बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कंगना रनौतले सुनिन् गोलीको आवाज, अभिनेत्रीले प्रहरीमा दर्ता गरिन् उजुरी

आइतबार, १८ साउन २०७७, ०८ : ०२
आइतबार, १८ साउन २०७७

लकडाउनका कारण अभिनेत्री कंगना रनौत आजकाल आफ्नो पुर्ख्यौली घर मनालीमा बसिरहेकी छिन् । जहाँ उनले शुक्रबार गोलीबारीको आवाज सुनेको दाबी गरेकी छिन् । अभिनेत्रीले अबेर राती प्रहरीमा ऊजुरीसमेत दिएकी छिन् । सूचना पाउने बित्तिकै प्रहरी कंगनाको घर पुगेको छ, अनुसन्धान गर्दा कुनै प्रमाण भेटिएन । यद्यपि, उनको घरको सुरक्षा भने बढाइएको छ । प्रहरीको एक समूह कंगनाको घरको सुरक्षामा तैनाथ गरिएको छ । कंगनाले आफूलाई कसैले डर देखाउने कोसिस गरिरहेको बताएकी छिन् । सुशान्त सिंह राजपूतको आत्महत्यापछि कंगना लगातार आफ्नो बयानका लागि चर्चामा छिन् ।

घटनाबारे जानकारी दिँदै कंगनाले भनिन्, ‘म आफ्नो बेडरुममा थिएँ र राती करिब साढे ११ बजे मैले केही पड्किएको आवाज सुनेँ । सुरुमा त कसैले पटका पड्काएका जस्तो लाग्यो तर जब दोस्रो आवाज सुनेँ तब मैले सोचेँ कि यतिबेला मनालीमा पर्यटक पनि छैनन्, त्यसैले कसैले पटका त पड्काउँदैन । मैले एक पटक होइनँ, ८ सेकेन्ड भित्र दुईपटक फायरिङको आवाज सुनेँ । मेरो घरको पर्खाल पछाडि कोही छ जस्तो भान भएको थियो । त्यसैले मैले तुरुन्त सिक्योरिटीलाई बोलाएँ । उनलाई यसबारे सोध्दा उनले कोही बच्चा हुनसक्ने बताए । मेरो सिक्योरिटीले कहिले गोली चलेको आवाज नै नसुनेका पनि हुनसक्छन् । यद्यपि, बाहिर कोही पनि थिएनन् । हामी घरमा पाँचजना छौं, त्यसपछि हामीले प्रहरीलाई बोलायौं ।’

कंगनाले थपिन्, ‘चमेरोले स्याउको खेतीमा क्षती पुर्याउने भएकोले सायद कसैले चमेरोलाई मार्ने कोसिस गरिरहेको हुनसक्ने प्रहरीले बताए । तर हामीले शनिबार बिहान स्याउको बगैंचाका मालिकलाई बोलायौं तर सबैले गोली नचलाएको बताए । त्यसैले मलाई लाग्छ कि यो हामीलाई डर देखाउनका लागि गरिएको हो ।’

कंगनाले दाबी गरिन्, ‘मेरो राजनीतिक प्रतिक्रियाका कारण यो सबै भइरहेको छ । यो कुनै विदेशी हतियारले चलाएको गोली थियो । केही स्थानीयले मलाई डर देखाउने कोसिस गरिरहेको पनि हुनसक्छ । ७–८ हजार दिएर यस्तो गर्नु कुनै ठूलो कुरा होइन । यो घटना कुनै संयोग होइन किनभने मेरो प्रतिक्रिया पछि मानिसहरुले मलाई अब मेरो मुम्बईको बसाइँ सहज नहुने बताइसकेका छन् । तर म यति हुँदा पनि डराउने भने छैन ।’ जीन्यूज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप