बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यो वर्ष कर्णालीकै प्रसिद्ध जात्रा सञ्चालन नहुने

शुक्रबार, १६ साउन २०७७, १४ : ३२
शुक्रबार, १६ साउन २०७७

जुम्ला । आगामी साउन २० गतेदेखि शुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जात्रा तथा मेला लागेपछि मानिसको भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण फैलिने भएकाले जात्रा सञ्चालन नहुने भएको हो । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् गाईजात्राको दिनदेखि शुरु हुने जात्रा श्रीकृष्ण जन्मअष्टमीका दिन मात्रै सकिने भए पनि कोरोना भाइरसका कारण यो वर्षको जात्रा सञ्चालन नहुने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

पहिलो दिन गाईजात्रा, दोस्रो दिन रोपाइँ जात्रा, तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र चौथो दिन मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने ऐतिहासिक चलन रहिआए पनि यो वर्ष कोरोना भाइरसका कारण जात्रा नहुने भएको उनले बताए ।

शुक्ल प्रतिपदाका दिन शुरु भई कृष्णजन्मअष्टमी गरेर आठ दिनसम्म मनाउने कर्णालीकै इतिहासिक चलन यो कोरोना भाइरसका कारण तोडिने भएको छ । एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतीकको रुपमा मानिसलाई गाईको रुपमा सिँगारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन रहिआएको थियो ।  

लिच्छ विकालमा मल्ल राज प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हसाउने कार्यक्रम गरेको इतिहास छ । त्यसैलाई आधार मानेर गाईजात्रामा सामाजिक कुरिती, राजनीतिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने चलन रही आएको थियो ।

सिंजामा पनि जात्रा नलाग्ने 

खस भाषाको उद्गम स्थल सिंजाको कनकासुन्दरीमा पनि यो वर्ष जात्रा नलाग्ने भएको छ । कनकासुन्दरी गाउँपालिकाले एक सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण फैलन सम्भावना भए पनि जात्रा नलाग्ने भएको हो । गाउँपालिका अध्यक्ष नरविर रावतका अनुसार कोरोना भाइरसको प्रकोप बढ्दो अवस्थामा भएकाले यस क्षेत्रमा जात्रा, पैठ कुनै पनि मेलापर्व नहुने सबै नागरिकलाई सूचित गरिएको छ । उनले भने, “जारी सूचना तथा आदेशको अवज्ञा गरेमा प्रचलित कानून बमोजिम सजाय गरिने छ ।”

मास्क नलगाएर हिँड्ने कारवाहीमा 

बिहीबार सबै नागरिकलाई मास्क बिना बाहिर हिँडडुल नगर्न अनुरोध गरेपनि शुक्रबार मास्क प्रयोग नगर्ने २२ जनालाई कारवाही गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने, “केही बालबालिका थिए । उनीहरुलाई मास्कसहित सम्झाएर पठाएको छौँ भने अन्य व्यक्तिलाई रु १०० जरिवाना दिएर कारवाही गरेका छौँ ।”

मास्क प्रयोग नगर्ने जो सुकै व्यक्तिलाई कारवाही गरिनेछ । कारवाही गर्नुभन्दा पहिला माक्ससहित उपलब्ध गराएर सम्झाएका छौँ । सम्झाउँदा सम्झाउँदै पनि मास्क नलगाउने र सामाजिक दूरी कायम नगरी भीडभाड गर्नेलाई कारवाही गर्ने गरिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप