कर्णाली नदीमा पानीको बहाव खतरा नजिक
कैलाली । गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा नजीक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताए । यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ ।
पानीको बहाव खतरा नजीक पुगेपछि बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्रको समुदायलाई सतर्क रहन सूचना दिइएको बोगटीले जानकारी दिए । कर्णाली नदीमा आएको बाढीले बर्दियाको नदी तटीय क्षेत्रका साथै कैलालीको दक्षिण पूर्वी क्षेत्र डुबान र कटानको जोखिममा परेको छ । कर्णाली नदीबाट कैलालीतर्फ आउने विभिन्न कुला तथा खोलामा पनि बहाव बढेको छ ।
उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णालीमा उर्लिएर आउने बाढीका कारण पश्चिमबाट पूर्वतर्फ सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीको पानीको बहाव रोकिन गई जिल्लाको दक्षिणी सीमावर्ती गाउँ डुबान र कटानको जोखिममा पर्ने गरेका हुन् । नदीको बाढीले कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकाका कतिपय वडाका गाउँबस्ती डुबानमा परेका सशस्त्र प्रहरी बल नं ३४ गणका प्रहरी उपरीक्षक कमल तिम्सिनाले बताए ।
“वषासँगै नदीमा बढेको पानीको बहाव गाउँबस्तीमा पसेपछि जिल्लाको दक्षिणी क्षेत्र र दक्षिणपूर्वी क्षेत्रका झण्डै एक हजार ५०० घर डुबानमा परेको जानकारी आएको छ”, उनले भने, “डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने कामका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।”
भजनी नगरपालिका वडा नं ३, ५ र ८, जानकी गाउँपालिका वडा नं १, २, ३, ४ र ७, टीकापुर नगरपालिका–२ विजयनगर र मिलनपुर, जोशीपुर गाउँपालिकाको अमरैया र पथरैयालगायत गाउँ डुबानमा परेका छन् ।
उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा समेत पानीको बहाव बढेको छ । अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिका कतिपय बस्ती र सडक जलमग्न हुँदा आवागमनमा असहज बनेको छ । वर्षाका कारण कैलालीको दक्षिणी क्षेत्रका अधिकांश भूभाग जलमग्न भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन
-
काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम
-
मन्त्रिपरिषद् पुनर्गठन गर्दा यस्तो बन्यो शालिकरामको टिम (सूचीसहित)
-
एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ
-
मधेस प्रदेशमा जसपा र लोसपाबिच कस्तो छ सम्बन्ध ?
-
हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ : ओली