शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुद्दाको पेसी प्रधानन्यायाधीश आफैंले तोक्लान् ?

आइतबार, ११ साउन २०७७, ०७ : ०५
आइतबार, ११ साउन २०७७

काठमाडौं – पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय काटिरहेका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्चको फैसलामाथि परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले ८ असारमा कोइराला छुटेकै दिन सर्वोच्चको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावलोकन निवेदन दर्ता गरेको थियो । यस मुद्दाको पेसी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आफैं संलग्न भएर मुद्दाको फैसला गरेको हुँदा पुनरावलोकनका लागि इजलास र पेसी आफैंले तोक्छन् या सो दिन बिदामा बसेर वरिष्ठ न्यायाधीशले तोक्न सक्नेछन् ।

प्रधानन्यायाधीशले गरेको फैसलामा प्रश्नचिह्न उठेपछि उनले स्वतन्त्र न्यायपालिकाको जनआस्था गुम्न नदिनका लागि पुनरावलोकनका लागि बिदा बस्दा उपयुक्त हुने सर्वोच्चकै एक पूर्वन्यायाधीशले बताए । उनका अनुसार आफैंले गरेको फैसलामा प्रश्न उठेपछि पुनः इजलास र पेसी तोक्दा सो मुद्दामा उनको प्रभाव पर्न सक्छ ।

प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अगाडि बढाउने या नबढाउने भन्ने निर्णय दुई जना न्यायाधीशको संयुक्त इजलासले गर्नेछ ।

संयुक्त इजलासले अनुमति दिएमा (निस्सा पाएमा) फैसलाउपर पुनर्विचार गर्ने या सच्चाउने प्रक्रिया सुरु हुन्छ । संविधानको धारा १३३ (४) ले सर्वोच्च अदालतलाई आफ्नो अन्तिम फैसलाको पनि पुनरावलोकन गर्ने अधिकार दिएको छ । यसरी पुनरावलोकन गर्दा पहिले फैसला गर्नेबाहेकका न्यायाधीशले उक्त मुद्दाको सुनुवाइ गर्नुपर्नेछ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप