बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इङग्ल्यान्डमा मास्क अनिवार्य, नियम पालना नगरे १ सय पाउण्डसम्म जरिवाना

शुक्रबार, ०९ साउन २०७७, २२ : १५
शुक्रबार, ०९ साउन २०७७

नरेन्द्र बस्नेत
लन्डन । आज जुलाई २४ तारिखबाट इङग्ल्याण्डका केहि विशेष स्थानहरुमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।  यदि कसैले यस नियमको पालना नगरेको खण्डमा एकसय पाउण्डसम्म जरिवाना गरिने सरकारले  घोषणा गरेको छ ।  तर १४ दिनभित्र जरिवाना रकम भुक्तानी गरेमा पचास प्रतिशत अर्थात पचास पाउण्डमात्र बुझाए पुग्नेछ ।  डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले फेसमास्कको प्रयोगसम्बन्धी छुट्टै निर्देशिका सार्वजनिक गरेको छ । आजबाट लागू गरिएको नियमअनुसार सार्वजनिक स्थान, सुपरमार्केट, बैंक, इन्डोर सपिङ सेन्टर, बसपार्क, एयरपोर्ट, समुन्द्री बन्दरगाह लगायतका ठाउँहरुमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

रेष्टुरेन्टबाट टेकअवे लिन जाँदासमेत मास्कको प्रयोग गर्नुपर्नेछ । भित्र बसेर खानपिन गर्ने ठाउँ पब, रेष्टुरेन्ट, जिम, थिएटर, पुस्तकालय,संग्राहलय जस्ता ठाउँमा भने मास्कको प्रयोग अनिवार्य गरिएको छैन ।  तर शारीरिक अपाङ्गता भएका, स्वास्थ्य स्थिति कम्जोर भएका र ११ वर्ष मुनिका लागि भने मास्कको प्रयोगमा छुट गरिएको छ ।  मास्कको सट्टा सामान्य स्काफको पनि प्रयोग गर्न सकिनेछ, जसले नाक र मुखलाई ढाक्न सकोस् । आफ्नो परिचय खुलाउनुपर्ने स्थान, बैंक तथा कुनै उमेरको हदबन्दी तोकिएको ठाउँमा भने मास्क हटाउन सकिनेछ ।

सार्वजनिक यातायामा भने यसघि मास्कको पर्योग अनिवार्य गरिसकिएको छ । स्कटल्याण्डमा भने पसलमा जाँदा मास्क लगाउनुपर्ने  नियम जुलाई १० बाट नै  लागू भैसकेको छ । त्यस्तै नर्दर्न आयरल्याण्डमा पनि बस, रेल, तथा फेरी लगायतका स्थानमा मास्कको प्रयोग गरिंदै आएको छ । तर जुलाई २७ बाट भने नर्दर्न आएरल्याण्डमा पनि सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गरिने भएको छ ।

लकडाउनलाई सहज पार्ने उद्देश्यले बेलायतका धेरैजसो पसल तथा रेष्टुरेन्टहरु खुल्न थालिसकेका छन् । तर कोरोना भाइरसको संक्रमण अझै जारी रहेकोले  सबैले आफू सुरक्षित रहनुपर्ने सरकारले बताउँदै आएको छ ।  बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले सरकारको आव्हानको पालना गरी कोरोना संक्रमणविरुद्धको लडाईंमा साथ दिन सर्वसाधारणलाई अपिल गरेका छन् ।  फेसमास्क प्रयोगले संक्रमित व्यक्तिबाट अन्यमा संक्रमण फैलिने जोखिम कम हुन्छ भन्ने तथ्य स्थापित भइसकेको भन्दै सरकारले फेसमास्क अनिवार्य गरिएको सरकारको धारणा रहेको छ  । 

बेलायत सरकारले स्थानीय पब तथा रेष्टुरेन्टको व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न किसिमका सहुलियतको घोषणा गरिसकेको छ । मानिसलाई रेष्टुरेन्टमा जान प्रोत्साहन गर्दै निश्चित अवधिभित्र अगष्टबाट रेष्टुरेन्टमा खाएको बिलमा पचास प्रतिशत छुट गर्ने लगायतका करमा समेत छुट दिने जस्ता निर्णय सरकारले गरिसकेको छ । सरकारको यस नीतिले लकडाउनको मारमा परेका व्यवसायीलाई केहि राहत मिलेको छ । पछिल्लो समयमा बेलायतको जनजीवन सामान्य बन्न थालिसकेको छ । सरकारको कडा नीतिनियमका बावजुद पनि कोरोना सम्बन्धि सरकारको नियमलाई प्रशस्त बेवास्ता गरेको देखिन्छ । सामाजिक दुरीलाई एक मिटर प्लस कायमै राख्नपर्ने भएतापनि कुनै पनि सार्वजनिक स्थलहरुमा यसको पालना भएको पाइँदैन ।

मृत्यु हुनेको संख्याको आधारमा बेलायत युरोपको अग्रस्थानमा पर्दछ भने विश्वभरमा सबैभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिलपछि बेलायत तेस्रो स्थानमा रहँदै आएको छ । अझै पनि बेलायतमा दैनिक ५ सयभन्दा बढी संक्रमित थपिने गरेका छन् भने एक सयको हाराहारीमा दैनिक मृत्यु हुँदै आएको छ । आजसम्म बेलायतमा कोरोनाको संक्रमणबाट कुल ४५ हजार ६ सय ७७ जानाको मृत्यु भैसकेको छ । तर उक्त संख्या वास्तविक नभएको यहाँको राष्ट्रिय तथ्याँक विभागले बताएको छ । तथ्याँक विभागको आँकडा अनुसार थप १० हजारको मृत्यु भएको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप