शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग दर्ता हुने क्रम घट्दो

सोमबार, १२ साउन २०७७, १२ : ०६
सोमबार, १२ साउन २०७७

कोभिड–१९ को जोखिमले गर्दा घरेलु तथा साना उद्योग दर्ता हुने क्रम घटेको छ । गत आर्थिक वर्षमा अघिल्ला वर्षभन्दा कम उद्योग दर्ता भएका छन् ।  

घरेलु तथा साना उद्योग कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ भन्दा गत आर्थिक वर्ष २०७६/०७७ मा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने घटेका छन् । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आर्थिक वर्षमा एक हजार ६८८ उद्योग दर्ता भएका थिए । गत वर्षमा यो सङ्ख्या  एक हजार ४४८ मा झरेको छ ।  

उद्योगको प्रकृतिअनुसार कार्यालयले आठ वटा शीर्षकमा उद्योग दर्ता गर्ने गरेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८५८, पर्यटनमूलक तर्फ १९०, सेवामूलक १८५, उत्पादनमूलक २१२ वटा र विज्ञान तथा सूचना प्रविधिमा उद्योग तीन वटा  दर्ता भएका छन । उक्त आर्थिक वर्षमा ऊर्जामूलक, खनिजजन्य  तथा निर्माणमूलक उद्योग कुनै पनि दर्ता भएका छैनन । यसैगरी अघिल्लो आर्थिक वर्षमो सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८५६ वटा दर्ता भएका थिए । यस्तै उत्पादनमूलक  ३५७, सेवामूलक २९५, पर्यटनमूलक  १७८ , विज्ञान तथा सूचना प्रविधि दुई वटा दर्ता भएका थिए भने ऊर्जामूलक, खनिजजन्य र निमार्णमूलक उद्योग कुनै पनि दर्ता भएका थिएनन् ।

कार्यालयका प्रमुख नारायण लम्सालले कोरोनाका कारण गतचैतबाट यता उद्योग दर्ता गर्ने सङ्ख्या ठप्प जस्तै भएकाले उक्त सङ्ख्यामा कमी आएको जानकारी दिए । उनले भने, “कोरोनाका कारण नयांँ दर्ता गर्ने पनि आएनन ।” गत वर्षबाट रु पाँच लाखभन्दा कम पूँजी लागनीको उद्योग स्थानीय पालिकामा दर्ता हुने सरकारले निर्णय गरेको छ ।  

 नवउद्यमीमा अन्योल र अनिश्चितता बढेका कारण पनि उद्योग दर्ता गर्नेको सङ्ख्यामा कमी आएको उनको भनाइ छ । उद्योग दर्ता घटेपछि राजश्व सङ्कलन पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा उद्योग दर्ताबाट रु ४९ लाख १४ हजार राजश्व सङ्कलन भएकोमा गत आर्थिक वर्षमा रु ३५ लाख ५८ हजार मात्र राजश्व सङ्कलन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप