केन्द्रीय संस्करण
समाचार

‘नेटवर्किङ बिजनेसमा’ लाग्दा सांसदहरु नै यसरी ठगिए

नेटवर्किङ व्यापारको पक्षमा मन्त्री, अध्ययनका लागि समिति गठन

person explore access_timeसाउन १५, २०७७ chat_bubble_outline0

युनिटी, हर्बो, गोल्ड क्वेष्ट लगायतका नेटवर्किङ बिजनेसमा तपाईं ठगिनुभएको छ ? विगतमा नेटवर्किङ व्यापारमा जगजगी रहेका ती कम्पनीबाट थुप्रै संख्यामा सर्वसाधारण ठगिए । यसरी विगतमा ठगिनेमा प्रतिनिधिसभाका सांसदहरु पनि रहेका छन् । उनीहरुले आफूहरु नेटवर्किङ व्यापारमा कसरी ठगिएँ भनेर बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगमन्त्री तथा सचिवलाई बेलिबिस्तार लगाएका छन् । 

उद्योग मन्त्रालयले प्रत्यक्ष वस्तु बिक्री अर्थात नेटवर्किङ व्यवसायका लागि ७ वटा कम्पनी दर्ता गरेपछि संसदीय समितिले छलफलका लागि उद्योग विभागका महानिर्देशक, मन्त्रालयका सचिव र मन्त्री लेखराज भट्टलाई बैठकमा बोलाएको थियो । बैठकमा समितिका सम्पूर्ण सांसदले नेटवर्किङ व्यवसायका लागि अनुमति नदिन आग्रह गर्दै विगतमा आफूहरु पनि ठगिएकोबारे फेरिहस्त प्रस्तुत गरे । 

कृष्ण कुमार श्रेष्ठ ५० हजार, सुजाता परियार डेढ लाख गयो
नेकपा सांसद कृष्णकुमार श्रेष्ठले गोल्ड क्वेष्ठ नाम गरेको नेटवर्किङ व्यापारमा ५० हजार गुमाएको बताए । चिनेको मान्छेले ५० हजार लागानी ग¥यो भने दोब्बर आम्दानी हुन्छ भनेर फसाएपछि लगानी गरेको र पछि ठगिनु परेको बताए । उनले नेटवर्किङ बिजनेस भन्ने बित्तिकै नेपालीहरु इरिटेड भएको बताए । उनले उद्योग मन्त्रालयले नेटवर्किङ व्यापारका लागि अनुमति दिएका कम्पनीले २५ हजार रुपैयाँ लिएर सदस्य बनाएको भन्दै महानगरीय अपराध महाशाखा टेकुमा उजुरी परेको बताए । 

उद्योग विभागले ३ दिने स्पष्टीकरण लिएर फेरी सोही कम्पनीमा अभिमुखीकरण तालिम दिन गएर दुधको साक्षी बिरालो बनेको टिप्पणी गरे । 

उनले प्रत्यक्ष वस्तु बिक्री सम्बन्धी ऐन २०७४ मा कम्तीमा ५० प्रतिशतसम्म स्वदेशी उत्पादन बिक्री गर्ने प्रावधान चलाखीपूर्ण रुपमा कर्मचारीले घुसाएर नेपालका उत्पादन नहुने विदेशी सामान बिक्री गर्न पाउने व्यवस्था गरिएको बताए । 

यता नेपाली कांग्रेसकी सांसद सुजाता परियारले इलाममा बसेका बेला नेटवर्किङ कम्पनीबाट डेढ लाख रुपैयाँ ठगिनु परेको बताइन् । त्यतिबेला भारतबाट मेडिकेयर भन्ने नेटवर्किङिङ कम्पनी आएर ठगेको बताइन् । उनले भनिन्, ‘इलामको जिल्ला विकास समितिको कार्यालयमा नेटवर्किङ व्यापारमा लागेर यति धेरै कमाए भनेर झुटो प्रचार गर्दै सदस्य बनाएर पैसा लियो । पछि त्यो मान्छे नै हरायो । त्यतिबेला धेरै मान्छ ग्वाँग्वाँ रोएका थिए ।’
उनले काठमाडौंमा पनि ढुकुटी खेल्ने नाममा ठगी धन्दा हुने गरेको बताइन् । नेटवर्किङ व्यापारको नाममा गुणस्तर नभएका सामान घर घरमा लगेर वाक्क पार्ने काम हुने भन्दै इलामको अकबरे खुर्सानीलाई बोतलमा हालेर ग्याँष्ट्रिकको औषधी भन्दै विक्री गरेको पनि आफूले भेटेको उनले बताइन् । 

भीमसेनदास प्रधानलाई ५० हजार फाइदा 
यता नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पनि आफू श्रीमतीको तर्फबाट गोल्ड क्वेष्ट नेटवर्किङ व्यापारको सदस्य भएको बताए । उनले आफूले त्यसबाट ५० हजार फाइदा पाएको बताए । त्यो नेटवर्किङ व्यापारमा लागेर पत्रकार बन्दना राणा विदेश भाग्नुपरेको पनि उनले स्मरण गरे । अहिले अनलाइन व्यापारका नाममा पनि ठगी हुने गरेको बताउँदै उपभोक्ता ठगिने ब्यापारबारे सरकार सजग हुनुपर्ने बताए । 

सोमप्रसाद पाण्डेलाई प्रधानन्त्रीको अफर 
पूर्वउद्योगमन्त्री समेत रहेका सांसद सोमप्रसाद पाण्डेले नेटवर्किङ कम्पनी गोल्ड क्वेष्टको ‘प्राइममिनिष्टर’ पदका लागि आफूलाई अफर गरेको बताउँदै आफूले सदस्यता नलिएको बताए । उनले आफू सांसद त हुन नसकेको बेला के को प्रधानमन्त्री भन्दै पन्छाएको उल्लेख गरे । उनले आफू स्कूल पढ्ने बेला ९ रुपैयाँमा पाइन्ट आउने र त्यसका लागि ९ जना साथी बनाउनुपर्ने नियम भएको नेटवर्किङ कम्पनी सक्रिय रहेको बताउँदै आफू त्यसमा सहभागी नभएको बताए । 

उनले नेटवर्किङ व्यापारमा जनमत नरहेको र घुमाउरो प्रकारले जनता ठग्नका लागि फेरि सरकारले नेटवर्किङ व्यापार दर्ता गरेको उल्लेख गरे । उनले नेटवर्किङ व्यापारबाट बिक्री हुने सामान प्रमाणीकरण पनि नहुने, ल्याव टेष्टपनि नहुने भएकोले यो बारे छलफल नै आवश्यक नरहेको भन्दै नेटवर्किङ ब्यापारलाई प्रोत्साहित गर्न आवश्यक नरहेको बताए ।

हर्बो, युनिटी, गोल्ड क्वेष्ट सबैबाट ठगिएँः गोपाल बम 
समितिका सदस्य रहेका अर्का सांसद गोपाल बमले आफू विगतमा नेपालमा चर्चित रहेका नेटवर्किङ बिजनेस कम्पनी हर्बो, युनिटी, गोल्ड क्वेष्ट सबैबाट ठगिएको बताए । आफ्नै मान्छे भन्दै मिठा कुरा गर्दै आउने र सदस्य बनाएर नेटवर्किङ कम्पनीले ठगेको उनले बताए । उनले ३ वटै कम्पनीमा पैसा लगानी गरेपनि आफूले १ रुपैयाँपनि नपाएको उनले बताए । 

उनले नेपालका नेता, न्यायाधीश, मन्त्री, सचिव, कर्मचारी ठग्न सिपालु रहेको बताउँदै कानूनका विषयमा र, तथा, वा लगाएर ठग्ने बानी रहेको दावी गरे । उनले नेटवर्किङ व्यापारमा धेरै विकृति विसंगति रहेको बताउँदै धेरै विचार गरेर अघि बढ्न आग्रह गरे । उनले भने, ‘नेटवर्किङ विजनेस प्रत्यक्ष पैसा लिएर ठगी गर्ने काम हो, यसलाई बन्द गर्नुपर्छ । नेपालीहरु हामी आफै खराब छौँ, यसमा होसियार हुन आवश्यक छ ।’
बैठकमा सहभागी अन्य सांसदहरुले पनि नेटवर्किङ ब्यापारबाट ठगिन लाग्दा लाग्दै जोगिएको अनुभव समेत सुनाए । 

२०७४ कार्तिकमा पास भएको वस्तुको प्रत्यक्ष विक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐनका आधारमा उद्योग मन्त्रालयले ७ वटा कम्पनीलाई नेटवर्किङ व्यापार गर्न दिएपछि फेरि पनि नेपाली ठगिने हुन कि भन्ने बहस सुरु भएको छ । तर मन्त्रालयले भने नेटवर्किङ व्यापार भएपनि एउटा व्यापारीले अर्को व्यापारी बनाउँन नपाउने, व्यापारी र उपभोक्ताको मात्र सम्बन्ध हुने भएकोले ठगी नहुने दावी गरेको छ ।

बैठकमा उद्योगमन्त्री लेखराज भट्ट तथा मन्त्रालयका सचिवले वस्तुको प्रत्यक्ष बिक्री ऐन अनुसार हुने नेटवर्किङ व्यवसाय पहिलाको जस्तो ठगी हुने पिरामिड आकारमा सदस्य बनाएर व्यापार गर्ने पद्धति नभएको दावी गरे । 

 हिजोको भूत समातेर पत्रकारले समाचार लेखेः मन्त्री भट्ट
बैठकमा सांसदहरुको कुरा सुनेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले संसदले बनाएको कानून अनुसार नै नेटवर्किङ व्यापारका लागि अनुमति दिएको दावी गरे । उनले रुप फेर्ने गरी नेटवर्किङ व्यापार आएको सांसदहरुको भनाइ आएपनि अहिलेको कानूनको पालना गरेरै काम गरेको बताए । 

उनले मिडियाहरुले हिजोको नेटवर्किङ कम्पनीको भूतलाई समातेर समाचार लेखेको आरोप समेत लगाए । उनले ऐन नपढिकन आरोप लगाएको बताउँदै आफूलाई बझाङबाट एमसीसीको समर्थन गरेको भन्दै टाउको काट्ने धम्की दिएको उल्लेख गरे । उनले आफूले एमसीसीको बारेका पढेको छ कि छैन भन्दा पढेको छैन तर एमसीसीको समर्थन गरे टाउको काट्ने धम्की दिएजस्तै केही नबुझी विरोध गर्नु औचित्य नभएको दावी गरे । उनले स्वदेशमा उत्पादन भएको सामग्री घर घरमा पुगेर व्यापार गर्छन् भने किन विरोध गर्ने भन्दै प्रश्न गरे । 

उनले यो प्रकरणमा आफूले तथा मन्त्रालयका कर्मचारीले अनियमितता नगरेको बताउँदै ऐनमा कुनै त्रूटि भए सच्याउन तयार भएको बताए । 

नेटवर्किङ व्यापारबारे अध्ययनका लागि एक समिति गठन
सरकारले नेटवर्किङ व्यापारका लागि स्वीकृति दिन थालेपछि समितिमा उजुरी परेको थियो । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट मन्त्रालयका सचिव लगायतलाई समितिले यसबारे छलफलका लागि बोलाएको थियो । 
छलफलका क्रममा अधिकांश सांसदले नेटवर्किङ व्यवसाय बन्द गर्न माग गरेपछि समितिले समितिका सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाएको छ । समितिमा पाण्डेका अलावा प्रकाश रसायली, अमृतादेवी अग्रहरी, सरितादेवी गिरी र कृष्ण कुमार श्रेष्ठसदस्य रहेको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए । 

यो समितिलाई वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४, सो अनुसार व्यवसाय गर्ने अनुमति पाएका ७ वटा नेटवर्किङ व्यवसाय गर्ने कम्पनी लगायतको अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.