शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञा र लकडाउनका कारण सप्तरीमा घरमै मनाइयो बकर इद

शनिबार, १७ साउन २०७७, १५ : ४५
शनिबार, १७ साउन २०७७

सप्तरीका इस्लाम धर्मावलम्बीले आफ्नै घरघरमा बसेर आज ‘बकर इद (इदुल जोहा)’ मनाएका छन् । कोरोना महामारीका कारण ठूलो सङ्ख्यामा मस्जिदमा भेला भएर तथा इष्टमित्रलाई घरमा बोलाएर यस वर्षको ‘बकर इद’ मनाउन नपाएपछि इस्लाम धर्मावलम्बीले घरपरिवारमा सीमित भएर पर्व मनाएका हुन् ।
    
देशमा लकडाउन खुलेपछि दोस्रो महान् पर्व हर्षोल्लासपूर्वक मनाउने आशामा बसेका सप्तरीका इस्लाम धर्मावलम्बीले सप्तरीको राजविराजमा लागेको निषेधाज्ञा र विभिन्न स्थानीय तहमा लागेको लकडाउनका कारण घरमै पर्व मनाएका छन् ।
     
धेरै जनाले घरमै बकर इद पर्व मनाइरहँदा राजविराज नगरपालिका– ४ स्थित जामे मस्जिदमा फाटफुट पुरुष मात्र नमाज पढन पुगेका थिए । तीन हजारसम्म अटाउनसक्ने सो मस्जिदमा सामाजिक दूरी कायम गरी ६०÷६० जनाका दरले दुई सिफ्टमा नमाज पढिएको राजविराज–४ का सरफराज अन्सारीले बताए । 

जिल्लाभरीकै इस्लाम धर्मावलम्बी आउनसक्ने सो जामे मस्जिदमा यो वर्ष राजविराज– ४ का सीमित मानिस मात्र रहेको उनले बताए। कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण पाहुना, अतिथिको उपस्थितिविना नै बकर इद मनाइएको राजविराज नगरपालिका– ११ झल्हीका इमरान अलीले बताए । 

यसअघि बकर इदमा अन्य धर्म, जातिका साथीभाइकोसमेत उपस्थितिमा खानपिन गरेर रमाइलो हुने गर्दथ्यो । तर यस वर्ष इद झैँ बकर इद पनि इष्टमित्रविना मनाउनुपरेको अलीले बताए । सप्तरीको शम्भुनाथ नगरपालिका–२ का अनवर अलीले भने, “देशभरी लकडाउन खोलिँदा शम्भुनाथ नगरपालिकामा बिहीबारदेखि लकडाउन पुनः कडा पारिएकाले बाहिरका कसैलाई पनि बोलाइएन, परिवारका सीमित व्यक्ति बसेर मनायौँ ।”
    
“कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्थानीय तह र स्थानीय प्रशासनले भेला, जमघट हुन रोक लगाएका कारण पर्व मनाउने शैलीमा फेरबदल गरिएको हो”, सरफराज अन्सारीले भने, “भेला, जमघट नभए पनि कुर्बानी (बलिदान) को मासु तीन भागमा बाँडेर खायौँ । नमाज पढेर आएपछि खसीको बलि दिएको बताएका अन्सारीले थपे, “काटिएको खसीको १८ किलोलाई तीन भाग लगाई एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग इष्टमित्रलाई र तेस्रो भाग परिवार बसेर खाइरहेका छौँ ।”
    
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । तर कोरोनाको कहरले अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने र हात मिलाउने प्रचलन हटेको राजविराज–४ का शेरु खानले बताए । अङ्कमाल र हात मिलाउनुको साटो अब अदाब गरेर शुभकामना आदानप्रदान गर्न थालिएको खानले जानकारी दिए । 
    
कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले मुस्लिम आयोग, स्थानीय तह र स्थानीय प्रशासनले विज्ञप्ति र सूचना जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेकाले घरमै मनाइएको कल्याणपुरका ऐयुव राइनले बताए ।
    
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको इस्लामी सङ्घ नेपालको सप्तरी अध्यक्ष कलिम खानले जानकारी दिए ।
    
मौलवी हारुन अन्सारीले ऐतिहासिक बकर इद पर्वका आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताए । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै ‘हदिस’ नामक धर्मग्रन्थको रचना गरेका थिए । “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, अनसारीले भने ।

    यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तरराष्ट्रिय उडानसमेत बन्द रहेको छ । जसका कारण हजयात्री मक्का मदिना जान पाएनन् । मक्का मदिना जान नपाएका हजयात्रीलेसमेत घरघरमै बकर इद मनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप