शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘फ्रन्टलाइन’ मा खटिने सुरक्षाकर्मी कोरोनाको जोखिममा : ३७८ जना संक्रमित

प्रहरी मुख्यालयमा नै २७ जना संक्रमित, जोखिम भत्ता अझै अन्योलमा
मङ्गलबार, १३ साउन २०७७, १६ : १६
मङ्गलबार, १३ साउन २०७७

काठमाडौँ । स्याङ्जाको पुतलीबजारस्थित जिल्लाको ठूलो एरियामा शान्तिसुरक्षा र अपराध नियन्त्रण गर्ने जिम्मेवारी लिएको जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ । स्याङ्जाका एसपीसहित २१ जनालाई कोरोना देखिएपछि त्यहाँ कार्यरत प्रहरी बाहिर निस्कन पाएका छैनन् । जिल्लाका प्रहरी १४ दिन क्वारेन्टाइनमा बस्दा त्यहाँको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा असर पर्छ ।

स्याङ्जमा मात्र हैन, पछिल्लो समय कोरोना संक्रमण रोकथाम गर्न ‘फ्रन्टलाइन’मा खटिने सुरक्षाकर्मीमा संक्रमणको दर बढ्न थालेको छ । लकडाउन खुलेपछि संक्रमित सुरक्षाकर्मीको संख्या बढ्न थालेपछि तीनवटै सुरक्षा निकायले कार्यक्षेत्रमा उच्च सर्तकता अपनाउन निर्देशन दिएका छन् । विज्ञहरुले पनि व्यारेक र फिल्डमा उच्च सतकर्ता अपनाउनु पर्ने बताउँदै आएका छन् ।

सर्तकता अपनाउँदा अपनाउँदै पनि कोरोना भाइरस संक्रमण देखिएको बताउँछन्, सशस्त्र प्रहरीका प्रवक्ता (डीआइजी) राजु अर्याल । अर्याल भन्छन्, ‘सामूहिक ब्यारेकमा बस्नुपर्छ, एउटालाई लाग्यो भने सबैलाई सर्ने खतरा हुन्छ ।’

हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३७८ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । तीमध्ये, २३५ जना उपचारपछि कार्यक्षेत्रमा फर्किसकेका छन् । १४३ जना सुरक्षाकर्मी आइसोलेशनमा छन् ।

पूर्वडीआइजी हेमन्त मल्ल ठकुरी सावधानी अपनाउन नसके सुरक्षाकर्मीमा संक्रमणको दर अझै बढ्नसक्ने बताउँछन् । ‘अब फिल्डमा थोरै प्रहरी डिप्लोय गर्नुपर्छ, ब्यारेकमा संक्रमण फैलने फिल्डबाट हो,’ मल्ल भन्छन्–‘तल्लो तहसम्म संक्रमणको जोखिमबाट बच्न सचेतना फैलाउन पनि त्यतिकै जरुरी छ, अन्यथा अवस्था भयावह हुनसक्छ ।’

२०७ प्रहरी संक्रमित

आइतबार र सोमबार मात्रै ४० भन्दा बढी प्रहरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो दुई दिनमा प्रदेश–१ प्रहरी कार्यालय र जिप्रका स्याङ्जामा कार्यरत सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । २० जनामा संक्रमण देखिएपछि प्रदेश–१ प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी क्वारेन्टाइनमा छन् ।

नेपाल प्रहरीका २०७ जनालाई कोरोना देखिएको प्रहरी प्रवक्ता निरज शाहीले जानकारी दिए । शाहीका अनुसार ९९ जना प्रहरी निको भर कार्यक्षेत्रमा फर्किएका छन् भने ८३ जना प्रहरी आइसोलेशनमा छन् ।

‘संक्रमित प्रहरी ब्यारेकको आइसोलेशनमा छन्, अन्य प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको छ,’ प्रहरी प्रवक्ता शाहीले भने, ‘लकडाउन खुलेसँगै समुदाय स्तरमा संक्रमण बढेकाले सुरक्षाकर्मीमा पनि संक्रमण बढ्दै गएको छ ।’

भीड नियन्त्रण र आरोपी पक्राउ गर्ने काममा खटिएका प्रहरीमा संक्रमण बढ्दैछ । मुद्दा शाखामा कार्यरत प्रहरीलाई पनि संक्रमण हुन थालेको छ, जो थुनुवाको कन्ट्याक्टमा हुन्छन् ।

गत आइतबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा चारजनालाई कोरोना देखिएपछि त्यहाँ सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । उपत्यका बाहिर गएर फर्केका एकजना प्रहरी हवल्दारले सावधानी नअपनाउँदा हेडक्र्वाटरमा संक्रमण फैलिएको बताइएको छ । त्यस्तै, मंगलबार प्रहरी प्रधान कार्यालयमा कार्यालयमा कार्यरत २३ जनालाई कारोना संक्रमण देखिएसँगै संक्रमितको संख्या २७ पुगेको छ ।

‘प्रहरी प्रधान कार्यालयले कोरोनाको जोखिमबाट कसरी जोगिने भन्नेबारे शिक्षा दिनुपर्छ,’ पूर्वडीआईजी मल्ल भन्छन्, ‘लापरवाही देखिएको छ, नियन्त्रण गर्नुपर्छ ।’

कुन प्रदेशमा कति ?

–१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर – २७

–२ नम्बर प्रदेश प्रहरी कार्यालय, धनुषा – ३४

– बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा – ६३

– गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा – २९

–५ नम्बर प्रदेश प्रहरी कार्यालय, दाङ – १५

–कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत – २७

–सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायल – १२

(जसमध्ये ९९ जना निको भएर घर फर्किसकेका छन् । बाँकी १०६ जनाको उपचार भइरहेको छ ।)

सेनाका ७१ जनाले कोरोनालाई जिते

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाका ७९ जनामा कोरोनासंक्रमण देखिएको छ । जसमध्ये ७१ जना निको भएर कार्यक्षेत्र फर्किएका छन् भने ८ जना अस्पतालको आइसोलेशनमा छन् । ‘काठमाडौँ उपत्यकामा तीन जनालाई संक्रमण देखिएको छ,’ सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले भने, ‘दुईजना एपीएफ अस्पताल र  एकजनाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।’

संक्रमितमध्ये धेरैजसो क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका सैनिक छन् । संक्रमण रोक्न सेनाले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देश गरेको छ ।

९२ जना सशस्त्र प्रहरीमा कोरोना

सशस्त्र प्रहरी मुख्यालयका अनुसार ९२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ । जसमा ६५ जना निको भएर कार्यक्षेत्र फर्केका छन् । २७ जनाको उपचार भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । संक्रमितमध्ये धेरैजसो भारतसँगको सीमा क्षेत्रमा खटिएका प्रहरी रहेको सशस्त्रका प्रवक्ता डीआईजी अर्याल बताउँछन् । गत सातामात्र झापामा २० जना सशस्त्र प्रहरीमा संक्रमण देखिएको थियो ।

अन्योलमा जोखिम भत्ता

मन्त्रिपरिषद्ले निर्णय गरेर कोरोना जोखिम नियन्त्रणमा खटिने सुरक्षाकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर, निर्णय गरेको चार महिना पुरा हुँदा पनि भत्ता नपाएको सुरक्षाकर्मीहरुको गुनासो छ ।

कोरोना संक्रमणबाट बच्न सरकारले ०७६ चैत ११ मा लकडाउन घोषणा गरेका थियो । ०७७ साउन ८ मा लकडाउन अत्य भयो । तर, सरकारले तोकेको भत्ता फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीले पाएका छैनन् ।

अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा भत्ता वितरण हुन नसकेको बताइएको छ । सुरक्षाकर्मीलाई जोखिम भत्ता दिँदा एक महिनामै करिब दुई अर्ब खर्च हुने भएपछि अर्थ मन्त्रालयले बजेट निकासमा रुचि नदेखाएको छैन । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जोखिम भत्ता दिने निर्णय छिट्टै कार्यान्वयन गरिने जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप