बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पानी थेग्न सकेन मेलम्ची गेटले

आइतबार, ११ साउन २०७७, ०६ : ४३
आइतबार, ११ साउन २०७७

काठमाडौँ – मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि भएको हुनसक्ने अनुमान गरिएको छ । कुल क्षमताको एक तिहाइ पानीको दबाब गेटले थेग्न नसकेपछि मेलम्चीको पानीको प्रतीक्षा गरेका राजधानीवासीले अझै केही महिना धैर्य गर्नुपर्ने भएको छ ।

सो घटनापछि पानी पथान्तरणको काम हाल स्थगित भएको छ । हेडबक्स निर्माणको काम भइरहेको तर पथान्तरणको काम अध्ययन समितिले प्रतिवेदन दिएपछि सुरु हुने खानेपानी मन्त्रालयले जनाएको छ । प्रवेशद्वारको डिजाइन र प्रवेशद्वार फिटिङमा समस्या रहेको हुनसक्ने अध्ययन समितिको प्रारम्भिक आकलन छ । 

खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिक तथा इन्जिनियर सहितको अध्ययन समिति बनाएको थियो । समिति स्थलगत अध्ययन गरी फर्किएको छ । समितिका संयोजक दुवाडीले नटबोल्ट फिटिङमा केही समस्या हो कि ? गेट फिटिङ गर्दा राम्रोसँग नकसिएको हो कि भन्ने कुरा छ । हामी दुई÷चार दिनमै प्रतिवेदन सार्वजनिक गर्दैछौँ भने ।

सुरुङ भित्रको ५२ मिटर उचाइ सम्मको पानीको दबाब थेग्न सक्ने क्षमताको प्रवेशद्वार जडान गरिएको थियो तर १६ मिटर उचाइको पानीमै प्रवेशद्वार खुल्नु आश्चर्यजनक भएको दुवाडीको भनाइ छ । गेटको क्षमता, गेट जडानको अवस्थाका बारेमा अध्ययन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता रितेश शाक्यले एक्कासि गेट खुलेर दुर्घटना हुन पुग्यो, प्राविधिक रूपमा सबै संरचना तयार भएपछि हामीले पानी पथान्तरण सुरु गरेका हौँ तर गेट किन खुल्यो ? प्रतिवेदन नआउन्जेल केही भन्न सकिँदैन भने । सुरुङ भित्रको पानीले बगाएको गाडी मेलम्ची खोलामा अड्किएको थियो । मन्त्रालयले घटनामा मृत्यु तथा घाइते हुनेलाई राहत तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको जनाएको छ । यो समाचार आजको आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप