मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले ऐतिहासिक काम गरिरहेको छ : राज्यमन्त्री मानन्धर

शुक्रबार, ०९ साउन २०७७, २२ : ५०
शुक्रबार, ०९ साउन २०७७

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामको नतिजा जनताले देख्ने र महसुस गर्ने गरी देखिने बेला भएको बताएका छन् । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन, भैँसेपाटीस्थित मन्त्री निवास र मुख्यमन्त्री तथा प्रदेश प्रमुखको निवास तथा सम्पर्क कार्यालय र गोदावरीस्थित तीन हजार क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको अवलोकनपश्चात राज्यमन्त्री मानन्धरले केही समयपछि परिणाम देखिने बताएका हुन् । 

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘सुखी नेपाली, समृद्ध नेपाल’को मर्मअनुसार काम भइरहेको बताउँदै सरकारले ऐतिहासिक काम गरिरहेको दाबी गरे । उनले भने, “वर्तमान सरकारकै पालामा नेपालमा ठूलो भवनका रुपमा संसद् भवन बन्न लाग्नु हाम्रा लागि महत्वपूर्ण विषय हो ।”

    त्यस्तै देशको मौलिक कला, संस्कृति र सभ्यतालाई जोडेर भवनको डिजाइन भएको र संरचना निर्माणपश्चात् अन्तरराष्ट्रिय जगत्मा पनि नेपालको प्रशंसा हुने उनको दाबी छ । कोरोनाका कारण काममा केही अवरोध देखिएको बताउँदै उनले आगामी दिनमा कामले थप निरन्तरता पाउने प्रष्ट्याए । 
    
    अनुगमनका क्रममा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयले निर्माण थालेका ठूला भवनहरु समयमै सकिने बताए । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले सङ्घीय संसद् भवनको बेस निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए ।

अनुगमनका क्रममा गोदावरीमा निर्माणाधीन अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको निर्माण ६१ प्रतिशत सकिएको पाइएको छ । ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र ५८ करोड लागतमा निर्माण भइरहेको छ । उक्त केन्द्र निर्माणपश्चात् राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सभासम्मेलनका लागि ठूला होटलमा लाखौँ खर्च गर्नुपर्ने बाध्यता हट्नेछ । 

    सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सात प्रतिशत रहेको छ । सरसफाइका लागि समय लागेकाले केही ढिलाइ भएको मन्त्रालयका महानिर्देशक गेलालाले जानकारी दिए । १७३ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवन निर्माणको लागत रु छ अर्ब ९२ करोड रहेको छ । गत वर्ष असोज १६ मा सम्झौता भएको उक्त भवन निर्माणको अवधि तीन वर्षको छ । 
    
    त्यस्तै ललितपुरको सैबु भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास तथा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको काम २२ प्रतिशत सकिएको छ । मन्त्री निवास ९६ रोपनीमा र प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवास २८ रोपनीमा निर्माण हुँदैछ । ती भवनको निर्माणमा पनि तीव्रता दिन मन्त्री मानन्धरले निर्देशन दिए । पारदर्शी ढङ्गले काम सम्पन्न हुनुपर्ने बताउँदै राज्यमन्त्री मानन्धरले सरकारको योजनाअनुसार काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गए । कार्यक्षेत्रमा समस्या भए तत्काल सरोकारवाला निकायमार्फत खबर गर्न आग्रह गर्दै उनले समस्या समाधानका लागि सधैँ तयार रहेको बताए ।रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप