केन्द्रीय संस्करण

कयौं युद्ध जिताएका यी कमाण्डर आफ्नै जीवनसँग यसरी हार्ने अवस्थामा पुग्नु नै गणतन्त्र ?

person explore access_timeसाउन १२, २०७७ chat_bubble_outline0

मृत्युसँग डराउने उनी कायर होइनन् । मृत्युसँग डराउँथे भने उनले जनयुद्धमा साहसपूर्वक त्यत्रा युद्ध लड्दैनथे होला । युद्ध लडेको मात्र होइन, उनी कहिल्यै हारेनन् । अफसोच ! अहिले जीवनसँग हार्दैछन् । मृत्यु अवश्यम्भावी छ तर यति चाँडै, यसरी जीवनसँग हार्न चाहदैनन् उनी ।

देशमा परिवर्तनका लागि, जनतालाई अधिकारसम्पन्न तुल्याउनका लागि हाँसी–हाँसी प्राण दिन तयार भएका योद्धा अहिले आफ्ना रगत–पसिना र आफूजस्ता कयौं योद्धाको बलिदानपछि स्थापित राजनीतिक व्यवस्थामा जीवनका लागि भिख माग्नुपर्ने अवस्था कति विडम्बनापूर्ण होला ! 

उनी अर्थात्, सिन्धुपाल्चोक जिल्ला सुनखानी गाउँपालिका वडा नम्बर ५ निवासी नैनबहादुर तामाङ (क.जमिन) जो जनयुद्धका मेरा सहकर्मी पनि हुन् । प्राणघातक रोग क्यान्सरका कारण उनी थलिएका छन् ।
मृत्यु अन्तिम सत्य हो, यसलाई सबैले आत्मसात् गर्नैपर्छ । जति नै भागे पनि मृत्युबाट हमेसाका लागि टाढा पुगेर चिरञ्जिवी हुन कोही पनि सक्दैन । तर पनि मृत्युलाई अलि ढिलो स्वीकार्न पाए हुन्थ्यो भन्ने उनको चाहना हो ।
नाबालक छोराछोरीको लागि भए पनि एक दिन बढी बाँचौँ र छोराछोरी टुहुरा हुने दिन केही पर धकेलौँ भन्ने नै उनको अन्तिम इच्छा हो । 

नेपालमा १० वर्षसम्म संचालित जनयुद्धको अथक योद्धा हुन् उनी । मेरा सहकर्मी उनी युद्ध लड्दा पटक पटक घाइते भए । घाउहरु निको हुँदै गए, विचलित नभई उनी युद्धमा सामेल हुँदै गए । जनयुद्धको अन्तिम मोर्चा मानिएको सिन्धुपाल्चोकको चौतारा मोर्चामा पनि घाइते भए उनी । दुर्भाग्य भनौं, त्यसबेला घाइते हुनु उनको जीवनकै लागि नमिठो अध्याय बनिदियो ।

त्यही घाउका कारण अहिले क्यान्सरजस्तो डरलाग्दो रोगसँग लडदैन् उनी । उनलाई कहिल्यै पनि लागेको थिएन कि युद्ध जितेर पनि एक दिन जीवनसँग हारेर यसरी बाँच्नेछु भनेर । आजको दिनमा उनी जीवनसँग हारिरहेका छन्, मृत्यु शैयाबाट जीवनको भिख मागिरहेका छन् सहयोगी मनहरुसित ।

सानो उमेरमै परिवर्तनका सपना देखाउनेहरुको पछि लागेर हिड्ने प्रत्येक इमानदार छापामार र पार्टी कार्यकर्ताको हविगत पनि हो यो । अवसर लुट्नेहरु महलमा छन् तर इमान्दारहरु हरेक बिहानीसँगै एउटा भयावह दिन र मृत्युलाई अँँगालेर बाँचिरहेका छन् ।

युवा उमेरमै उनले घरमा बास बस्न आउने तत्कालीन नेपाल कम्युनिष्ट माओवादी पार्टीका नेताहरु अग्निप्रसाद सापकोटा, कृष्णप्रसाद सापकोटा, ध्रुव पराजुली, झम्मप्रसाद पराजुली, दावा लामा जस्ता क्रान्तिकारी विचार बोकेका अनगिन्ती नेताहरुको कुरा सुने । त्यो बेला जताततै रातो–तातोको वातावरण थियो । कसैले सुशासनको कुरा गरे, कसैले थितिका कुरा गरे, कसैले बेथितिका कुरा गरे ।

कलिलो उमेरमै वर्गसंघर्षको कुरा, जातीय विभेदका कुरा, लैङ्गिक हिंसाको कुरा र समग्र ब्यवस्था परिवर्तनको कुरामा विश्वास गरेर आफ्नो जीवनलाई क्रान्तिमा होमे उनले । युवा अवस्थामै समाज र देश परिवर्तनमा होमिएका महान् योद्धा, अझ भनौँ, सिन्धुपाल्चोकबाटै जनमुक्ति सेनाको कमाण्डर बनेका सरल सहयात्री (क.सरल) युवराज दुलाल (क.सरद) रामप्रसाद सापकोटा (क.दिपशिखा) हरु जस्ता कमाण्डरको कमाण्डमा युद्ध लडेको एउटा सिपाही ।
हरेक आदेशलाई शिरोपर गरेर युद्ध लडेको सिपाहीको भौतिक बलिदानबाट प्राप्त भएको सत्ताको भत्तामा मस्त रमाउनु हुने आदरणीयहरु ! हिजो तपाईको आदेश पालन गर्दा घाइते तथा अपाङ्ग भएकाहरुलाई हेर्ने कसले हो अब ? अनि यी सिपाहीहरु सडकमा मरिरहँदा तपाईहरु सत्तामा कसरी रमाउन सक्नु भएको छ ? विषम परिस्थितिका त्यस्ता सहयोद्धाको यो अवस्था देखेर माया–दया लाग्दैन ?

तपाईहरु पो ठेकेदार, दलाल, जालीझेली, भ्रष्टाचारी, घुसखोरीहरुको घेरामा हुनुहुन्छ र पैसाको खाँचो छैन । तर तपाईहरुको आदेशलाई शिरोपर गरेर तपाईहरुलाई यो अवस्थामा ल्याउन आफ्नो जीवन नै हत्केलामा बोकेर युद्धमा होमिएका ती सिपाहीहरुको जीवन पनि एक पटक हेरौँ न । तिनीहरुलाई एक पटक भेटौँ न । तिनीहरुलाई भेट्दा पक्कै पनि तपाईहरुको इज्जत जाँदैन, गएछ नै भने पनि सुनपानी छर्कनुहोला र चोखिनु होला ।

मेरो स्मरणमा ताजै छन् ती दिन, छापामार युद्धमा निकै उत्साहित देखिन्थ्यो ऊ । पुर्वी र मध्य कमाण्डमा भएका हरेक फौजी मोर्चाहरुमा सहभागी थियो र निधक्क लड्यो ऊ । आफ्नो जीवन बाजी राखेर लड्यो, दुश्मनको क्याम्पहरुमा डाइनामाइट बनेर पड्कियो र पनि ऊ बाँच्यो त्यो संगीन परिस्थितिमा । यदि ऊ मरेको भए आजको यो अवस्था र यस्तो भौतिक पिडा भोग्नुपर्ने थिएन उसले । तपाईहरुकै आदेशमा दुश्मनका क्याम्पहरु ध्वस्त बनायो र पनि ऊ बाँच्यो । आफ्नो जिम्मेवारीलाई निर्भिकतापूर्वक पुरा ग¥यो । उसको त्यही साहसकै परिणाम जनयुद्ध एउटा उचाईमा पुग्यो, जसका कारण तपाईहरुजस्ता नेताले पदप्रतिष्ठा प्राप्त गर्नुभयो ।

त्यस्तो योद्धा तिनै युद्धमा बोकेको शारीरिक घाउ उपचार गर्ने पैसा नभएर अस्पतालबाट निकालिँदा, सडक पेटीमा बसेर तपाईहरुतिर हेर्दै जीवनदान मागिरहँदा हात बाँधेर कसरी हेर्न सक्नुभएको छ उसलाई ? हिजोको विषम परिस्थितिमा ती योद्धाले आफ्नो छातीमा गोली थाप्न तयार भएर तपाईहरुलाई बचाउनुको अर्थ के साबित भयो त ? आफूले पाएको पदले सन्तुिष्ट त मिलेको होला तपाईहरुलाई, तर लाखौँ कार्याकर्ता र जनताको आत्माले शान्ति पाएको छैन ।

हो, तपाईहरुसँगै लडाई लड्ने हामी तपाईहरुलाई गद्दार कारार गर्न नसकौँला, त्यो हैसियत नराखौँला तर इतिहासले तपाईहरुलाई पक्कै पनि गद्दार करार गर्ने छ । किनकि त्यो इतिहास तपाई हाम्रो नियन्त्रणभन्दा बाहिर हुनेछ । कस्तो बिडम्ना ! खोला त¥यो, लौरो बिर्सियो भन्ने उखान वास्तविक धरातलमा पनि लागू भयो । उसको युवा अवस्थालाई भ¥याङ बनाएर नेताहरु राज्यसत्तामा मस्त छन्, त्यो भ¥याङ बनिदिएकाहरु पलपल मरिरहेका छन् सडक किनारमा ।
रिसानी माफ होला, कसैले यो खबर तपाईहरु सामु पु¥याइदिए भने अरिङ्गाल लगाएर नखेद्नु होला । क.जमिन त्यही घरको जनमुक्ति सेनाको योद्धा हुन् जहाँ ठोर्कपा भिडन्तपछि बहालवाला ऊर्जा मन्त्री बर्षमान पुन, कृष्ण प्रसाद सापकोटा, ओनसरी घर्ती मगर लगायतले दुश्मनकोे बमबारीबाट जोगिदैँ सेल्टर लिनुभएको थियो ।

कस्तो विडम्बना ! त्यही घरमा सेल्टर लिएर बस्नेहरु अहिले देशको नीतिनिर्माणको तहमा छन् । विचरा क. जमिन भने पैसाको अभावमा उपचार नपाएर जीवनको अन्तिम भिख मागिरेहका छन् । लौन जनयुद्धको नेतृत्व गरेर सरकारको नेतृत्व गरिरहनु भएको नेतागणहरु ! जमिन जस्तो भुइँमान्छेलाई पनि सहयोग गरिदिनुस् । उनी क्यान्सर जस्तो रोगसँग लडेर पलपल मरेर बाँचिरहेका छन् । जनयुद्धको सपना बेचेर कमाएको सम्पत्ति चाहिएको छैन उनलाई । राज्यले निःशुल्क दिने स्वास्थ सेवामात्र भए पनि व्यवस्था मिलाईदिनुस् न कृपया ! 

क.जमिन एउटा प्रतिनिधि पात्र मात्रै हुन् । आम सर्वसाधारण जनता प्रत्येक दिन यस्ता समस्यासँग लड्दैछन । आदरणीय नेतागण ! सहयोद्धा मित्रहरु ! कस्तो खालको गणतन्त्र ल्याएछौँ त हामीले ? हिजो यही गणतन्त्रका लागि युद्ध लडेका मानिस आज राज्यबाट यति धेरै घृणित र अपमानित भएर बाँच्नु पर्ने हो ? वा उसले पाउने नैसर्गिक अधिकार समेत नपाएर मर्नुपर्ने हो ?
तपाईहरुको पो वर्ग फेरियो र हिजोको युद्ध लडेका सिपाही बिर्सनु भयो । हामी तपाईसँगै युद्ध लडेकाहरुले त कहाँ कमाण्डर बिर्सन सक्दारहेछौँ र ? यही पुकार छ क.जमिनको । एक पटक भए पनि तपाईहरुलाई भेट्ने इच्छा अनि मनभरी भएको जनयुद्धको गाथा सुनाएर बिदा हुन मन छ धर्तीबाट ।  

क. जमिन ! तपाई यो विषम परिस्थितिसँग लडेर युद्धमोर्चामा झैं रोगसँग पनि विजय हासिल गर्नुहुने छ । तपाई लगायत सुरेन्द्र पुरी (क.बलिदान)को पनि शीघ्र स्वास्थलाभको कामना गर्दछु । यो कालो दिन हटेर फेरि पनि हामी तपाईसँग उही क्रान्तिकारी जोस र उमङ्गका साथ भेट्ने छौँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.