शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा यसरी गरियो मोबाइल भ्यानबाट कर्मचारीको कोरोना परीक्षण (भिडियो)

बुधबार, १४ साउन २०७७, १९ : २९
बुधबार, १४ साउन २०७७

काठमाडौं । बुधबार दिउँसो सिंहदबारको पुरानो संसद भवन अगाडिको खुला भागमा कर्मचारीहरु लाइन लागेर बसेका थिए । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) र नाष्टले तयार पारेको मोबाइल भ्यानभित्र स्वाव संकलनका लागि ३ जना स्वास्थ्यकर्मी थिए । अरु बेलाजस्तो स्वाव संकलनका लागि उनीहरुले पिपिइ लगाएका थिएनन् ।

मोबाइल भ्यानमा सिसाको ३ वटा च्याम्बरमा उनीहरु बसेका थिए । सिसाको च्याम्बरमा दुई हात छिराउने लामो पञ्जा जोडिएको थियो । सिसाभित्र बसेर बाहिर रहेका कर्मचारीको उनीहरुले सुरक्षित विधिबाट स्वाव संकलन गरिरहेका थिए ।  सिसिएमसी र नाष्टका प्राविधिक मिलेर गाडीबाट सुरक्षित रुपमा स्वाव संकलन गर्ने पद्धतिको पहिलोपटक परीक्षण गरिएको थियो ।

यसरी सिंहदरबारमा रहेका कर्मचारीमध्ये अग्रस्थानमा रहेर काम गर्ने ५ सय बढी कर्मचारीको पिसिआर विधिबाट स्वाव संकलन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्निसियन धनप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।

सुरक्षित तरिकाबाट छिटो स्वाव संकलन गर्न सकिने र देशको जहाँसुकै पुगेर सजिलै स्वाव संकलन गर्ने भ्यानको पहिलोपटक प्रयोग गरेको उनले बताए । मोबाइल भ्यानमार्फत सिंहदरबार भित्र रहेका सुरक्षाकर्मी, विभिन्न मन्त्रालयका कर्मचारी, रेडियो नेपाल तथा नेपाल टेलिभिजनका कर्मचारी तथा पत्रकारको स्वाव लिइएको छ । 

यस्तो छ स्वाव संकलन गर्ने मोबाइल भ्यान
नाष्टका इन्जिनियर शंकर ढकाल तथा सिसिएमसीका प्रतिनिधि मिलेर तयार पारिएको मोबाइल भ्यानमा सिसाको ३ वटा च्याम्बर बनाइएको छ । जसमा स्वाव संकलन गर्ने र दिने व्यक्तिको विच प्रत्यक्ष सम्पर्क हुँदैन । सिसामा जोडिएको पञ्जामा हात राखेर बाहिर भएको ब्यक्तिबाट सिसाभित्रबाटै स्वाव संकलन गर्न सकिन्छ । यो भ्यानमा बसेर स्वाव संकलन गर्ने स्वास्थ्यकर्मीले पिपिई लगाउनु पर्दैन, पिपिई लगाउने र अर्को फेर्ने झन्झट हुँदैन ।

साथै मोबाइल भ्यानमा चारैतिर स्यानिटाइजर स्प्रे गर्ने नोजल जडान गरिएको छ, जसले भ्यान वरपरको भागमा स्प्रे गरेर स्यानिटाइजेशन गर्न सक्छ । यसप्रकारको भ्यान महानगरपालिकाहरुले पनि कम खर्चमा तयार पारेर धेरैभन्दा धेरैको स्वाव संकलन गर्न मद्धत पुग्ने पौडेलले बताए । 
हेर्नुहोस् भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप