बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ जान्छिन् सरिता गिरी, त्यही मच्चाउँछिन् उधुम !

शनिबार, १० साउन २०७७, १० : ४४
शनिबार, १० साउन २०७७

काठमाडौं । लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको नक्सा सरकारले जारी गरेपछि सबै दल र सांसदहरुले त्यसको समर्थन गरे । तर एक्लो वृहस्पतिका रुपमा उभिएकी सरिता गिरीले तथ्य र प्रमाणविना नै सरकारले नक्सा जारी गरेको भन्दै विरोधमात्र गरिनन्, पार्टीको निर्देशनलाई समेत बेवास्ता गर्दै संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्तावसमेत दर्ता गरिन् । परिणामस्वरुप उनले सांसद पद र पार्टीको साधारण सदस्यसमेत गुमाउनु प¥यो ।

यस प्रकरणमा गिरीले पार्टीको निर्देशन तथा अनुशासन नमानेपछि पार्टीले स्पष्टीकरण सोधेर उनलाई कारवाही गरेको हो । पार्टीले सांसद पद खोस्नुका साथै पार्टीबाट समेत निष्काशन गरेपछि उनी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेकी छिन् । विधानविपरीत आफूलाई कारवाही गरेको उनको दावी छ ।

सरिता गिरी कानुनी मामिलाको जानकार भएको महिला नेतृमा गनिन्छिन् । यसअघि पनि नेपाल सद्भावना पार्टीको आधिकारिकता सम्बन्धी विवाद हुँदा उनले सर्वोच्च अदालतबाटै नेपाल सद्भावना पार्टी आफ्नो हातमा पारेकी थिइन् ।

के यसैगरी उनले अहिले आफ्नो गुमेको पद हासिल गर्न सक्छिन् त ? प्रश्न खडा भएको छ । उनी जहाँ, जुन पार्टीमा गए पनि केही न केही उथलपुथल मच्चाइरहेकी हुन्छिन् । चुपचाप बस्ने उनको स्वभाव नभएकै कारण बेलाबखत उनी विवादमा समेत आउने गरेकी छन् ।


मधेश राजनीतिमा प्रवेश 

नेपाली काँग्रेसको पृष्ठभूमिबाट राजनीति शुरु गरेकी सरिता गिरी हृदयेश त्रिपाठीको सहयोगमा मधेशको राजनीतिमा आएकी हुन् । २०५१÷०५२ मा स्व.गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टी विभाजन गरेर हृदयेश त्रिपाठी, रामेश्वर राय यादव र राजेन्द्र महतोहरु मिलेर समाजवादी जनता दल गठन गरेका थिए ।

त्यही नयाँ पार्टीमा गिरीलाई त्रिपाठीले प्रवेश गराका थिए । नवगठित सो पार्टीमा गिरी केन्द्रीय सदस्य बनिन् । तर त्यो पार्टी एक वर्ष पनि चल्न सकेन र पुनः नेपाल सद्भावना पार्टीसँग एकीकरण भयो । त्यतिबेला गिरी भने पार्टी एकीकरणको पक्षमा थिइनन् । उनले त्रिपाठीलगायतका नेतालाई एकीकरणका लागि रोक्ने प्रयास गरेकी थिइन् तर त्यतिबेला गिरीको केही चलेन । 

अन्ततः नेपाल सद्भावना पाटीसँग एकीकरण भयो । गजेन्द्रनारायण सिंह नेतृत्वको सो पार्टीमा गिरीलाई केन्द्रीय सदस्य बनाइयो । उनले पार्टीमा आफ्नो ढंगले काम गर्दै गरिन् । तर उनले त्रिपाठीको साथ कहिल्यै छाडिनन् । 

गजेन्द्रनारायण सिंहको निधनपछि बद्री मण्डल नेपाल सद्भावना पार्टीको कार्यवाहक अध्यक्ष भए । उनी राजावादी भएका कारणले त्यतिबेलादेखि नै पार्टीमा असन्तुष्टि शुरु भएको थियो । त्रिपाठी, रामेश्वर राय यादव, राजेन्द्र महतो लगायतका नेताहरुले पार्टीमा असन्तुष्टि जाहेर गर्न थालेका थिए । 

आनन्दी देवी गुटमा

२०६०/०६१ मा राजविराजमा महाधिवशेन हुँदा त्यहीँबाट सो पार्टी दुई टुक्रा भयो । महाधिवेशनबाट बद्री मण्डल अध्यक्ष भएपछि हृदयेश त्रिपाठीहरुले पार्टी फुटाएर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) बनाए । 

सरिता गिरी पनि त्यही आनन्दी देवी समूहतिर लागिन् । नेपाल सद्भावना पार्टी बन्ने बित्तिकै सत्ताको खेल शुरु भयो । कसैले आनन्दी देवीलाई अपहरण गरेर मन्त्री हुन सफल भए भने कसैले नक्कली हस्ताक्षर गरेर, दबाबमा हस्ताक्षर गराएर मन्त्री भए । आनन्दी देवी समूहमा गिरीलाई प्रवक्ता बनाइएको थियो ।

पछि बद्री मण्डलले राजीनामा दिएपछि नेपाल सद्भावना पार्टी र आनन्दी देवी समूहबीच एकीकरण भयो । एकीकरण भए पनि त्यो पार्टी कहिले स्थिर रहेन । जहिले पनि सत्ताका लागि विवाद भइ नै रह्यो ।

पछि त्रिपाठी तत्कालीन तमलोपातिर लागे, रामेश्वर यादव शुरुमै तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा गइसकेका थिए । भरत विमल यादव पनि निस्कृय भइसकेका थिए । आनन्दी देवी जोसँग हुन्थिन्, पार्टी उसैको कब्जामा हुन्थ्यो । त्यतिबेला खुशीलाल मण्डल, श्यामसुन्दर गुप्ता, राजेन्द्र महतो, सरिता गिरीहरुको चहलपहल थियो पार्टीमा ।

गुप्ताको विरुद्धमा अनसन
नेपाल सद्भावना पार्टी (आनन्दी देवी) को महाधिवेशन भयो । वीरगञ्जमा भएको महाधिवेशनबाट त्यो पार्टी विभाजन भयो । राजेन्द्र महतो सद्भावना पार्टी गठन गरेर अलग भए । र, नेपाल सद्भावना पार्टी (आनन्दी देवी) श्यामसुन्दर गुप्ताको कब्जामा भयो । त्यतिबेला पनि पार्टी आधिकारिताका लागि राजेन्द्र महतो र श्यामसुन्दर गुप्ताबीच विवाद चलेको थियो । तर निर्वाचन आयोगले श्यामसुन्दर गुप्तालाई नै मान्यता दिएको थियो । 

श्यामसुन्दर गुप्ता त्यतिबेला मन्त्री थिए । त्यही भएर सरिता गिरी गुप्ताकै साथमा गइन् । तर त्यो साथ धेरै दिनसम्म टिकेन । पार्टीमा गुप्ताको शैलीलाई विरोध गर्दै सरिता गिरी पार्टी कार्यालयमै आमरण अनसन बसिन् । त्यतिबेला उनी पार्टीकी केन्द्रीय सदस्य थिइन् । 


अनसन गर्नुको एउटै उद्देश्य थियो, पार्टी फुटाउनु । पार्टी फुटाउनका लागि केही न केही निहुँ चाहिन्छ भन्दै उनले गुप्ताको विरुद्धमा अनसन बसेकी थिइन् । गुप्ताको विरुद्धमा विद्रोह गर्न उनले उद्योगपति मोती दुगडको सहयोग लिएकी थिइन् । 

उनका साथमा काम गरेका एक नेताको दावी छ, ‘सरिता गिरीले त्यतिबेला दुगडसँग राम्रै रकम लिनु भएको थियो, त्यसबापत उहाँले पछि दुगडलाई सांसद बनाउनु भएको थियो ।’ 

दुगडको आर्थिक लगानीमा गिरीले केन्द्रीय सदस्य मिलाउने काम गरिन् । तत्कालीन नेपाल सद्भावना पार्टीका नेता खुशीलाल मण्डलले पनि गुप्ताको राजनीतिक क्रियाकलापलाई मन पराएका थिएन्, उनी पनि त्यहाँबाट निस्किन चाहेका थिए । 

त्यतिबेला सरिता गिरीले पनि खुशीलाल मण्डललाई साथ दिएकी थिइन् । आनन्दी देवी र खुशीलाल मण्डल एउटै जिल्लाका भएका हुनाले आनन्दी देवीले मण्डलमाथि विश्वास गरिरहेकी थिइन् । खुशीलाल मण्डलकै निवासमा उनी कयौं दिन बसेकी थिइन् । पुरानो र अनुभवी नेता भएर होला, आनन्दी देवीले खुशीलालको कुरालाई मान्थिन् ।

यसरी भइन् सविधानसभा सदस्य


सरिता गिरी पनि खुशीलाल मण्डलतिरै थिइन् । त्यतिबेला नै आनन्दी देवीको हस्ताक्षरबाट पहिलो संविधानसभामा समानुपातिक सदस्य बनेकी थिइन् उनी । सरिता गिरीका लागि पैसा खर्च गरेका मोती दुगड पनि समानुपातिकबाटै सभासद् भएका थिए । 

खुशीलाल मण्डल भन्छन्, ‘सरिता गिरीलाई समानुपातिक सभासद् बनाउन मैले नै आनन्दी देवीलाई भनेको थिएँ तर गिरीले त्यो कुराको मर्यादा राख्नु भएन ।’ सरिता गिरीले पनि आनन्दी देवीको नामलाई दुरुपयोग गरेको मण्डलको दावी छ । 

कुरा यतिसम्म भयो कि सरिता गिरीले नेपाल सद्भावना पार्टी (आनन्दी देवी) आफ्नो रहेको दावी गर्न थालिन् । खुशीलाल मण्डलले पनि आनन्दी देवी आफूसँग भएको कारण आफूसँग नेपाल सद्भावना पार्टी (आनन्दी देवी) रहेको दावी गरे । उता, श्यामसुन्दर गुप्ताको पनि आफ्नै दावी थियो । 

यसरी भइन् अध्यक्ष

आआफ्नो दावी अनुसार उनीहरुले छुट्टा छुट्टै महाधिवेशन गरे । सरिता गिरीले सिरहाको लहानमा महाधिवेशन गरेकी थिइन् भने खुशीलाल मण्डल जनकपुर र श्यामसुन्दर गुप्ताले भैरहवामा गरेका थिए । तीनवटैले आआफ्नो महाधिवेशन सम्पन्न गरे । श्यामसुन्दर गुप्ताले छुट्टै पार्टी बनाए भने नेपाल सद्भावना पार्टी (आनन्दी देवी) माथि खुशीलाल मण्डल र सरिता गिरीले दावी गरिरहे । 

पार्टीको त्यो विवाद सर्वोच्च अदालतसम्म पुग्यो । लामो समयसम्म मुद्दा चल्यो । अन्ततः नेपाल सद्भावना पार्टी (आनन्दी देवी) को आधिकारिकता सरिता गिरीले पाइन् । खुशीलाल मण्डल भन्छन्, ‘सर्वोच्च अदालतले राज्यको प्रभावमा परेर सरिता गिरीलाई आधिकारिकता दिएको थियो, त्यहाँका केही न्यायाधीशहरुको त्यसमा बदमाशी थियो, सारा प्रमाण एकातिर थियो तर सर्वोच्चले निर्णय ग¥यो अर्कोतिर ।’

तर त्यतिबेला सरिता गिरीको साथमा रहेका विकास तिवारी भन्छन्, ‘आनन्दी देवी सरिता गिरीको पक्षमा रहेको कारण नै गिरीले पार्टीको आधिकारीकता पाउनु भएको हो । सर्वोच्च अदालतले आनन्दी देवीलाई मान्यता दिएको हो ।’ 
 

बाबुरामको क्याविनेटमा मन्त्री

सरिता गिरी पार्टीको महाधिवेशन गराउनेबित्तिकै मन्त्रीका लागि दौडधुपमा लागेकी थिइन् । कहिले माधवकुमार नेपाल त कहिले डा.बाबुराम भट्टराईको निवासमा उनी धाइरहेकी थिइन् । तिवारी भन्छन्, ‘लहानमा भएको महाधिवेशनबाट अब सत्ताको राजनीति नगर्ने निर्णय पारित भएको थियो, माइन्युट बनेको थियो । सोही महाधिवेशनबाट पार्टीको नामसँग जोडिएको आनन्दी देवी पनि हटाइएको थियो । 

त्यही महाधिवेशनबाट नेपाल सद्भावना पार्टी (आनन्दी देवी) बाट नेपाल सद्भावना पार्टी बनेको थियो ।’

मन्त्री बन्नका लागि उनी शक्ति केन्द्रहरुमा धाइ रहँदा नेपाल सद्भावना पार्टी (आनन्दी देवी) को खोजी भयो । जनआन्दोलनमा आनन्दी देवीको पार्टी सहभागी भएको हुनाले त्यसलाई नै मान्यता दिने भनेपछि सरिता गिरीले तत्कालै आफ्नो पार्टीमा आनन्दी देवी जोडेको तिवारीको आरोप छ ।

उनी भन्छन्, ‘जब कि महाधिवेशनले पार्टीको नामबाट आनन्दी देवी हटाइसकेको थियो र पार्टीलाई सरकारमा नलैजाने सहमति भएको थियो तर सरिता गिरीले पार्टीको नाम परिवर्तन गरेर जवर्जस्ती सरकारमा जानुभयो ।’

मन्त्रीबाट बर्खास्त
डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी श्रममन्त्री बनेकी थिइन् । तर पदको दुरुपयोग गरेको भन्दै तत्कालीन प्रधानमन्त्री भट्टराईले मन्त्री पदबाट उनलाई बर्खास्त गरेका थिए । उनीमाथि भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

सरकारबाट हटेपछि उनले पार्टी सञ्चालन गर्न सकिनन् । विकास तिवारीले सरिता गिरीको साथ छाडिसकेका थिए । जबकि त्यहाँसम्म पुग्न सरिता गिरीका लागि तिवारी ठूलो सहयोगी थिए । एक हिसाबले तिवारी नै पार्टीका हर्ताकर्ता थिए । उनी पार्टीमा निकै सक्रिय भएर लागेका थिए । संगठन निर्माणदेखि लिएर पार्टीका अन्य गतिविधिले गति लिएको थियो । त्यो कुरा गिरीलाई पचिरहेको थिएन ।

अनिल झासँग सहकार्य

तिवारीले साथ छाडिसकेपछि गिरीलाई पार्टी चलाउन निकै गाह्रो भयो । गिरीसँग असली नेपाल सद्भावना पार्टी थियो । अर्थात गजेन्द्रनारायण सिंहकै पालादेखि चल्दै आएको पञ्जा छाप गिरीसँग थियो । जुन मधेशका लागि आफैमा एउटा ब्राण्ड भइसकेको थियो । त्यसमाथि अनिलकुमार झाको नजर थियो । राजेन्द्र महतोबाट अलग भएर संघीय सद्भावना पार्टी गठन गरेका अनिल झाले सरिता गिरीसँग पार्टी एकीकरणको प्रस्ताव राखे । 

नेता झाको प्रस्तावलाई गिरीले स्वीकार त गरिन्। स्रोतहरु भन्छन्, ‘त्यतिबेला गिरीले अनिल झासँग १२ लाख रुपियाँ लिएकी थिइन् ।’ अनिल झासँग एकीकरण गरेकी गिरी धेरै दिनसम्म त्यहाँ पनि टिक्न सकिनन् । 

अनिल झाको पार्टीबाट आफ्नो पार्टी झिकेर उनी अलग भएकी थिइन् । केही दिन उनले जसोतसो पार्टी चलाइन् तर लामो रेसमा अघि बढ्न सकिनन् ।

फोरममा प्रवेश

त्यसपछि पञ्जाछाप ब्राण्ड लिएर उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीसँग उनले एकीकरण गरिन् । त्यो पार्टीबाट उनी समानुपातिक सांसद भइन् र संसदीय दलको उपनेता पनि भइन् । 

सानो समूह लिएर पार्टीमा प्रवेश गर्ने वित्तिकै यतिको पद पाउने सायद उनी पहिलो महिला होला । उनलाई सांसद बनाएपछि पार्टीमा अन्य नेताहरुले नेतृत्वको आलोचना गरेका थिए । 

मधेश आन्दोलनमा लडेका, भिडेकाहरुलाई समानुपातिक सांसद नबनाएर नयाँलाई बनाएको भन्दै नेतृत्वको त्यतिबेला निकै आलोचना भएको थियो । 

उनी समाजवादी पार्टीको सांसद र पार्टीको नेतृ भएपनि पार्टीमा कहिल्यै सक्रिय भइनन् । मन लागे पार्टीको कार्यक्रम वा गतिविधिमा जाने, मन नलागे नजाने गर्थिन् । पार्टीका एक नेताले भने, ‘सरिता गिरी समाजवादी पार्टीमा भएको अनुभव हामीलाई कहिल्यै भएन । पार्टी उहाँको भयो तर उहाँ पार्टीको हुनुभएन । र नक्सा विवादमा आफ्नो व्यवहार देखाई दिनुभयो ।’


ती नेताले भने, ‘पार्टीमा भएपछि पार्टीले दिएको निर्देशन मान्नुपर्ने हुन्छ, पार्टीको विधि विधान मान्नुपर्छ, आफू जति सुपेरियर भए पनि पार्टीको विधि र विधान मान्नुपर्छ तर उहाँले त्यो मान्नु भएन त्यही भएर उहाँलाई पार्टीले कारवाही गरेको हो ।’

सरिता गिरीसँग लामो समय काम गरेका विकास तिवारी पनि सरिता गिरीमा व्यक्तिगत महत्वाकांगा रहेको बताउँछन् । उनले भने, ‘सरिता गिरी निकै महत्वाकांक्षी नेतृ हुनुहुन्छ, महत्वाकांक्षी हुनु गलत होइन, तर त्यो जनता र समाजका लागि हुनुपर्छ तर गिरीमा व्यक्तिगत महत्वाकांक्षा छ, आफ्नो पदका लागि जे पनि गर्न सक्ने खालको नेतृ हुनुहुन्छ ।’

खुशीलाल मण्डलको बुझाइ पनि त्यस्तै छ । समाजवादी पार्टीमा सरिता गिरीले आफ्नो विशेषताअनुसारकै काम गरेको उनको भनाइ छ । सरिता गिरीको बारेमा टिप्पणी गर्दै उनले भने, ‘उहाँ जहाँ गए पनि यस्तै भाँडभैलो मच्चाउनु हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप