शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आमाले दोस्रो बिहे गरेपछि दुई बालिका चौबीसै घण्टा बन्धक

बिहीबार, १५ साउन २०७७, १२ : ५७
बिहीबार, १५ साउन २०७७

गुल्मी । आमाले दोस्रो विवाह गरेर गएपछि गुल्मीको ईस्मा गाउँपालिका–२, पालुखा ठुलाखोला गाउँका दुई अवोध बालिकाको बिचल्ली भएको छ । ती बालिकाका बाबु २७ वर्षीय पदम मुखियालाई कमाउन जानु कि घरमै बसेर बालबालिकाको हेरचाह गर्नु भन्ने खालको दोहोरो समस्या छ । 

दुई दिदीबहिनी मध्ये जेठीको उमेर दुई वर्ष र कान्छीको एक वर्ष नपुग्दै आमाले दोस्रो विवाह गरेर गएपछि यतिबेला यी दिदीबहिनीको बिचल्ली भएको हो ।  बाबु सँधैजसो जाँडरक्सी सेवन गरेर हिँड्ने, घरमा अरु कोही नभएका कारण ती बालिका घरमै असहाय बनेर बस्नुपर्ने अवस्था आएको हो ।

काम गर्न जानुपर्दा समेत बाबुले दुवै छोरीलाई घरभित्र थुनेर जानुपर्ने बाध्यता छ । कहिलेकाहीँ काम गर्न गएका बाबु उतै अल्मलिँदा, जाँड–रक्सी खाएर बरालिएको अवस्थामा घरमा छोरीहरुको बिचल्ली हुने गरेको छ । बाबु नआउन्जेल उनीहरु घरभित्रै बन्धकजस्तो भएर भोकैतिर्खै बस्नुपर्ने अवस्था रहेको छिमेकीहरुको भनाइ छ ।

हुन पनि, जंंगलको छेउमा एक्लो घर छ । दुवै दिदीबहिनीलाई घरमा त्यत्तिकै छोड्दा जंगली जनावरबाट असुुरक्षित हुने अवस्था छ । कोठाभित्र थुनेर जाँदा पनि उनीहरुलाई शौचालयदेखि लिएर खान–पिउन समस्या हुने गरेको छिमेकीहरुको भनाइ छ । 

हुन त, आमा हुँदा पनि उनीहरुको अवस्थामा खासै फरक थिएन । पदम मुखियाकी कान्छीआमा पर्ने खुमकला मुखियाले भनिन्, ‘कहिले त महिनौँसम्म पनि यिनीहरुलाई आमाचाहीँले छोडेर हिँड्थी, गएको जेठदेखि त यिनीहरुलाई सधैँका लागि छोडेर ईस्मातिर अर्को बिहे गरेर गई, त्यसपछि यिनीहरुको बिचल्ली भएको हो ।’

बाबुले घरभित्रै थुनेर हिँडेपछि दिनभरी ती दुवै दिदीबहिनी बन्धकजस्तै भएर बस्नुपर्ने बाध्यता छ । खुमकला भन्छिन्, ‘बाबु चौबीसै घन्टा जाँडरक्सी पिएर हिँड्छ । कहिले त चार÷पाँच दिनमा घर आउँछ ।’ स्थानीय समाजसेवी राहुल विश्वकर्माले सधैँ आउँदा ती बालिका घरभित्रै थुनिएको र रुँदै बस्दै गरेको देख्नुपर्दा आफुले चाउचाउ र बिस्कुट झ्यालबाट छिराईदिएर जाने गरेको बताए ।  यी बालिकाको उद्धारका लागि सहज हुन्छ कि भनेर आफूहरुले सञ्चारमाध्यमलाई समेत गुहारेको विश्वकर्माले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप