनि सकिएको छैन ।’

विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका अनुसार उक्त सामुदायिक विद्युतीकरणले ३ लाख ६९ हजार रुपैयाँ प्राधिकरणमा बुझाउन सकेको छैन । केन्द्रका प्रमुख नारायण अर्यालले त्यस संस्थाका अध्यक्षले जनताबाट उठाएको पैसा र सरकारी रकमको हिसाव किताव हिनामिना गरेर फरार भएको बताए । 

मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापाले पनि सम्पर्कविहीन त्यस संस्थाका अध्यक्षलाई सम्पर्कमा ल्याउन नसकिएको बताए । ‘मैले धेरै पटक कोशिस गरेको हुँ । तर उनी सम्पर्कमा आएका छैनन्,’ गाउँपालिका अध्यक्ष थापाले भने, ‘अब प्रहरीको सहयोग मागेर पनि उनलाई झिकाईने छ ।’ ह्वाङ्गदीमा दुई महिनादेखि बत्ती बल्न नसकेकोप्रति आफुहरुको ध्यान जाने र त्यहाँ  अब ट्रान्सफर्मर मर्मत गरी विद्युत सुचारु गरिने गुल्मी वितरण केन्द्र प्रमुख अर्यालले प्रतिबद्धता जनाए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप