शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीराजमार्ग क्षतविक्षत, २०० भन्दा बढी ठाउँमा पहिरो

आइतबार, ११ साउन २०७७, १४ : ४१
आइतबार, ११ साउन २०७७

चितवन । गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड क्षतविक्षत भएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो सडकखण्डको जोगिमारा र धारापानीमा अझै सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । सडक खण्डको मौवा खोलामा पुल र सडक जोड्ने भाग नै नदीले बगाएको थियो । ती सबै ठाउँको मर्मत सम्भार गरी शुक्रबारदेखि सवारी सञ्चालनमा ल्याइएको अधिकारीले जानकारी दिए । मौवा खोलामा यही साउन ५ गते बिहान सडक बगाएपछि सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो । 

राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य नाका भएकाले चौतर्फी दबाब र सहयोगले सडक सञ्चालनमा ल्याए पनि वर्षात्ले निकै नोक्सान पुगेको अधिकारी बताउँछन् । उनले भने, “पचास किमीजति ठाउँमा कालोपत्र बिग्रिएको छ । पहिरो खसेको, धसिएको ठाउँ, बगाएको सडकलगायतका क्षेत्रमा कालोपत्रमा नोक्सानी भएको छ ।” 

छिट्टै सबै ठाउँमा सडक दुईतर्फी सञ्चालनमा आए पनि पूर्ववत् अवस्थामा सडकलाई मर्मतसम्भार गर्न एक वर्ष लाग्ने उनको भनाइ छ । क्षतिको विवरण सङ्कलन गरेर लगत अनुमान तयार गरी प्रक्रियामा अघि बढ्नुपर्ने भएकाले सबै काम गर्न समय लाग्ने अधिकारी बताउँछन् । सो सडक खण्ड बिस्तारका लागि विश्व बैंकको सहयोगमा परियोजना अघि बढेकाले धेरै खर्च गर्ने पक्षमा सडक विभाग छैन । 

अधिकारीले भने, “अत्यावश्यक काम मात्र हामी गर्छौं ।” सो सडकखण्डमा छदेखि सात मिटर फराकिलो कालोपत्र रहेको छ । अधिकांश भाग एकातर्फ अग्लो पहाड र अर्कोतर्फ त्रिशूली नदी पर्दछ । यस्तै सोही कार्यालयले हेर्ने नारायणगढ–मुग्लिन सडकको चार किलो र १६ किलोमा पटकपटक पहिरो खस्दा समस्या हुने गरेको छ । 

दुई वर्षअघि सडक बिस्तार गरिएको भए पनि पहिरो रोक्ने काम गर्न नपाउँदै चार किलोमा पहिरो खसेको हो । दुवै ठाउँमा अझै दुईतर्फी सडक सञ्चालन हुन सकेका छैनन । यस सडकखण्डमा पनि ठाउँठाउँमा साना पहिरो खस्दा क्षति पुगेको छ । सडकमाथिको डाँडामा ग्रामीण क्षेत्रमा बनाइएका बाटामा पानी एकीकृत भएर एकै ठाउँबाट खस्दा मूल सडकमा क्षति पुगेको अधिकारी बताउँछन् । यससँगै वर्षात् बढी भएकाले सडकमा नोक्सान गरेको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप