बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घर बाहिर निस्किनेहरूले विशेष सावधानी अपनाउन विज्ञहरुको अपिल

प्रदेश नम्बर २ मा संक्रमण ‘मेगा आउटब्रेक’ मा पुगेको दाबी
शनिबार, १७ साउन २०७७, १७ : ५४
शनिबार, १७ साउन २०७७

चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आफ्नो व्यवहारमा परीवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने पनि माग गरेका हुन् ।

नागरिक समाजका अगुवासमेत रहेका चिकित्सक डा. सुन्दरमणि दिक्षितले आफूहरुले यसअघि सरकारलाई सावधानी अपनाउन र कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सुझाव दिएको भएपनि सरकारले भारतसँगको सीमा नाका बन्द नगरेको गुनासो पोखे । उनले भने,‘अहिले स्वास्थ्यकर्मीहरु काम छोडेर भागेको भन्ने कुरा आएको छ । तराईमा कोरोना संक्रमण ठूलो मात्रामा देखिएको छ । भारतसँगको सिमा नाका पूर्ण रुपमा बन्द गर्नुपर्छ भनेर हामी धेरैपटक चिच्याऔँ । तर, सरकारले हाम्रो कुरै सुनेन ।’

उनले काठमाडौं उपत्यकापनि अहिले कोरोना संक्रमणको भयंकर जोखिममा परेको खतरा औंल्याए । उनले भने, ‘काठमाडौं खाल्डो कोरोना संक्रमणको जोखिममा परिसकेको छ । अब हामीले परीणाम देख्दै जान्छौँ ।’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक कदम चाल्न नसकेको भन्दै उनले गुनासो पोखे ।

उनले भने,‘सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सकेन् । पिसिआर टेस्ट जब बढाउनुपर्नेथियो, त्यतिबेला सरकारले परीक्षणको दायरा नै घटायो । हामीले त बारम्बार परीक्षणको दायरा बढाउ भनेर सरकारलाई भनेकै थियौं । तर, सरकार गम्भीर भएन ।’ उनले पिसिआर परीक्षण गर्नको लागि सरकारलाई केले रोकेको थियो ? भनेर प्रश्नसमेत गरे । उनले भने,‘सरकारसँग पैसा छ, तर खर्च सकिरहेको छैन् ।’ तर, सरकारले जनस्वास्थ्यमा खेलबाड गरेको उनको आरोप छ ।

पछिल्लो समय विभिन्न ठाउँबाट काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको र उनीहरुले आवश्यक सतर्कता र नियम नअपनाएको पनि उनको गुनासो छ । सरकारले कोरोनाबारे दिने गरेको तथ्यांकलाई उनले बेकारको तथ्यांकको संज्ञा दिए ।

उनले कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएकोले आम नागरिकले आँफैं सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणको बाढी भारतबाट आएको टिप्पणी गरे । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको र अवस्था अत्यन्तै चिन्ताजनक रहेको उनले खतरा औँल्याए । प्रदेश नम्बर २ मा संक्रमण ‘मेगा आउटब्रेक’ अर्थात लेभल ४ मा पुगेको पनि उनले टिप्पणी गरे ।

सरकारले कोरोना समूदायमा फैलिएको छैन भनेर आम जनसमूदायमा ‘रिस्क’ महशुस गराउन नसकेको पनि उनको गुनासो छ । उनले भने,‘सरकारले कोरोना संक्रमणको खतरा छ है, सचेत हुनुहोस् भनेर भनिदिएको भए आज सबैले मानवीय व्यवहारमा परिवर्तन गर्ने थिए ।’

उनले कोरोनाबाट बच्ने उपायमा मुख्य कुरा भनेको मानवीय व्यवहार नै रहेको सुनाए । उनले दैनिक १२ हजारदेखि १५ हजारसम्म पिसिआर परीक्षण गरिनुपर्ने बताए । उनले नेपालम अस्पतालमा बेडको कमि रहेको पनि सुनाए ।

शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि आम नागरिक व्यवस्थित हुनुको विकल्प नभएको बताएका छन् । उनले अहिले लकडाउन खुलेपछि बाहिर निस्किएकाहरुले सावधानी अपनाउनुपर्ने बताए । उनले भने,‘बाहिर निस्किएकाहरुले मास्क लगाउनुपर्छ । रेगुलर हात धुनुपर्छ । फिजिकल डिस्ट्यान्स पालना गरौं ।’

सरुवा रोग विशेषज्ञसमेत रहेका प्रवक्ता डा. बास्तोलाले काठमाडौं उपत्यकामा संक्रिमतहरुको संख्या बढ्न थालेपछि आम मानिस त्रसित बनेको उल्लेख गर्दै सबैले सावधानी अपनाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप