बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीमाथि नियन्त्रण पाएको भन्दै तारिफ बटुलेको देशमा पुनः भेटिए कोरोना संक्रमित

सोमबार, १२ साउन २०७७, १३ : २८
सोमबार, १२ साउन २०७७

भियतनाममा कोरोना भाइरसका चार नयाँ संक्रमित फेला परेका छन् । यससँगै यहाँ कोरोनाभाइरस नियन्त्रणका लागि नियम लागू गरिएको छ ।

महामारी नियन्त्रण गर्न सफल भएको भन्दै यो देशको निकै तारिफ बटुलेको थियो । भियतनाममा पहिले नै सीमा बन्द गरेर, क्वारेन्टिन सुरु गरेर र कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेर महामारीमाथि नियन्त्रण गरेको बताइएको थियो ।

यहाँ हालसम्म ४ सय २० संक्रमित भेटिएका थिए भने कोरोनाका कारण कसैको पनि मृत्यु भएको थिएन । र करिब सय दिनसम्म यहाँ कोही नयाँ संक्रमित फेला परेका पनि थिएनन् ।

नयाँ संक्रमित फेला परेको स्थान सेन्ट्रल तटीय शहर डान एंगसँग जोडिएको छ जुन घरेलु पर्यटकबीच निकै लोकप्रिय छ ।

पहिलो संक्रमित एक ५७ वर्षीय व्यक्ति हुन् जसले फ्लू जस्तो लक्षण देखेपछि डाक्टरलाई देखाएका थिए र परीक्षणपश्चात् उनको कोभिड–१९ परीक्षण पोजेटिभ देखिएको थियो । अब उनी भेन्टिलेटरमा छन् र डाक्टरलाई उद्धृत गर्दै स्थानीय मिडियाले उनी गम्भीर स्थितीमा भएको बताएका छन् ।

अधिकारीका अनुसार ती व्यक्ति कहाँबाट कोरोनाद्वारा संक्रमित भए भन्नेबारे पत्ता लगाउन सकिएको छैन । उनी शहर बाहिर पनि ननिस्किएको बताइएको छ ।

कन्ट्याक्ट ट्रेसिङमार्फत् सय व्यक्तिको पहिचान गरिएको छ । यी व्यक्तिको सम्पर्कमा आएका सबैको परीक्षण नेगेटिभ आएको छ ।

यद्यपि, हप्ताको अन्त्यमा अन्य तीनजनामा पनि संक्रमण पुष्टि भयो ।

तीमध्ये एक डान एंगका नै ६१ वर्षीय पुरुष हुन् जो नजिकैको प्रान्त क्वांग आईबाट डान एंग आएका थिए । तर घर जाने बेला उनी एक ट्रेनमा डान एंग सी अस्पतालका मानिसहरुसँग बसेका थिए ।

र त्यसै अस्पतालमा भर्ना भएकी एक ७१ वर्षकी महिला छाती दुख्यो भन्दै परीक्षण गर्दा पोजेटिभ पाइएकी थिइन् ।

पहिलो संक्रमित भेटिएपछि डान एंग सी अस्पतालले आफ्नो ढोका सील गरिदिएको थियो । शहरमा पुनः सामाजिक दुरीको नियम लागू गरिएको छ र घरेलु पर्यटकलाई १४ दिनका लागि रोक लगाइएको छ । जसका कारण पर्यटनमा निर्भर यो क्षेत्रलाई ठूलै झट्का लागेको छ ।

अनावश्यक कारोबार बन्द गरिएको छ र ३० भन्दा बढी व्यक्तिलाई जम्मा हुन रोक लगाइएको छ ।

देशभरीका अस्पतालले पनि तयारी सुरु गरेको छ । यस्तै राजधानी हनोईमा मानिसहरुलाई पुनः मास्क लगाउन अपिल गरिँदै छ ।

आइतबार घरेलु फुटबल म्याच पनि स्थगित गरिएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप