बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय सदस्यहरुको पत्र किन बुझ्न मानेनन् नेकपाका शीर्ष नेताहरुले ?

बुधबार, १४ साउन २०७७, १९ : ४२
बुधबार, १४ साउन २०७७

काठमाडौंं । केन्द्रीय कमिटीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले आज पार्टी कार्यालयमा पत्र बुझाएका छन् ।  त्यो पत्र उनीहरुले अध्यक्षद्वयलाई नै बुझाउन खोजेका थिए तर उनीहरुले पत्र बुझ्न आनाकानी गरेपछि महासचिव विष्णु पौडेलसमक्ष प्रस्ताव गरे । महासचिव पौडेलले धुम्बाराही पार्टी कार्यालयमा आउनुस् पत्र त्यही बुझौंला भनेका थिए तर अन्तिममा उनी पनि पार्टी कार्यालय आइदिएनन् ।

हुन त हिजो नै केन्द्रीय सदस्यहरुले स्थायी कमिटीको बैठकमा पत्र बुझाउने तयारी गरेका थिए । बैठकमा अध्यक्षद्धय भएको बेला त्यही गएर पत्र बुझाउने उनीहरुले तयारी गरेपनि हिजोको बैठक सहज रुपमा नबसेकोले तत्काल केन्द्रीय समितिको बैठक माग गरिएको उक्त पत्र लिएर उनीहरु बालुवाटार गएनन् । त्यसपछि अध्यक्षद्वयलाई नै बुझाउने तयारीमा उनीहरु जुटे तर नेताहरुले  एक्लाएक्लै बुझ्न नमानेपछि विजयकुमार पौडेलले महासचिव पौडेलसँग कुराकानी गरेका थिए । तर उनी पनि पार्टी कार्यालय आइदिएनन् ।

महासचिव नआएपछि उनीहरुले पार्टी कार्यालयका सचिव श्रीराम ढकाललाई पत्र बुझाएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताइन् । शीर्ष नेताहरुले पत्र बुझ्न किन नमानेको भन्ने जिज्ञासामा उनले ‘भारी बोक्न डराएका होलान् सायद, त्यही भएर पत्र नबुझेको हुनसक्छ’ उनले टिप्पणी गरिन् ।

पार्टीको आन्तरिक विवादका कारण पार्टी दुई गुटमा विभाजित भइसकेको छ । पार्टीभित्र एउटा प्रचण्ड–माधव नेपालको गुट छ भने अर्को केपी शर्माओलीको गुट रहेको छ । प्रचण्ड–माधव गुटले प्रधानमन्त्री अ‍ोलीको राजीनामा माग गरेको छ भने ओली गुट कुनै पनि हालतमा राजीनामा दिने पक्षमा छैन ।

यही विवादका करण एक महिनादेखि स्थायी कमिटीको बैठक प्रभावित भएको छ । दुई अध्यक्षको बीचमा कुरा नमिलेका कारण स्थायी कमिटीको बैठक बस्न सकिरहेको छैन । हिजो प्रधानमन्त्री अ‍ोलीले एकतर्फी रुपमा बैठक स्थगित गरेपछि अध्यक्ष प्रचण्डले एकतर्फी रुपमा बैठक बसाएका थिए । बैठकले प्रधानमन्त्री ओलीसँग संवाद गरी सहमतिमा पुग्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । 

स्थायी कमिटीको बैठक नचाहने प्रधानमन्त्री अ‍ोलीले केन्द्रीय कमिटीको बैठक बसाउने पत्र कसरी बुझ्ने ? बुझेपछि बैठक बसाउनैपर्छ भनेर उनले पत्र बुझ्न नमानेको स्रोतले जनाएको छ । यता, प्रचण्डले त्यो पत्र बुझेको भए गलत सन्देश जाने भएकाले नबुझेको उनी निकट नेताहरु बताउँछन् । 

अहिले केन्द्रीय समितिको बैठक माग गर्ने अधिकांश नेताहरु प्रचण्ड-माधव पक्षका रहेका छन् । पत्र बुझिदिए प्रचण्डहरुले पत्र बुझाउन लागेको आरोप लाग्न सक्ने डरले प्रचण्डले सो पत्र नबुझेको उनी निकटका नेता बताउँछन् । दुई अध्यक्षबाट संयुक्त रुपमा पत्र बुझेको भए त्यसका लागि प्रचण्ड तयार थिए ।

अहिले बस्दै आइरहेको स्थायी कमिटीको बैठक पनि लिखित रुपमा माग गरिएअनुसार बसेको हो । स्थायी कमिटीको बैठक बसाउनका लागि पटक–पटक प्रयास भइरहे पनि बस्न सकेको थिएन । त्यसपछि केही स्थायी कमिटी सदस्यहरुले पनि हस्ताक्षर गरेर पार्टीमा बुझाएपछि बैठक बसेको हो । जुन अहिले पार्टी अध्यक्षहरुको लागि घाँडो भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप