बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘अर्ली महाधिवेशन’को प्रस्तावबाट पछि हटे ओली

आइतबार, १८ साउन २०७७, १४ : ४९
आइतबार, १८ साउन २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केही दिनको यताको संवादहिनता तोडिँदै पुनः संवाद सुरु भएको छ । पार्टीका बहुमत सदस्यहरुले ओलीको राजीनामा मागेपछि उत्कर्षमा पुगेको नेकपाभित्रको विवादले गत मंगलबार यता दुई अध्यक्षबीच नै संवाद हुन सकेको थिएन । 

५ दिनको मौनता तोड्दै अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेता झलनाथ खनाल ओलीसँग संवाद गर्न आइतबार बिहान बालुवाटार पुगेर वार्ता गरेका थिए । उनीहरुबीच झण्डै तीन घण्टा संवाद भएको थियो । स्रोतका अनुसार आइतबारको तीन नेताबीचको संवादमा पनि नेताहरुले पुरानै विषयबाट कुराकानी सुरुवात गरेका थिए । त्यसक्रममा नेताहरुबीच कुनै ठोस सहमति नभएपनि संवादलाई निरन्तरता दिन भने उनीहरु सहमत भएका छन् । 

‘संवादको सुरुवात भएको छ । यसलाई निरन्तरता दिँदै उठेका विषयहरुमा थप छलफल गर्ने वातावरण बनेको छ’, अध्यक्ष प्रचण्डले ओलीसँगको संवादपछि आफू निकटका नेताहरुसँग ब्रिफिङ गरेका थिए । 
बुझिएअनुसार यसअघि ओलीले अघि सारेको ‘अर्ली महाधिवेशन’को प्रस्तावबाट भने उनी पछि हट्ने संकेत देखाएका छन् । 

‘मेरो गोरुको बाह्रै टक्का भनेर सहमति हुँदैन । त्यसैले विधि र प्रकृयाबाटै म छोड्छु । त्यसका लागि अर्ली महाधिवेशन तपाईंहरुलाई स्वीकार्य छैन भने केन्द्रीय समितिले तोकेकै मिति (चैतमा) मा महाधिवेशन गरौँ’,आइतबारको संवादका क्रममा ओलीले भनेका थिए । 

बैठकमा ओलीले अर्ली महाधिवेशन मान्य नभए आफू तोकिएकै मितिमा महाधिवेशन गर्न तयार भएको भन्दै त्यसका लागि प्रचण्डलाई सहमतिमा आउन आग्रह गरेको स्रोतको भनाइ छ । 

जवाफमा प्रचण्डले ओलीको उक्त प्रस्तावलाई सकारात्मक रुपमा लिँदै निकासका लागि पार्टी बैठकलाई निरन्तरता दिनुपर्ने, विधि र पद्धतिको पालना हुनुपर्ने र उठेका विषयहरुमा बैठकमै छलफल गर्नुपर्ने बताएका थिए । 

गत मंगलबार अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्ड पक्षको  बालुवाटारमै बसेको बैठकले संवाद गरेर निकास खोज्ने जिम्मा प्रचण्डलाई दिएको थियो । 

पूर्वनिर्धारित साउन १३ गतेलाई बोलाइएको स्थायी समिति बैठक ओली एक्लैले स्थगित गरेपछि पार्टी विवाद थप चर्कन पुगेको थियो । 

ओलीले साउन १३ गतेको बैठक एकतर्फी स्थगित गरेपनि प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाली पक्ष बालुवाटारमै भेला भएर ओलीलाई बैठक नरोक्न र बैठकमा बस्न आग्रह गरेका थिए । तर, ओलीले बैठकमा सहभागी नहुने जवाफ दिएपछि २९ स्थायी समिति सदस्यबीच बैठक बसेको थियो । 

त्यसैदिन उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सार्दै ओलीले पाँचै वर्ष सरकार चलाउने र प्रचण्डले एकता महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्नुपर्ने विकल्प अघि सारेका थिए । त्यसको दुई दिनपछि प्रचण्डलाई भेट्न खुमलटार पुगेका महासचिव विष्णु पौडेललाई प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीलाई निकास निस्कने गरी छलफलमा बस्न प्रस्ताव गरेका थिए । 

साउन १३ गतेलाई तय भएको स्थायी कमिटी बैठक ओलीले एकतर्फी स्थगित गरेपछि प्रचण्डले बहुमत सदस्य सहित बैठक राखेपछि ओली थप चिढिन पुगेका थिए । उक्त बैठकले ओलीले एकतर्फी बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्षसमेत निकालेको थियो । 

गौतमको प्रस्ताव बन्ला मध्यमार्गी ?
उपाध्यक्ष गौतमले विवाद समाधानका लागि अघि सारेको ६ बुँदे प्रस्तावलाई ओली पक्षले भने सकारात्मक रुपमा लिएको छ । तर, प्रचण्ड–नेपाल समूहले भने उक्त प्रस्तावप्रति आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । 

सोही दिन ओली गौतमनिवास पुगेर लञ्च मिटिङ गरेका थिए । गौतमको ६ बुँदे प्रस्तावपछि ओली नै गौतम निवासमा पुगेपछि प्रचण्डपक्षमा रहँदै आएका गौतमले पुनः कित्ता परिवर्तन गरेका खबरहरु सार्वजनिक गरेका थिए । तर, गौतमले भने कित्ताकाट नगरेर मध्यमार्गी प्रस्ताव ल्याएको दावी गर्दै आएका छन् । 

‘पार्टी फुट्छ कि भन्ने चिन्ताले ल्याएको उपाध्यक्ष वामदेव गौतमको प्रस्ताव ठिक हो तर, त्यसले निकास दिन्छ, दिँदैन भन्ने कुरा छलफलकै विषय हो’, प्रचण्ड निकट मानिएका प्रवक्ता नारायणकाजी श्रेष्ठको टिप्पणी छ ।  

यसअघि अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजीनमा माग्दै आएको प्रचण्ड नेपाल पक्षले पनि सहमतिका लागि भन्दै दुईमध्ये एक पद छोडे मान्य हुने बताएको थियो । 

प्रचण्ड–नेपालपक्ष एक स्टेपपछि सरेर ओलीलाई एक पद छाड्न भनिएपनि उनी कुनैपनि पद छोड्न सहमत भएका थिएनन् । जसले गर्दा नेकपाभित्र समस्याको गाँठो थप कँसिदै गएको थियो । 

अर्ली महाधिवेशनबाट ओली ‘ब्याक’ 
‘सहमति गर्नुको विकल्प छैन । विभिन्न प्रस्तावहरुमाथि छलफल गर्न सकिन्छ । पछिल्लो समय उपाध्यक्ष गौतमले ल्याएको प्रस्तावलाई पनि पछ्याउन सकिन्छ । त्यसमार्फत सहमतिको बिन्दु निकाल्न सकिन्छ’, ओली निकट एक सचिवालय सदस्यले भने, ‘तर दुवै पदबाट राजीनामा भनियो भने त्यो मिल्ने कुरा हुँदैन । विनविन हुनेगरी निकास निस्कन्छ । त्यसका लागि अहिले केन्द्रीय समिति बैठक पनि नभनौँ र अर्ली महाधिवेशन पनि नभनौँ ।’

ती सदस्यका अनुसार यसअघि ओलीले अघि सारेको अर्ली महाधिवेशनको कुरा छाडेर चैतमा हुने महाधिवेशनबाट समस्याको निकास खोज्न ओली तयार भएका छन् । उक्त सन्देश अर्का अध्यक्ष प्रचण्डसमक्ष बिहीबारै पुगिसकेकाले नै  आइतबार संवादको वातावरण बनेको हो । 

‘सवै समस्याको समाधान चैतमा हुने महाधिवेशनमार्फत खोज्नेगरी सहमति हुन्छ । त्यसका लागि सकारात्मक वातावरण बन्दै आएको छ’, ती सदस्यकोे दावी छ ।  

यसअघि ओलीले आफू त्यसै पद नछाड्ने बरु मंसिरमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नसक्ने प्रस्ताव ल्याएका थिए । तर, त्यो प्रस्तावप्रति प्रचण्ड–नेपाल सहमत हुन सकेका थिएनन् । 

पद प्राप्तिको झिनाझम्टी होइन 
पार्टीभित्रको विवाद उत्कर्षमा पुगिररहेका बेला अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीभित्र विवाद र बहस हुनु सामान्य भएको शनिबार बताएका थिए । प्रचण्डको उक्त अभिव्यक्तिले पनि नेकपा विवादसहमति उन्मुख भएको हो कि भन्ने अड्कलवाजी भएका थिए । किनभने यसअघि प्रचण्डले पार्टी संकटमा रहेको र अर्का अध्यक्ष ओलीकै संलग्नतामा नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएको बताएका थिए । 

यद्यपी पछिल्लो समय भने उनले विधि र पद्धति बसाउन बहस भएकाले त्यसलाई ठुलो रुपमा लिन नहुने भन्दै टोन परिवर्तन गरेका हुन् । 

‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो । पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं’, अध्यक्ष प्रचण्डको भनाइ छ । 

उनले राजनीतिक स्थिरता र एकताका निम्ति पद त्याग गर्दै आएको स्मरण गर्दै भनेका थिए, ‘मैले संविधान बनाउने बेलामा पनि, स्थानीय तहको निर्वाचन गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेका थियौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप