ट्रम्पले भने, ‘स्कूल पूर्ण रुपमा खोलियोस्’, तर उनकै छोरा पढ्ने स्कूलद्वारा राष्ट्रपतिको आदेश मान्न अस्विकार
विश्वव्यापी महामारी कोभिड–१९ का कारण संसारभरीका स्कूल–कलेज बन्द छन् । यस्तोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशका सबै स्कूललाई पुनः खोल्न आदेश दिएका छन् । तर जुन स्कूलमा ट्रम्पका कान्छा छोरा पढ्छन्, त्यहि स्कूलको व्यवस्थापनले ट्रम्पको आदेश मान्न अस्विकार गरेको छ । स्कूलको व्यवस्थापनले भन्यो, ‘अहिले माहौल अनुकूल छैन । सेप्टेम्बर अघि स्कूल खोल्न सक्दैनौं ।’
राष्ट्रपति ट्रम्पले पटक–पटक सबै स्कूल खोलेर बच्चाहरुलाई स्कूल बोलाउन आदेश दिइरहेका छन् । ट्रम्पले भने, ‘५ करोड विद्यार्थीलाई अनिश्चितकालसम्म स्कूल जान रोक्न सकिँदैन । यदि उनीहरुलाई रोकिएको खण्डमा उनीहरुको मानसिक, शारीरिक र भावनात्मक विकासलाई क्षती पुग्नेछ । यदि स्कूल खोलिए, अभिभावक पुनः काममा जान सक्छन् ।’
ट्रम्पले स्कूललाई चेतावनी दिँदै भने, ‘यदि स्कूल नखोलिए स्कूलबाट धन फिर्ता लिइनेछ ।’
यसबारे अमेरिकाको सेन्ट एन्ड्रूय स्कूलका प्रमुख रोबर्ट कोसस्की र सहायक प्रमुख डेविड ब्राइनले साइन गरेको पत्र जारी गरिएको छ । यसमा भनिएको छ, ‘स्कूल कसरी खोल्ने, बच्चालाई अनलाइनको माध्यमले कसरी पढाउने, यसबारे १० अगस्टमा एक बैठक बोलाएर निश्चित गरिनेछ ।’
स्कूल व्यवस्थापनले आफूहरु स्कूल खोल्नका लागि स्वास्थ्य अधिकारीको तर्फबाट बनाइएको गाइडलाइनको पालना गर्ने जानकारी दिएको छ । साथै आफूहरुले स्वास्थ्यकर्मीलाई भाइरस संक्रमण नफैलन के गर्ने र भाइरसले बच्चाहरुलाई कस्तो प्रकारको क्षती गर्छ भन्नेबारे पनि प्रश्न गर्ने स्कूलको प्रशासनले बताएको छ ।
स्कूल व्यवस्थापनले भनेको छ, ‘बिहिबार जारी एक फ्यामिली फाउन्डेशनको पोलमा प्राथमिक विद्यालयका ६० प्रतिशत अभिभावकले अब बिस्तारै विद्यालय खोल्नुपर्ने बताएको छ । तर हामी बच्चालाई त्यतिबेला मात्रै स्कूल पठाउनेछौं, जब उनीहरुको सुरक्षा निश्चित हुनेछ ।’
ट्रम्पले जसरी दबाब दिइरहेका छन्, सुरुमा उनलाई नै स्कूल बोलाएर देखाउनुपर्छः
शिक्षक संघका नेताले भने, ‘जसरी ट्रम्पले स्कूल खोल्न दबाब दिइरहेका छन्, त्यो हेर्दा सुरुमा उनलाई नै स्कूल बोलाउनु पर्छ । यहाँ स्थिती कस्तो छ, त्यसबारे अवगत गराउनुपर्छ । त्यसपछि मात्रै उनलाई थाहा होला कि यस्तो स्थितीमा स्कूल खोलिए, कस्ता समस्या आउन सक्लान् । साथै, स्कूल आउने बच्चामा कोरोना संक्रमण कति खतरनाक साबित हुनसक्छ भनेर पनि उनलाई थाहा हुनेछ ।’