बस्तीमाथिको जमिन चिरिएपछि रातभर निदाउँदैनन् स्थानीय
सिन्धुपाल्चोक – विद्युत् प्राधिकरणको ड्याम, नहर र भीषण वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका–३, ड्याम साइडका १६ घर भासिएर उच्च जोखिममा परेका छन् । जमिन भासिएसँगै बस्तीमा जोडिएको टाउके खेत, पाखोबारी र जङ्गल बगिसकेको छ ।
उक्त बस्तीका कृष्णमान श्रेष्ठले बस्ती उच्च जोखिमा परेपछि विस्थापित हुनु परेको बताए । रातको समयमा १६ घरपरिवारका सय जनाभन्दा बढी विद्युत् प्राधिकरणको ट्रसमा त्रिपालले बारेर बस्दै आएका छन् । बस्तीमाथिको खेतबारी र वन जङ्गल गरी ७० रोपनी जमिन चिराचिरा परेर दुई मिटरको गहिराइसम्म फाटेको श्रेष्ठले जानकारी दिए । जमिन भासिने र फाट्ने भएपछि उक्त खेतबारीमा स्थानीयले बाली लगाउन छाडेका छन् ।
नेपाल विद्युत् प्राधिकरण सुनकोसी जलविद्युत् आयोजनाले सोही बस्तीमुनि ड्याम र नहर बनाएपछि बस्ती भासिएको स्थानीय श्रेष्ठले जानकारी दिए । चार पुस्ताभन्दा बढी समयदेखि बसोबास गरेका बस्ती भासिएपछि स्थानीयवासीलाई कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउन थालेको छ । २०७१ सालको भीषण जुरे पहिरोले पनि उक्त बस्ती जोखिममा परेको थियो ।
अहिले पनि बस्तीमाथि रहेको टेकानपुर–तौथली सडकको पानीको भेल ठेकेदारले ह्युमपाइप राखेर बस्तीमाथिबाटै झारिदिएपछि सो बस्ती झन् बढी जोखिममा रहेको स्थानीय शिवराम श्रेष्ठले दुखेसो गरे । त्यसैगरी, ओरियन्ट म्याग्नेसाइडको रोप वे टावर ढल्न लाग्दा पनि उक्त बस्ती थप खतरामा परेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चित्र मिजारले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
फेरि बढ्यो अमेरिकी डलर भाउ, विदेशी मुद्रा कसको मूल्य कति ?
-
सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति