ऊ बीज हो विचारको
–युवराज मैनाली
सत्य सत्य नै हुन्छ
जति गलाउन खोजे पनि
त्यो कदापि गल्दैन
झुटो आखिर झुटो नै हुन्छ
जतिपल्ट जपे पनि
त्यो कतै कदापि टिक्दैन !
कहाँ काँतर हुन्छन्
मृत्युलाई सहर्ष स्वीकार्नेहरू ?
कमजोरहरूले नै
बाट्ने हुन् फाँसीका डोरीहरू
कुनै नामर्दहरूसित
जीवनको भिक्षा माग्दैनन्– सहिदहरू !
दाना र माना मात्र जपिरहने
नाना र छाना मात्र जपिरहने
दिनलाई रात
रातलाई दिन मात्र भनिरहने
हावालाई बहन रोक्छौँ
नदीका गति छेक्छौँ
सूर्यलाई हत्केलाले छेकेर
संसारलाई मुठ्ठीमै अटाउँछौँ भन्दै
अहङ्कारले गर्जिरहने
ती ठुल्दाइहरूलाई
हुरीले हुत्याउँदै
किनारा लगाएका बादलझैँ
समय बढारेर
ती बदनामका नाम र कुरूप रूपहरूलाई
कहाँ मिल्कायो होला कसिङ्गर झैँ
ती कतिखेर गलेर ढले होलान् कर्कलाका डाँठ झैँ ?
ती बोल्न खोज्नेका बोली रोक्थे
ती हेर्न खोज्नेका आँखा छोप्थे
ती सुन्न खोज्नेका कानका जाली फुटाउँथे
ती पाठशाला भत्काएर
कारागारका जग उठाउँथे
जो भेट्यो उसैका अस्मिता लुटाउँथे
ती तरबार भिरिरहने
दरबारै दरबारका ठुल्दाइहरू
जीवावशेष नै नभेटिने गरी
कहाँ हराए होलान् ?
तिनका अनुपस्थितिमा
आँसु बगाउनेहरू पनि
खै कोही भेटिँदैनन् !
तिनलाई बोकेर हिनहिनाइरहने
घोडाहरू पनि
पत्तै नपाई कता ढले होलान् ?
जन्मनै क्रान्तिमा पर्यो
ठूलाको भन्दा असलको
वकालत गरिरहने
लोकहितमा नीलकण्ठले विष पिए झैँ
अर्बुदलाई नै सहजै पचाउने
यातनाहरूलाई केही नगनी
बुलेटका विश्वासहरूलाई ब्यालेटका दीक्षा दिने
सान्दाजुलाई
न कुनै पत्थरहरूले गलाउन सके !
न कुनै क्रूर पाखुराहरूले ढलाउन सके
ऊ देव पनि होइन
ऊ महादेव पनि होइन
ऊ दानव त हुँदै होइन
ऊ हो भने
मानव मात्र हो
ऊ रोबोट होइन
ऊ ब्रेड पनि होइन
ऊ हो भने
केवल ब्रेन मात्र हो ।
अँ त भन्नेहरूले बुझून्
ऊ यतिखेर
शिरमाथि तारा भएर बलिरहेको छ
पैतालामुनिको माटाले बताउला
उसको जरा गरा गरा कतिसम्म फैलिएको छ !
ऊ झुप्रा र झुपडीहरूमा छ
ऊ हलो, कुट्टो र कोदालाहरूमा छ
अक्षरहरूको अनन्त उज्यालो हो– सान्दाजु
स्वाधीनता र स्वतन्त्रताको
मीठो गीत हो– सान्दाजु
ऊ मान्छे मान्छेका
मन, मुटु र मस्तिष्कभरि छ ।
ऊ बीज हो– विचारहरूको
ऊ उम्रिरहन्छ– निरन्तर
ऊ फुलिरहन्छ– निरन्तर
ऊ फलिरहन्छ– निरन्तर
ऊ पुनः बीजहरूमा बदलिन
घुमिरहन्छ यही चक्रमा !
ठूला धरहराहरू भत्किए झैँ
कहिल्यै भत्किनेछैन– सान्दाजु
घना अन्धकार भगाउने
तारभित्रै लुकेको हुन्छ
त्यो अदृश्य बिजुली
त्यो के कम छ र शक्तिमा ?
सान्दाजु त्यही बिजुली हो
आकारमा कहाँ भेटिन्छ र विचार ?
सान्दाजु त्यही अनन्त विचार हो
सान्दाजु त्यही अमर विचार हो !
धुम्बाराही, काठमाडौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस