बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलको अनलाइन कक्षाका लागि यस्तो छ अफर

बुधबार, १४ साउन २०७७, १८ : ५१
बुधबार, १४ साउन २०७७

काठमाडौं । एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले यस समझदारीअन्तर्गत विशेष मासिक योजना प्रदान गर्दछ । यो योजनामा भ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा लिन सकिन्छ । 

यस विषेश योजनाअन्तर्गत विद्यार्थीले मासिक रु २५० (करबाहेक) मा अनलाइन कक्षाका लागिआवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टक टाइम, ५० मिनेट अन नेट टक टाइम र ५० अन नेट एसएमएस सेवा पाउँछन् । यसैगरी मासिक रु ३५० (करबाहेक) को योजना पनि उपलब्ध छ । 

समझदारी पछि एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “यस कोभिड–१९ को महामारीले ठूलो चुनौती सिर्जना गर्नुका साथै कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको ‘न्यु नर्मल’सँग अभ्यस्त हुन अवसर पनि प्रदान गरेको छ । विद्यार्थीहरू भविष्यका कर्णधार हुन् । उनीहरूको अनलाइन शिक्षामा योगदान पुर्याउनका लागि हिसानसँग यो सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं ।”

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरू उत्साहित भएको बताए । “विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पारेको छ र पुरानै शैलीमा कहिलेदेखि कक्षाहरु सुचारु हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था छैन,”उनले भने, “भर्चुअल कक्षाका लागि कनेन्टिभिटी सुनिश्चित गर्ने एनसेलसँगको यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका तथा विद्यालयसँगै पूरै शिक्षा क्षेत्रमा ठूलो महत्व राख्छ र यस सहकार्यलाई लिएर हामी निकै खुशी छौं ।”

यस सहकार्यअनुसार हिसानको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो सेवालिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप