बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना कहरः सप्तरीमा  एकपछि अर्को स्थानीय तह बन्द

मङ्गलबार, १३ साउन २०७७, १३ : ३४
मङ्गलबार, १३ साउन २०७७

सप्तरी । कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै आजदेखि गाउँपालिका र वडा कार्यालयबाट पर्वाह हुने सेवाहरु बन्द गरिएको बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गर्दै अति आवश्यक स्वास्थ्य सेवाबाहेकका अन्य सेवा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिएका छन् । विज्ञप्तिमा हाटबजार नलगाउन, गोष्ठी–सेमिनार आयोजना नगर्न, भिडभाड नगर्न, पसल, व्यापार, व्यवसाय नगर्न, सरकारी, गैरसरकारी र वित्तीय संस्थाहरु सञ्चालन नगर्न नगराउन आग्रह गरिएको छ । यस्तै सर्वसाधारणलाई पनि अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । अत्यावश्यक कामका लागि निस्किनु परेमा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न पनि अनुरोध गरिएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै राजगढ गाउँपालिकाले पनि आजबाट अनिश्चितकालका लागि सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले एक सूचना प्रकाशित गरी अर्को सूचना नआउञ्जेल गाउँपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहने जानकारी गराए ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना सङ्क्रमण समुदायमा फैलिने सम्भावनालाई ध्यानमा राखेर उच्च जोखिम न्यूनीकरणका लागि गाउँपालिका र वडा कार्यालय समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचनामा उल्लेख छ । राजविराज नगरपालिकाले भने एक साताअघि नै मङ्गलबार लकडाउन कडा गर्ने निर्णय गरेको थियो ।
    
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन चार महिनापछि अन्त्य भएकै दिन राजविराज नगरपालिकाले समुदायमा कोरोना फैलिएकाले लकडाउन कडा गर्ने निर्णय गर्यो ।
    
राजविराज नगरपालिका–६ स्थित घरमै कोशी ग्यास र खाद्य बीज भण्डारको पसल रहेका ७३ वर्षीय कोरोना सङ्क्रमित व्यापारीको मृत्यु भएपछि ’कन्याक्ट ट्र्याकिङ्ग र ट्रेसिङ्ग’ गर्दै जाँदा परिवारका सबै सदस्य, कामदार, छिमेकी, मित्र र उहाँहरुको परिवारमा कोरोना पुष्टि भएपछि राजविराज नगरपालिकाले लकडाउन पूर्ण पालना गर्ने गराउने निर्णय गरेको हो ।
    
ट्र्याकिङ्ग र ट्रेसिङ्गका आधारमा सम्भावित व्यक्तिको पिसीआर परीक्षण गर्दै जाँदा सङ्क्रमित हुनेको सङ्ख्यामा निकै वृद्धि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । हाल सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या ४६२ पुगेको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । भारतसँग सीमा जोडिएको र अन्य छिमेकी जिल्लाहरुबाट पनि मानिसहरुको ओहोरदोहोर भइरहेकाले जिल्लामा सङ्क्रमणको जोखिम अझ बढ्नसक्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप