बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाद्वारा भएका मनोनयनका निर्यणको प्रतिवादमा उत्रियो पौडेल समूह : निशानामा सुनिल थापा !

बिहीबार, १५ साउन २०७७, १८ : ०८
बिहीबार, १५ साउन २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाद्वारा पार्टीको विधान विपरीत भएका निर्णयको निरन्तर प्रतिरोध गर्ने बताएका छन् । विहीबार पार्टी कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा पौडेलले प्रतिरोध अभियान १४ औं महाधिवेशनसम्म जारी रहने बताएका हुन्।

दयाँ बायाँ आफू पक्षीय नेता राखेर पौडेलले भने, “हामीले यो मुद्दा महाधिवेशनसम्म लैजान्छौं । सभापति देउवाले जति गल्ती गर्दै जान्छन् हामी त्यतिनै सशक्त दबाब बढाउँदै जान्छौं । प्रतिरोध अभियान १४ औं महाधिवेशनसम्म जारी रहन्छ ।”

पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, डा शेखर कोइराला, नविन्द्रराज जोशी, रामकृष्ण यादव, डा चन्द्र भण्डारी, गुरुराज घिमिरे, जीवन परियार, किरण यादव र सरिता प्रसाईलगायत उपस्थित थिए । 

बिहीबार बिहान पौडेल र महामन्त्री शशांक कोइरालाले पार्टी विधानको पालना, चौधौं महाधिवेशनको सफलता र आन्तरिक लोकतन्त्रको प्रबद्र्धन विपरीत काम भएको भन्दै सभापति देउवालाई असहमतिपत्र बुझाएका थिए । पौडेल पक्षको विरोधका बाबजुत सभापति देउवाले भटाभट पार्टीका केन्द्रीय विभागर अन्य निकायमा पदाधिकारी र सदस्यको मनोनय गरेपछि पौडेल पक्ष सार्वजनिक रुपमा प्रतिवादमा उत्रिएको छ ।

विधान विपरीत विभागहरु गठन र पदाधिकारी र सदस्य मनोनयन गरिएको, कृयाशील सदस्यता वितरणमा प्रक्रिया पुगेकालाई पनि नदिने र अर्को पार्टीबाट आएकाहरुलाई हचुवाका भरमा कृयाशील सदस्यता बाँड्न खोजिएको, स्थानीय तह समायोजन, भातृ तथा शुभेच्छुक संस्थालाई निष्कृय बनाइएको र विदेश स्थित जनसम्पर्क समितिमा एकले अर्कोलाई निष्कासन गर्ने काम भइरहेकोमा पौडेल पक्षले असहमति जनाएको छ ।

पार्टीमा आन्तरिक लोकतन्त्रको उल्लंघन गरिएको र सभापति देउवाले नै महाधिवेश प्रभावित पार्नेगरी कदम चलेकाले विरोध उत्रिनु परेका पौडेलको भनाइ छ । पार्टीमा दशकौंदेखि रगत–पसिना भिजाएका नेता कार्यकर्तालाई वडा, क्षेत्र र जिल्लामै वहिस्कृत गराउने, मनोबल गिराउने, पार्टी जीवन तहसनहस र तेजोबध गर्ने खालका अन्यायपूर्ण काम भएको पौडेलले बताए ।

मंगलबार नेपाली काँग्रेस प्रवेश गरेका सुनिल थापा समूहप्रति लक्षित गर्दै पौडेल पक्षले बुझाएको पाँच बुँदे पत्रमा भनिएको छ, 'पार्टी प्रवेशका सिलसिलामा नेपाली काँग्रेसमा  प्रवेश गरेका विभिन्न तहका व्यक्तिहरुका सम्बन्धमा हचुवाको भरमा ‘केही सदस्य’, ‘यति सदस्य’, ‘यति हजार सदस्य’, ‘त्यस जिल्लाको कुल सदस्यभन्दा कम’, भन्नेजस्ता अष्पष्ट तथा अमूर्त कुरा लेखी, फोरम लोकतान्त्रिक संगको समायोजन हेर्ने भनी बनाएको समितिले केन्द्रमा पेस गरेको भन्ने कुरा जानकारी आएको छ । काँग्रेसमा पसिना भिजाएको साथीहरुको तेजोबध गर्ने खालका अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन ।'


राष्ट्रिय पहिचान बोकेका सीमित व्यक्तिहरू बाहेक कृयाशील सदस्यता वितरण पार्टी विधानले तोकेको वडाबाटै हुनुपर्ने पौडेल पक्षको  भनाइ छ । 'माथिवाट थोपर्ने हैन । विधान, प्रक्रिया र परम्परालाई मिच्ने कार्य स्वीकार्य हुनसक्दैन । हाम्रो पार्टीको लामो इतिहासमा विभिन्न पार्टीका नेताहरू नेपाली काँग्रेसमा प्रवेश गरे, तर आज आएर जुन परम्पराको थालनी हुन लागेको छ, अमूक व्यक्ति प्रवेश गर्दा यति हजारलाई क्रियाशीलता सदस्यता दिने भन्ने कुरा पार्टी विधानको घोर उपेक्षका साथै परम्पराको विपरीत हो,' पत्रमा भनिएको छ ।

समग्र पार्टीको साख, लोकप्रियता र गौरबमा धब्बा लगाउने, स्थानीय नेतृत्व - कार्यकर्ताको मनोबल गिराउने, उनीहरुलाई विस्थापित र  तिरस्कृत गर्ने प्रवृत्ति अख्तियार गरिएको पौडेल पक्षको आरोप छ । जिल्लामा पठाईएका कृयाशील सदस्यताका फर्महरू केन्द्रीय परिपत्र अनुसार जिल्ला पार्टी सभापतिले लगेर क्षेत्रीय सभापतिलाई र तलका निकाय प्रमुखलाई दिनुपर्ने व्यवस्था भए पनि कतिपय जिल्लामा विधान विपरीत मनपरी गर्न खोजेको पौडेलले बताए । 

पौडेलले निर्वाचन समितिले निर्देशिकाको आधारमा लगातार काम नगरिदिएर अनावश्यक अल्झाउने र निर्देशिका मिच्ने काम हुन खोज्दा समस्या पैदा भएको बताए । यसले महाधिवेशनलाई नै प्रभाव पार्ने खालको गतिविधि भइरहेको पौडेल पक्षको आरोप छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप