बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आर्थरद्वारा बार्सिलोनाका लागि खेल्न अस्वीकार

बुधबार, १४ साउन २०७७, १२ : ४४
बुधबार, १४ साउन २०७७

बार्सिलोनाका मिडफिल्डर आर्थरले क्लबलाई आफू क्लबका लागि फेरि खेल्न नसक्ने जानकारी गराउँदै ब्राजिलबाट स्पेन फर्कन अस्वीकार गरेका छन् ।

ब्राजिलका खेलाडीले आगामी सिजनबाट युभेन्टसका लागि खेल्ने तय भइसकेको छ । बार्सा र युभेबीच ७.२ करोड युरोमा थप १ करोड युरो बोनससहित गत जुनमा आर्थरको स्थानान्तरणको सम्झौता भएको थियो । यद्यपि, आर्थरको बार्सिलोनासँगको सम्झौता च्याम्पियन्स लिग प्रतियोगिता नसकेसम्म रहेको छ ।

ला लिगा सकिएपछि प्रशिक्षक क्वीके सेटिनले आफ्ना खेलाडीहरुलाई केही समय ब्रेक दिएका थिए । २३ वर्षीय खेलाडीले यसको फाइदा उठाउँदै आफ्नो घर फर्किएका थिए ।

यो हप्ता उनी स्पेन फर्किएर कोभिड–१९ को परीक्षण गरेर अगस्त ८ मा हुने च्याम्पियन्स लिगको अन्तिम १६ मा नापोलीविरुद्धको खेलका लागि प्रशिक्षण शुरु गर्नुपर्ने थियो । तर, उनले क्लबलाई आफू नफर्कने जानकारी दिएका छन् ।

बार्सिलोनाले आर्थरलाई जरिवाना तिराउने चेतावनी दिए पनि उनी सेटिनको टोलीबाट प्रतिनिधित्व नगर्नेमा अडिग रहेका छन् ।

आर्थर सन् २०१८ मा ४ करोड युरोमा ग्रेमियोबाट बार्सा आइपुगेका हुन् । उनले टोलीका लागि ७२ खेल खेलेका छन् । यो सिजन चोटका कारण उनको खेल समय कम भएको थियो । उनले अन्तिम पटक जुनमा सेल्टा भिगो विरुद्धको खेलमा ४ मिनेटका लागि मैदान प्रवेश गरेका थिए । त्यसको दुई दिनपछि नै बार्सिलोना र युभेबीच सम्झौता भएको थियो ।

आर्थरको अनुपस्थितिले प्रशिक्षक सेटिनमाथि थप दबाब सिर्जना भएको छ । किनभने सर्जियो बुस्केट र अर्टुरो भिडाल पहिले नै कार्डका कारण यो खेल खेल्न पाउनेछैनन् ।

स्रोत : गोल डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप