केन्द्रीय संस्करण

बाढीपहिरो नियन्त्रण गर्न वातावरणमैत्री विकास

person explore access_timeसाउन १५, २०७७ chat_bubble_outline0

सामान्यतः नेपालमा जेठ अन्तिमदेखि मनसुन सुरु हुन्छ र असारको मध्यदेखि पूर्ण रूपमा सक्रिय हुन्छ । जेठ अन्तिमदेखि असोजसम्म मनसुन रहन्छ । कुल वर्षातको ८० प्रतिशत यही समयमा हुन्छ । तराईको समथर भूभागदेखि ८८४८ मि अग्लो स्थान समेट्ने भौगोलिक वनावटले गर्दा वर्षातको मात्रा स्थानअनुसार करिब ५०० मिमिदेखि ५००० मिमि वर्षात हुने गरेको छ । मनसुन सुरु भएपछि हरियाली बढेर वातावरण सफा देखिन्छ ।

जलवायु परिवर्तन भन्नाले सामान्य मौसम भन्दा फरक प्रकारको मौसम देखिनु हो । जलवायु परिवर्तनको असर विश्वले खपिरहेको छ । अत्यधिक तापक्रम बढ्नु वा घट्नु, खडेरी, अतिवृष्टि, अनावृष्टि, खण्ड वृष्टि आदि जलवायु परिवर्तका असर हुन् । जसको प्रत्यक्ष असर वातावरण र मानव सभ्यतामा पर्दछ । औसतभन्दा बढी पानि पर्नुलाई अतिवृष्टि भनिन्छ । अतिवृष्टिले बाढी पहिरोको जोखिम बढाउँछ । बाढी पहिरोबाट अति जोखिमपूर्ण राष्ट्रको सूचीमा नेपाल ३०औँ स्थानमा छ ।

अत्यधिक मुसलधारे वर्षाले जलाधारमा पानीको बहाव बढाउँछ । नदीमा जलस्तर बढ्न थालेसँगै नदी छेउछाउका भूभागमा कटानी सुरु हुन्छ र भूक्षय निमत्याउँछ । मुसलधारे वर्षासँगै आउने हिलो, लेदो, नदीमा फालिएको फोहोर र थोत्रा सामान नदी गहिराइ र तटीय क्षेत्रमा थिग्रिएर बस्छ । उक्त प्रक्रियालाई सिल्टेसन भनिन्छ । यस्तो प्रक्रियाले नदीमा पानी जम्मा हुने र पानी हिँड्ने बाटो बन्द भई नदी तटीय क्षेत्रभित्र प्रवेश गर्दछ । वर्षातको मौसममा पहाडी भूभागबाट बग्ने ससाना खोलाले सडक, माटो, बालुवा बगाई किनारा कटान गर्दछ । अविरल वर्षा, हिम ताल विस्फोट, पहिरो आदिका कारण बाढी आउनु प्राकृतिक कारण हो । ढल, ढुङ्गा, रुख मिसिएर नदी ब्लक भई नदी वरिपरिको समथर खेतीपातीयोग्य भूमिमा नदी पस्न गई डुबानको समस्या निमत्याउँछ । विभिन्न जलविद्युत् आयोजन, सिँचाइ तथा खानेपानीको निम्ति निर्माण गरिएको ड्यामले जलस्तर बढ्दा डुबानको समस्या निमत्याउँछन् सक्छ । विशेषगरी तराई भाग डुबानको समस्या पर्नेगरेको छ । यसको मुख्य कारण भारतले बनाएको तठबन्ध नै हो । नदी क्षेत्रमा हुने उत्खनन्, नदी बाराबरको समथर भूभागले गर्दा तराईमा बाढीको अर्को कारण हो । नदी उत्खनन गरी राखिएको बालुवा, गिट्टीले नदी छेकी बाढी निमत्याएको छ । विशेष गरी सहर क्षेत्रमा बाढी आउनुको कारण खोला मिचेर बनाइएको संरचना, माटोमा सिमेन्ट मिसिएर माटो नछिर्नु, पानीको उचित निकास नहुनु, अत्यधिक खोला अतिक्रमण, खोलामा मिसाइने ढल तथा फोहोर आदि हुन ।

पहिरो भन्नाले ठूलो मात्रामा जमिनसँगै चट्टान, रूख बिरुवा बग्ने भूगर्भिक प्रक्रिया हो । पहिरोले भूक्षय साथै ठूलो मात्रामा धनजनको क्षति गराउँछ । अति नै भिरालो जमिन, अस्थिर जमिन, कमजोर भौगोलिक बनावट नेपालमा पहिरो खस्नुका कारण हुन । भिरालो जमिनमा अनउपयुक्त खेती, जथाभावी वनजङ्गल फडानी, खानी उत्खनन्, सडक पहिरो निमत्याउने कृत्रिम कारण हुन् । अत्यधिक वर्षाले गर्दा कमजोर भौगोलिक संरचना खस्ने गरेको पाइन्छ ।

बाढी पहिरो प्रकृतिक रूपमा परापूर्वकालदेखि नै चलिआएको प्रक्रिया हो । तर अहिलेको दशकमा तुलनात्मक रूपमा बाढी पहिरोको घटना बढेको पाइन्छ । कुल क्षेत्रफलको ८६ प्रतिशत भूभाग हिमाल र पहाडी क्षेत्रमा पर्ने भएको जोखिम बढी छ । नेपाल डिजास्टर रिपोर्ट, २०१९ र गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार पछिल्लो ५ दशकमा नेपालमा बाढी र पहिरोको घटनामा परी ९ हजार ९ सय ५६ जनाको ज्यान गएको छ । तथ्याङ्कअनुसार, प्रतिवर्ष औसत २ सय  नेपालीको बाढी पहिरोबाट ज्यान गएको छ । पछिल्लो ५० वर्षमा ३ सय १७ जना बेपत्ता र २ हजार ८ सय १ जना घाइते भएको तथ्याङ्क छ । बाढी पहिरोको घटनाबाट बितेको ५० वर्षमा ४३ घरपरिवार विस्थापित भएको  गृह मन्त्रालयको तथ्याङले जनाउँछ । पछिल्लो ९ बर्षमा बाढी पहिरोको कारण राज्यले करिब १७ अर्बको नोक्सानी बेहार्नुपरेका तथ्याङ्कले छ ।

यस प्रकारको विपत्ति हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको अभिशाप हो, जसले गरिबी, भोेकमरी जस्ता  दीर्घकालीन समस्या निमत्याउँछ । यस प्रकारको विपत्ति न्यूनीकरण गरी धनजनको सुरक्षा गर्नु जरुरी छ ।

आपm्नो वरपर रहेको नदी तथा खोलाको अनुगमन गरिराख्ने र कटानी रोक्न बास जस्ता बलिया रुख लगाउनपर्छ । यदि कटानी बढी भएमा मेसिनरी वाल लगाएर सम्भावित जोखिम न्यूनीकरण गर्न सकिन्छ । वृक्षरोपण, नादी कटानी, ग्याभिन वालको प्रयोगले सम्भावित जोखिम कम गर्न सकिन्छ । बाढी पहिरो प्रकोप क्षेत्र आकलन एवं नक्साङ्कन गरी सूचना प्रवाह गर्नुपर्दछ । जोखिम युक्त क्षेत्रलाई जोखिम स्तरको आधारको वर्गीकरण गर्नुपर्दछ । उच्च जोखिममा रहेको क्षेत्रमा बसोवासमा रोक लगाई संरक्षणको कदम चाल्नु पर्दछ । मध्यम र कम जोखिम भएका ठाउँमा आवश्कता अनुसार इन्जिनियरिङको प्रयोग  नियन्त्रण गर्न जरुरी छ । धेरै नै भिरालो जमिनमा वैकल्पिक खेती, कृषि वनको अवधारणा गरेर जोखिम कम गर्न सकिन्छ । खोलाको गहिराइ पुर्ने प्रत्येक चिज बेलाबेलामा झिकिरहनुपर्दछ । मौसम पूर्वअनुमान र प्रचारको प्रभावकारिता बढाउनु पर्छ । यसको निम्ति सरोकारणवाला सबैले आफ्नो ठाउँबाट पहल गर्न जरुरी छ ।  

अहिलेको दशकमा बाढी पहिरोको घटना बढेका छन् । वर्षा ऋतु सुरु भएसँगै बजेट सक्न गरिने विकास, जथाभावी हचुवामा खनिने सडक, वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत नदी, खोला तथा खानी उत्खनन् हालको बाढी पहिरो मुख्य कारण हुन् । विकास नै विनाश बन्दै छ । सडक नै विकास हो भनेर जथाभावी सडक निर्माण गर्नाले सडक बाढी पहिरोको हट स्पट बन्दै छ । अब निर्माण गरिने सडकमा सरकारले निश्चित मापडण्ड बनाउनु जरुरी छ । वातावरणीय प्रभाव मूल्याङ्कन, विस्तृत इन्जिनियरिङ डिजाइन, स्थानीय उत्पादनमा गर्न सक्ने योगदान, सडकको विकल्पमा कृषि, वन, खानेपानी, सञ्चार र सिँचाइमा लगानी गर्दा हुने फाइदा र नोक्सानीको मूल्याङ्न गरेर मात्र सडक निर्माण गर्ने नीति, नियम ल्याउनु जरुरी छ । यस्तो प्रकारको नियमले पर्यावरण जोगाई बाढी पहिरो जोखिम कम गर्दछ । विकास मापन उत्पादन, आय, रोजगारी, स्वास्थ्य सुविधा, सञ्चार जस्ता धेरै विषयबाट निर्धारण हुने हुन् ।

वातावरण मैत्री विकासले मात्र  बाढी पहिरो न्यूनीकरण गर्न सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.