शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको डढेलोमा ३ अर्ब जनावरको ज्यान गुम्यो

बुधबार, १४ साउन २०७७, ०६ : ४६
बुधबार, १४ साउन २०७७

अष्ट्रेलियाको जंगलमा लागेको डढेलोमा करिब तीन अर्ब जनावरमध्ये कति जले भने कति त्यहाँबाट भाग्नुपरेको वैज्ञानिकले जानकारी दिएका छन् ।

वर्ल्डवाइड फन्ड फर नेचर (डब्ल्यूडब्ल्यूएफ) ले यसमाथि एक आयोग गठन गरेको थियो जसले आफ्नो रिपोर्टमा गत वर्ष अष्ट्रेलियाको जंगलको आगलागी वन्य जीवनका लागि आधुनिक इतिहासको सबैभन्दा खतरनाक त्रासदी भएको बताएको छ ।

गत वर्षको गर्मीमा आगोका ठूल्ठूला लप्काले अष्ट्रेलियाको सबै राज्यमा विध्वंस मच्चायो । जंगललाई खरानी बनायो र कम्तीमा ३३ जना व्यक्तिको ज्यान पनि गयो ।

स्तनधारी जनावर, किरा फट्याङ्ग्रा, सर्प, घस्रने जनावर, पंक्षी भ्यागुता कि त डढे कि आफ्नो प्राकृतिक वासस्थान नष्ट भएका कारण मरे ।

जनवरीमा डढेलो आफ्नो चरमसीमामा थियो । त्यतिबेला वैज्ञानिकले न्यू साउथ वेल्स र भिक्टोरियामा मात्रै करिब एक अर्ब २४ करोड जनावर मारिएको अनुमान लगाएका थिए ।

तर अब जुन नयाँ आँकडा सार्वजनिक भएको छ, त्यसअनुसार करिब ११.४६ लाख हेक्टर क्षेत्रमा (पूरा बेलायत जत्तिको) सेप्टेम्बर (२०१९) देखि फेब्रुअरी (२०२०) का बीच भयानक आगलागी भएको थियो ।

डढेलोको प्रभाव कस्तो रह्यो ?

अष्ट्रेलियाको युनिभर्सिटीका १० वैज्ञानिक समावेश यो प्रोजेक्टका प्रमुख प्राध्यापक क्रिस डिकम्यानले भने, ‘करिब तीन अर्ब जनावर आगोको शिकार भएको छन् । यो असाध्यै ठूलो संख्या हो । यसको अनुमान गर्न पनि मुश्किल छ ।’

उनले आफूले मारिएका जनावरको सही संख्या बताउन नसक्ने पनि बताएका छन् किनभने उनका अनुसार खाना र बासस्थानको कमीका कारण जनावर आगोबाट बचेर कतै भाग्न सफल भएको र सुरक्षित भएको हुनसक्ने सम्भावना निकै कम छ ।

उनका अनुसार यो आँकडा डढेलो लाग्नु अघि जनावरको संख्या र उनीहरुको घनत्वको आधारमा तयार गरिएको हो ।

यी आँकडामा केही सीमा पनि छन् किनभने यसमा मेरुदण्ड नभएका जनावर, माछा र कछुवालाई समावेश गरिएको थिएन ।

फेब्रुअरीमा आगलागीका बेला अष्ट्रेलियाको सरकारले ११३ त्यस्ता जनवार समूहको पहिचान गरेको थियो जसलाई तत्काल मद्दतको आवश्यकता थियो ।

उक्त सूचीमध्ये लगभग सबै जनावरमध्ये कम्थीमा ३० प्रतिशत यस्ता थिए जसले आफ्नो प्राकृतिक बासस्थान गुमाएका थिए ।

सरकारले वन्य जीवन र प्राकृतिक आवासको पुनर्बहालीका लागि तीन करोड ५० लाख अमेरिकी डलरको घोषणा गरेको छ । तर वातावरणविद्का अनुसार सरकारले आफ्नो प्राकृतिक संरक्षण कानूलाई थप बलियो बनाउन आवश्यक छ ।

अष्ट्रेलियाले डढेलो र त्यसबाट भएको क्षतीको अध्ययनका लागि एउटा अनुसन्धान आयोग गठन गरेको छ जसले अक्टोबरमा आफ्नो रिपोर्ट दिनेछ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप