बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अझै बढ्ला सुनको मूल्य ?

डलरको विनिमयदरमा नेपाली अर्थतन्त्रको अपवाद
बिहीबार, १५ साउन २०७७, १० : १३
बिहीबार, १५ साउन २०७७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले ऐतिहासिक विन्दु छुने क्रम रोकिएको छैन । मंगलबारमात्रै १ हजार ९ सय ६८ डलर प्रतिऔँसको विन्दुलाई छोएर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्यमा बुधबार केही कमी आए पनि सुनको मूल्यको ट्रेन्ड यतिबेला उन्नतोदरतिरै छ । विश्व बजारले २ हजार डलर प्रतिऔँस र नेपाली बजारले १ लाख रुपैँया प्रतितोलाको मूल्य निर्धारणलाई प्रतिक्षा गरिरहेको जस्तो देखिन्छ । तर, मूल्य यो विन्दु छोएर पनि पुरानो लयमा फर्किएला भन्ने अनुमान भने कसैले गरेका छैनन् ।

सुनको मूल्य यसरी निरन्तर रुपमा बढ्दै जानुलाई डलरप्रतिको अविश्वासको रुपमा हेरिएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर र सुन दुवैलाई लगानीको सुरक्षित क्षेत्र मानिने गरिएकोमा कोरोनाभाइरससँगै अमेरिकी अर्थतन्त्रमा देखिएको संकटका कारण डलरप्रतिको विश्वसनीयता गुम्दै गएको देखिन्छ । उता अमेरिकाको फेडेरल रिजर्भले पछिल्लो समय अत्यधिक डलर बजारमा प्रवाह बढाउँदै लैजाँदा यसले थप जोखिम सिर्जना गरेको छ । यही कारण लगानीकर्ताहरुले डलरको लगानीलाई सुनतिर सिफ्ट गर्न थालेकोले पछिल्लो अवस्था देखिएको हो । सोही कारण युरो, पाउण्ड स्टर्लिङ, युआन, येन जस्ता ठूला अर्थतन्त्र भएका मुलुकको मुद्रासँग डलरको विनिमयदर यतिबेला घट्दै गएको छ । अर्थात् १ अमेरिकी डलर किन्न तिर्नुपर्ने ती मुद्राको मात्रा घट्दै गएको छ ।

विगत एक महिनाको डलर र युरोबीचको विनिमयदर । एक डलर किन्न खर्च गर्नुपर्ने युरो पछिल्लो महिना निरन्तर घट्दै गएको देखिन्छ । चार्ट स्रोत एक्सई डटकम 

डलरप्रतिको विश्वास गुम्दै जाँदा अरु मुद्राहरु वा कमोडिटिजमा लगानी जानु स्वाभाविक नै हो । तर कोरोनाभाइरसको महामारी नियन्त्रण हुन नसकेको र जुनसुकै देशमा पनि यो संक्रमण फैलिनसक्ने भएका कारण यतिबेला अन्तराष्ट्रिय लगानीकर्ताको प्रमुख रोजाइ सुन बनेको हो । यसै पनि सुन सबै देशले स्वीकार गरेको मानक कमोडिटी पनि हो ।

त्यसो त, सुनको मूल्य बढ्न थालेको लगातार डेढ वर्ष भइसकेको छ । चीन र अमेरिकाको व्यापार युद्धदेखि नै अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास डलरप्रति कम हुँदै गएको हो । तर, बलियो जगमा निर्माण भएको अमेरिकी अर्थतन्त्रलाई सानोतिनो युद्ध वा प्रकोपले हल्लाउन सक्दैन भन्ने विश्वास सबैलाई थियो । तर कोभिड–१९ का कारण त्यो विश्वास गुम्दै गएको छ । सोही कारण डलरको माग कम र सुनको माग बढी हुँदै गएको हो ।

अहिले सुनको मूल्य बढ्नुको कारण सुनको माग बढ्नु एकातिर हुँदै हो । तर, डलर आफैमा विनिमयको माध्यम भएको कारणले पनि यसको दोहोरो असर पर्न गएको देखिन्छ । अर्थात् अरु मुद्रासँग डलरको घट्दै गएको दरका कारणले पनि यसमा असर परेको विश्लेषण गरिएको छ । सोही कारण सुनले दिनप्रतिदिन नयाँ रेकर्ड बनाइरहेको देखिएको छ ।

बजारशास्त्रमा प्रतिफललाई जोखिमबापतको पुरस्कार मानिन्छ । अर्थात्, जुन क्षेत्र लगानीको लागि बढी सुरक्षित हुन्छ त्यसमा प्रतिफल कम हुन्छ र जुन क्षेत्र बढी जोखिमपूर्ण हुन्छ, त्यसको प्रतिफल पनि बढी हुन्छ । तर, सुनले पछिल्लो समय फेरि एकपटक विश्व बजारले स्वीकार गरेको यो मान्यतालाई चुनौती दिएको छ । सबैभन्दा सुरक्षित मानिएको सुनको लगानीमा पछिल्ला २ महिनामै १५ प्रतिशत भन्दा लाभ प्राप्त भइसकेको छ । २ वर्षअघि लगानी गर्नेले यतिबेला करिब ६५ प्रतिशत नाफा कमाइसकेका छन् ।

त्यसो त, सुनको मूल्य यसरी उचालिएको पहिलो पटक भने होइन । अमेरिकी अर्थतन्त्रप्रति लगानीकर्ताको विश्वास जब धर्मराउन थाल्छ, तब सुनप्रतिको मोह बढ्ने क्रम सुरु हुन्छ । सन् २००८ देखि २०११ सम्म त्यस्तै भएको थियो । २००८ मा सुरु भएको मन्दीका कारण त्योबेला अमेरिकी अर्थतन्त्र संकटमा परेको थियो । त्यतिबेला डलर कमजोर हुँदा सुनको मूल्य प्रतिऔँस १ हजार ८ सय ५४ अमेरिकी डलरसम्म पुगेको थियो । २०१५ मा त्यो मूल्य घटेर फेरि १ हजार ७० सम्म झरेको थियो ।

नेपाली बजार किन फरक ?

नेपाली बजारमा सुनको मूल्य निर्धारण पनि अन्तर्राष्ट्रिय बजारकै आधारमा हुने भएकोले यसको प्रत्यक्ष असर पर्नु स्वभाविक नै हो । तर नेपालको कर नीतिका कारण नेपालमा सुन विश्व बजारको तुलनामा महँगो छ । बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार हुनेगरी मूल्य निर्धारण गरिएको थियो । यो प्रतिऔंस २ लाख ३९ हजार ४ सय रुपैयाँ हो । बुधबारको विनिमय दर अनुसार नेपाली बजारमा सुनको मूल्य १ हजार ९ सय ९४ डलर हो । जबकी अन्तर्राष्ट्रिय बजारमा यो १ हजार ९ सय ६२ डलर मात्रै परेको थियो ।

त्यसो त, विश्व बजारमा सुन र डलरको मूल्यको सहसम्बन्ध सधैँ नकारात्मक हुन्छ । अर्थात् सुनको मूल्य बढ्दा डलर घट्ने र डलर बढ्दा सुनको मूल्य बढ्ने हुन्छ । सुन र डलरबीचको मूल्यको ऐतिहासिक चित्रले यस्तै देखाउँछ ।

सुनको मूल्य र आधार मूल्यका आधारमा डलरको मूल्यमा देखिएको उतारचढावको सहसम्बन्ध । यसले सुन र डलरको सहसम्बन्ध नकारात्मह रहन्छ भन्ने देखाउँछ । चार्ट स्रोत : माक्रोट्रेन्डडटनेट

तर नेपालको अवस्था त्यस्तो छैन । विगत ५ वर्षदेखि सुनको मूल्य र डलर दुवै महँगो बन्दै गएको छ । ५ वर्ष अघि एक अमेरिकी डलर किन्न १०० रुपैयाँ नेपाली मुद्रा खर्च गर्नुपथ्र्यो, अहिले त्यो दर १२० रुपैयाँको हाराहारीमा छ । अर्थात् नेपाली रुपैयाँको तुलनामा डलर अवमूल्यन होइन, अधिमूल्यन भइरहेको छ । उता सोही समयमा सुनको मूल्य करिब ४८ हजार रुपैयाँबाट बढेर ९८ हजार रुपैयाँ प्रतितोला पुगेको छ ।

यस्तो के कारणले भइरहेको छ त ? जानकारहरु भारतीय मुद्राको निरन्तरको अवमूल्यनको कारणले नेपाली मुद्रामा यसको प्रत्यक्ष प्रभाव परेको बताउँछन् । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागमा लामो समयसम्म अन्तर्राष्ट्रिय आयामको अध्ययनमा संलग्न रहेका उपनिर्देशक सुशील पौडेल अमेरिकी डलरको भन्दा भारतीय मुद्राको अवमूल्यन धेरै भएका कारण नेपालीले डलर किन्न पहिलेभन्दा धेरै खर्च गर्नुपरेको बताउँछन् । अहिले भारतीय अर्थतन्त्र पनि अमेरिकी अर्थतन्त्रजस्तै नाजुक अवस्थामा छ । कोरोनाभाइरसको संक्रमण भारतमा पनि उस्तै प्रकारले फैलिएको छ । विकसित अर्थतन्त्रभन्दा विकासशील अर्थतन्त्रमा महामारीले बढी ‘हिट’ गर्ने भएकोले यसले भारतीय मुद्राको अवमूल्यन झनै बढाएको पौडेलको विश्लेषण छ ।

यसरी डलरको किन्न बढी खर्चनुपर्ने र सुनको मूल्य चाहिँ डलरको तुलनामा बढ्दै जाने भएकोले अन्तर्राष्ट्रिय बजारमा ६०÷६५ प्रतिशत कमाइ हुँदा नेपाली बजारमा सुनमा लगानी गर्नेले शत प्रतिशतभन्दा बढी मूल्य कमाएका छन् । पछिल्लो केही समय भने डलरसँगको ठूलो उतारचढाव देखिएको छैन । 

सुनको मूल्य अब के होला ?

अन्तर्राष्ट्रिय बजारमा यसअघि सुनको मूल्यले २ हजार डलर प्रतिऔँसको विन्दु छोएर फर्किनसक्ने विश्लेषण गरिएको थियो । पछिल्लो समय भने यो अझै माथि जानसक्ने अनुमान गर्न थालिएको छ । अमेरिकामा कोरोनाभाइरसको महामारी अझै कम नभएको अवस्थामा डलरप्रति लगानीकर्ताले थप जोखिम देखेका छन् । अमेरिकाले आफ्ना नागरिकलाई अर्को स्टिमुलस प्याकेज ल्यायो र बजारमा थप डलर प्रवाह गर्न थाल्यो भने यसले थप जोखिम निम्त्याउने विश्लेषण गर्न थालिएको छ । पछिल्लो अनुमान यही अवस्थाको परिणति हो ।

नेपालमा लकडाउन अघि ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ४ महिनापछि एकैपटक १० हजार २ सय रुपैयाँले बढेर ८७ हजार ४ सय रुपैयाँमा कारोबार भयो । त्यसपछि पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । डेढ महिनाको अवधिमा थप ११ हजार रुपैयाँको मूल्यवृद्धि भइसकेको छ । अन्तर्राष्ट्रिय बजारजस्तै नेपालमा पनि सुनको मूल्य एक लाख रुपैयाँभन्दा धेरै माथिसम्म पुग्ने अनुमान गर्न थालिएको छ ।

सुनको मूल्यमा एकदिनमै ठूलो परिवर्तन आउन थालेपछि यतिबेला नेपालमा पनि सुनको मूल्य निर्धारण एक पटकभन्दा बढी गर्नुपर्ने कुरा उठ्न थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको छलफलमा नेपाल रत्न तथा आभूषण महासंघले सुनको मूल्य निर्धारणलाई व्यवस्थित बनाउन र दिनमा एक पटकभन्दा बढी मूल्य निर्धारण गर्नुपर्ने सुझाव दिएको संघकी अध्यक्ष ज्योत्स्ना श्रेष्ठले बताइन् । संघले बिहानको १० बजे र दिउँसोको २ बजेसमेत गरी दिनको २ पटक मूल्य निर्धारण गर्न सुझाव दिएको उनको भनाइ छ ।

अहिले नेपाल सुनचाँदी व्यवसायी महासंघले गरेको मूल्य निर्धारणलाई आधिकारिक मानिँदै आएको छ । महासंघले बिहान १० बजेको अन्तर्राष्ट्रिय कारोबार मूल्यका आधारमा नेपालको लागि मूल्य निर्धारण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप