शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघको चुनाव सर्नुको रहस्य : नेतृत्व लिन शेखरले किन गरेनन् हतार ?

शनिबार, १० साउन २०७७, १७ : १४
शनिबार, १० साउन २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा देखिएको चुनावी प्रतिस्पर्धाको रौनक अहिले विवादमा बदलिएको छ । साउन २६ र २७ गतेका लागि निर्धारित साधारणसभा र त्योसँगै हुने नेतृत्व हस्तान्तरण र अन्य पदाधिकारीहरुको चुनावी प्रक्रिया रोकिएपछि यतिबेला महासंघभित्रको विवाद सतहमा आएको हो । प्रतिस्पर्धीले एक अर्कालाई ‘घोचपेच’ गर्ने परम्परा पहिलेदेखि नै भए पनि अहिले भने सार्वजनिक रुपमै असन्तुष्टि पोखिनेगरी विवाद देखिएको हो ।

बिहीबार महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गतेको लागि निर्धारित साधारणसभालाई स्थगित गर्ने निर्णय गर्यो । कोभिड–१९ को संक्रमण कायमै रहेको र सरकारले साधारणसभा गर्न स्वीकृति नदिएका कारण निर्वाचनलाई स्थगित गरेको अध्यक्ष भवानी राणाको भनाइ छ । 


महासंघको साधारणसभाका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले सहमति दिनुपर्छ । तर अहिलेसम्म त्यस्तो सहमति प्राप्त नभएकोले साधारणसभा गर्न नसकिएको राणाको भनाइ छ । तर यो निर्णयमा पदाधिकारीहरुभित्रै नै एकमत छैन । खासगरी उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले यो निर्णयमा ‘नोट अफ डिसेन्ट’ नै लेखेका छन् । 

यसअिघ चैत महिनामा साधारणसभा स्थगित गर्ने निर्णयमा महासंघका सबै पदाधिकारीको एकमत थियो । सोही आधारमा पदाधिकारीको सर्वसम्मत निर्णयबाट साधारणसभा स्थगित गरिएको थियो । तर वरिष्ठ उपाध्यक्षका उम्मेदवार समेत रहेका ढकाल र उनको प्यानलका अन्य सदस्यहरु समेत पछिल्लो निर्णयमा असहमत छन् । शुक्रबार ढकालले सार्वजनिक कार्यक्रममार्फत् नै कार्यसकितिले बहुमतको भरमा आफूहरुलाई पेलेको आरोप लगाए । उनले सो निर्णयमा आफ्नो ‘नोट अफ डिसेन्ट’ रहेको स्पष्ट समेत पारे । 


तर, निर्णयको पक्षमा रहेकाहरु भने सरकारले समयमा साधारणसभा गर्ने स्वीकृति नदिएको, सरकारले लकडाउन खुला गरे पनि सभा समारोह गर्न खुला नगरेको र कोभिड–१९ संक्रमणको जोखिम अझै पनि कायमै रहेको भन्दै साधारणसभा स्थगित गर्नुपरेको जनाएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले चुनावको लागि १ हजार जनाभन्दा बढी उद्योगी व्यवसायीहरुलाई जोखिममा पार्न नसक्ने भएकोले साधारणसभा स्थगित गरिएको ट्वीट गरेका छन् । 

सामान्यतया नेतृत्वमा पुग्न चाहने र पुग्ने निश्चित भएको मान्छेलाई त्यो पद हासिल गर्ने हतारो हुन्छ । तर यहाँनिर ठ्याक्कै उल्टो भएको छ । महासंघको साधारणसभा साउन २६ गते भएको थियो भने शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी पाउँथे । हालकी अध्यक्ष भवानी राणा निवर्तमान अध्यक्षको रुपमा कार्यसमितिको स्वतः पदाधिकारीको रुपमा रहन्थिन् । अरु पदाधिकारीमा जसले निर्वाचन जित्थ्यो, उनीहरु सहभागी हुन्थे । तर भावी अध्यक्ष गोल्छा आफैं चुनावलाई पर सार्न चाहिरहेका छन् । 

विधानतः अध्यक्ष राणाको कार्यकाल चैत मसान्तदेखि सकिएको छ । महासंघको विधानमा प्रत्येक वर्षको चैत मसान्तमा महासंघको साधारणसभा हुने र प्रत्येक ३÷३ वर्षमा पदाधिकारीहरुको लागि निर्वाचन हुने व्यवस्था गरिएको छ । तर विशेष परिस्थिति आइपर्दा साधारणसभा २ महिनासम्म सार्न सकिने व्यवस्था महासंघको विधानले गरेको छ ।

 यो हिसाबले जेठ मसान्तसम्म जसरी पनि साधारणसभा र चुनाव भइसक्नुपथ्र्यो । तर, त्यो मिति गुज्रेको पनि १ महिना भन्दा बढी भइसकेको छ । शुक्रबारको कार्यक्रममा यही विषयलाई इंगित गर्दै यसअघि महासंघमा अध्यक्षको उम्मेदवारी दिएका भाष्करराज राजकर्णिकारले ‘महासंघको अहिलेको कार्यसमिति नै अवैधानिक रहेको’ समेत भन्न भ्याए । उपाध्यक्ष ढकालले भने महासंघको यो निर्णयमा ‘नोट अफ डिसेन्ट’ भएरै पनि यसलाई मानेर जाने बताएका छन् ।  

चुनाव सर्नुको भित्री रहस्य
अहिले महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष शेखर गोल्छा, अर्का उपाध्यक्ष किशोर प्रधान लगायतको टीम चुनाव पर सार्ने पक्षमा देखिएको छ । बाहिर कोभिड–१९ को संक्रमण र सरकारको अनुमति नदिएको विषयलाई कारण बनाइए पनि ‘चुनाव सार्ने’ कि ‘चुनाव गर्ने’ भन्ने विवादको कारण भने यहाँनिर अर्कै छ । निर्वाचन सार्दा हुने चुनावी अंकगणित र सम्भावित नतिजाका कारण यो विषमा विवाद देखिएको हो । अहिले किशोर प्रधान प्यानलले जति ढिलो चुनाव हुन्छ उति आफू बलियो हुँदै जाने विश्लेषण गरेको छ भने चन्द्र ढकालको प्यानलले अहिले चुनाव गरेर आफ्नो मतलाई ‘क्यास’ गरिहालौं भन्ने चाहेको छ ।  

प्रधान प्यानलले चुनाव सार्नु चाहनुको पछाडि पछिल्लो समय पाउँदै गरेको सफलता प्रमुख कारण हो ।  चैतताका महासंघकी अध्यक्ष भवानी राणा ढकालको पक्षमा रहेको चर्चा थियो । तर, पछिल्लो समय उनले पनि किशोरको चाहनालाई साथ दिएको देखिएको छ । अहिले किशोरलाई सघाउनको लागि राणाले चुनाव सार्नुपर्छ भन्नेमा देखिएकी छिन् । जानकारहरु भन्छन्, ‘यदि राणाले महासंघमा चुनाव जसरी पनि गर्नुपर्छ भन्ने अडान लिएको भए तोकिएको समयमै चुनाव हुन्थ्यो । महासंघले औपचारिक रुपमा सरकारलाई आग्रह गरेको भए सरकारले साधारणसभा गर्ने अनुमति दिन पनि सक्थ्यो ।’

अहिले ढकाल प्यानललाई सरकारको निकट प्यानलको रुपमा समेत हेरिन्छ । सो प्याननले नै चुनाव चाहेको अवस्थामा सरकारले सहयोग गर्ने सम्भावना पनि थियो । यद्यपि सरकारले यसमा ढिलाई भने गरेकै हो ।  तर सरकारी निर्णय नआएको भन्दै महासंघ आफैले चुनाव स्थगित गर्ने निर्णय गर्यो । अब महासंघले नै साधारणसभा गर्दैनौं भनेपछि सरकारले ‘जसरी पनि गर’ भन्ने अवस्था पनि छैन । 

पछिल्लो समय किशोर प्रधान प्यानलले केही रणनीतिक महत्त्वका व्यक्तिलाई आफूतिर तान्ने प्रयास गरिरहेको छ । हालसम्म तटस्थता देखाएका व्यक्तिहरुले आफूतिर खुल्ने वातावरण बनाएर समग्र चुनावी महौललाई आफ्नो पक्षमा पार्ने आफ्नो रणनीति सफल हुँदै गएको प्रधान पक्षको विश्लेषण छ । खासगरी पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा प्रबलजंग पाण्डे, व्यवसायी अजय सुमार्गीलाई यो अवधिमा आफूतिर तान्न सफल भएको दाबी सो पक्षले गरिरहेको छ । यस्तै, अरु केहीलाई आफूतिर खुल्न लगाउने प्रयास समेत सो पक्षले गरिरहेको छ । 


महासंघको चुनावी माहौल पर सर्नु पछाडिको अर्को कारण विधानको विद्यमान अन्यौलपूर्ण प्रावधान पनि हो ।  अहिले महासंघको विधानमा दुईथरी प्रावधान छ । एउटा प्रावधानले कार्यसमितिको चुनाव ३ वर्ष हुने व्यवस्था गरिएको छ । अर्को व्यवस्थाले चैत महिनाभित्रै साधारणसभा गर्नुपर्ने व्यवस्था पनि गरेको छ । अहिले विशेष परिस्थितिका कारण अहिलेसम्म चुनाव हुन सकेको छैन । यस्तो अवस्थामा अहिलै चुनाव गरेर आउने नेतृत्वलाई पूर्णकालीन नेतृत्व मान्ने कि पूरक भन्ने अन्यौलता पनि छ । 

महासंघ विधानमा पूरक नेतृत्वको व्यवस्था छ । प्रदीपजंग पाण्डेको बहिर्गमनपछि पशुपति मुरारका पूरक कार्यावधिमा दुई वर्ष अध्यक्ष भएका थिए ।  तर, अहिले भदौमा चुनाव हुँदा शेखर गोल्छा पनि बाँकी कार्यकालको लागि अध्यक्ष भएको जस्तो देखिने भएकोले यहाँ समस्या देखिएको हो । साधारणसभा चैतमै पुर्याएर भए पनि गोल्छा आफू पूर्णकालीन अध्यक्ष बन्न चाहन्छन् ।  

त्यसो त अहिले पनि गोल्छा नै कार्यकारी अध्यक्षको भूमिकामै छन् । धेरैजसो कार्यक्रम वा बैठकमा अहिले पनि राणाको सट्टा गोल्छा नै सहभागी हुन्छन् । त्यसैले अहिले चुनाव नहुँदा पनि उनको नेतृत्वदायी भूमिका कायमै रहन्छ । अहिले चुनाव रोकिएपछि अब दशैं तिहारअघि यो चुनाव नहुन सक्छ । चाडवाड सकिएपछि साधारणसभाको बहस आउँदा विधानको ‘चैत मसान्त’को प्रावधानलाई देखाउन पनि सजिलो हुन्छ । त्यतिबेलासम्म आफूले समर्थन गरेको किशोर प्यानललाई हसज माहौल बनाउन पनि सकिन्छ । 


यसअघि अध्यक्ष भवानी राणा अघिल्लो चैतमै साधारणसभाबाट शानदार रुपमा आफ्नो् जिम्मेवारी गोल्छालाई हस्तान्तरण गर्न चाहन्थिन् । तर योबीचमा उनको चाहना पनि फेरिएको जानकारहरुको भनाई छ । वरिष्ठ उपाध्यक्ष गोल्छासहित बहुमत कार्यसमिति सदस्य आफ्नो पक्षमा भएकोले उनलाई पछिल्लो समय काम गर्न निकै सजिलो भइरहेको छ, जुन यो तीन वर्षको कार्यकालमा कहिलै भएन ।  मौद्रिक नीतिमा सानो पहलमै पाएको ठूलो सफलताले राणालाई थप उत्साहित बनाएको छ । 

गोल्छाले किन दिए प्रधानलाई साथ ? 
शेखर गोल्छा आगामी कार्यकालको स्वतः अध्यक्ष हुन् । जसको प्यानल आए पनि मिलेर अघि बढ्नुपर्ने स्पिरिट पनि हो । त्यही कारण वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान राखिएको हो । तर, गोल्छा भने प्रधानको पक्षमा खुलेरै लागेका छन् । 

महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छा र उपाध्यक्ष ढकालबीचको सम्बन्ध पहिले सुमधुर नै थियो । तर त्यो सम्बन्ध तब चिसिन थाल्यो जब महासंघमा गोल्छालाई स्वतः अध्यक्ष हुन नदिन विधान संशोधनका लागि लबिङ हुन थाल्यो । 

पूर्वअध्यक्ष चण्डिराज ढकालले महासंघको स्वतः अध्यक्ष हुने प्रावधानलाई हटाउनेगरी विधान संशोधन गर्ने काममा अग्रणी भूमिका खेलेका थिए । लामो रस्साकस्सीपछि पूर्वअध्यक्ष ढकाल आफ्नो अडानबाट पछि हटेर विद्यमान व्यवस्थालाई नै कायमै राख्ने पक्षमा देखिए । तर, त्यसरी विधान संशोधन गराएर आफूलाई अध्यक्ष बन्न नदिन उपाध्यक्ष ढकालले सघाएको गोल्छालाई आशंका छ ।  सोही रस्साकस्सीकै बीच चण्डिराज ढकालको एउटा भेलामा चन्द्र ढकाल उपस्थित भएपछि गोल्छा उनीप्रति सकारात्मक बनेनन् । ढकालले भने विधान संशोधन नगरेर उनलाई स्वतः अध्यक्ष बन्ने वातावरण बनाउन आफूले सहयोग गरेको दाबी गरिरहेका छन् । निर्वाचनको लागि प्यानल घोषणा गर्ने केही दिनअघिको कार्यक्रममा ढकालले गोल्छा सम्बोधन गर्दै ‘विगतको गुन नबिर्सिन’ आग्रह समेत गरेका थिए ।

त्यतिमात्रै होइन । अहिले तटस्थ भएर बस्दा आफ्नो आफूले पूर्ण कार्यकाल अध्यक्षको रुपमा बिताउन पाउनेमा समेत गोल्छालाई आशंका छ । अध्यक्ष भएको छ महिनाभित्र आफूलाई हटाउने खेल भित्रभित्रै भएको भन्दै आफूले एउटा पक्षलाई समर्थन गर्नुपरेको एउटा अन्तर्वार्तामा बताएका थिए । कसैको नाम नलिए पनि उनी ढकाल प्यानलप्रति अझै सशंकित रहेको स्पष्ट हुन्छ । सोही कारण उनी पनि उम्मेदवारजस्तो आफ्नो पक्षलाई भोट मागिरहेका छन् । यद्यपि यस्तो गर्नु वा हुने वातावरण बन्नु दुवै दुर्भाग्यपूर्ण रहेको महासंघका पूर्वअध्यक्षहरु बताउँछन् । केही अध्यक्षहरुले सुरुमै सहमतिका लागि गरिएको प्रयास असफल समेत भएको थियो । 

महासंघले पटकपटक फुटको अवस्था व्यहोर्दै आएको छ । २०२२ सालमा स्थापित यो संस्थासँग छुट्टिएर करिब १७ वर्षअघि नेपाल उद्योग परिसंघ स्थापना भयो । नेपाल चेम्बर अफ कमर्शले आफूलाई समानान्तर महासंघको रुपमा केही समय अघि मात्रै उभ्याएको छ । अन्य विषयगत संघहरुले समेत महासंघलाई आफ्नो छाता संगठन नमान्ने अवस्था आएको छ । तर चुनावी माहौल सुरु हुँदै गर्दा महासंघको विवाद सतहसम्मै देखिन्छ । महासंघका पूर्व अध्यक्षहरु नै यसले महासंघको अस्तित्वमाथि नै खतरा निम्त्याउनेमा चिन्ता व्यक्त गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप