शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तनहुँमा बाढीपहिराले कृषिमा ९ करोड क्षति

शनिबार, १७ साउन २०७७, १४ : १७
शनिबार, १७ साउन २०७७

गत असार २९ गतेदेखि निरन्तर परेको वर्षापछि आएको बाढीपहिराले तनहुँको कृषि क्षेत्रमा करीब रु नौ करोड बराबरको क्षति भएको छ ।  वर्षा पछिको बाढीपहिराले जिल्लाका विभिन्न भागमा छ सय हेक्टर क्षेत्रफलमा लगाएको धान नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा लगाइएको धान खेतीमा बढी पुगेको छ । त्यस्तै व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि बाढीपहिराले क्षति पुगेको केन्द्रले जनाएको छ । खोलाले कटान गरेको र बगरले पुरेर करीब रु नौ करोड बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। 

    बाढीले बगाएको कतिपय स्थानमा किसानले बाढी पन्छाएर पुनः रोपाइँ शुरु गरेका छन् । रोपाइँमा ढिला हुँदा उत्पादन घट्ने निश्चित छ । ढिलै भए पनि छिटो पाक्ने जातका धान रोपाइँ गर्न कृषकलाई सुझाव दिइएको छ । स्थानीय सरकारले बालीनालीमा हुने क्षति व्यहोर्नलाई बजेट विनियोजन गर्नुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले बताए । प्रदेश र सङ्घीय सरकारले भन्दा स्थानीय सरकारले तत्काल राहत दिन सक्ने उनले बताए । 

    स्थानीय तहले बाढीपहिराबाट किसानलाई भएको क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । बाढी र पहिराका कारण बगरमा परिणत भएका खेतलाई बन्दीपुर गाउँपालिकाले भने प्रतिरोपनी रु दुई हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बाढीले बगर भएका खेतलाई अनुगमन गरेपछि क्षतिपूर्ति दिइने जानकारी दिए । 

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप