शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महँगियो तरकारी : एक महिनामै दोब्बर पुग्यो आलुको भाऊ, अझै बढ्नसक्ने

अघिल्लो महिनाको तुलनामा तरकारीको भाऊ ४४१.६७ प्रतिशतलेसम्म वृद्धि
शुक्रबार, ०९ साउन २०७७, १७ : ११
शुक्रबार, ०९ साउन २०७७

काठमाडौँ । मौसमी उत्पादन र आपूर्ति व्यवस्थामा अवरोध आएका कारण बजारमा तरकारीको मूल्य उच्च रुपमा बृद्धि भएको छ । भान्सामा सबैभन्दा धेरै खपत हुने तरकारीहरुमा ५ गुणासम्मको मूल्यबृद्धि देखिएको हो ।

बजारमा सबैभन्दा धेरै खपत हुने तरकारीको रुपमा रहेको आलुको भाऊ एकै महिनामा दोब्बरसम्म पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कले अघिल्लो महिनाको तुलनामा तरकारीको भाऊ ४४१.६७ प्रतिशतलेसम्म वृद्धि भएको देखाएको छ ।

बजार विकास समितिको तथ्याङ्क अनुसार गत असार ९ गते १२ रुपैयाँ प्रतिकेजी रहेको मुलाको मूल्य श्रावण ९ गते मूल्यमा ४४१.६४ प्रतिशले वृद्धि भई ६५ रुपैयाँ पुगेकोे छ । त्यस्तै, काउली २४८.४८ प्रतिशत, वन्दागोवी २१६.६७ प्रतिशत, सिमी १५७.५८ प्रतिशत र आलु शत प्रतिशतले वृद्धि भएको छ ।

गत महिना काउली प्रतिकेजी ३३, वन्दा गोवी १२, सिमी ३३ र आलु ३५ रुपैयाँ प्रतिकेजी रहेकोमा यस महिना क्रमशः काउली ११५, बन्दा ३८, सिमी ८५ र आलु ५९ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

उक्त मूल्य कालिमाटी फलफूल तथा तरकारी बजारमा नै तोकिएको थोक(होलसेल) मूल्य हो । बाहिरी खुद्रा बजारमा अझ यो भन्दापनि बढी मूल्यमा फलफूल तथा तरकारीको कारोबार भइरहेको छ ।

किन हुँदैछ मूल्यवृद्धि ?

मुख्यतः अहिले फलफूल तथा तरकारीको मूल्यवृद्धि हुनुमा मौसमनै कारक रहेको सरोकारवालाहरु बताउँछन् । वार्षातको मौसम हुँदा उत्पादन कमी हुने र उत्पादन भएका पनि बाढी पहिरो तथा बाटोको अवरोधका कारण बजारसम्म आइपुग्न नसक्दा मूल्यवृद्धि हुने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘अहिलेको मौसम नै यस्तै हो । वर्षातका कारण कृषिकको बारीमा नै उत्पादन कमी हुन्छ । त्यसमाथि वर्षातसँगै आउने बाढी पहिरो तथा सडकका अवरोधका कारण उत्पादित तरकारी बजार सम्म आइपुग्न पाउँदैनन् । जसले गर्दा आपूर्ति नै कमी भएपछि मूल्य त बढ्ने नै भयो ।’

उनले भने, ‘यस्तो मूल्यवृद्धि यसपटक मात्र भएको होइन, बेलाबेलामा हुने गरेकै हो । बर्खाको मौसमा गत वर्षहरुमा पनि यस्तै हुन्थ्यो ।’

सूचना अधिकारी श्रेष्ठका अनुसार वर्षातका कारण स्थानीय स्वदेशी उत्पादन बजारसम्म आइपुग्न पाएको छैन भने, उता भारतीय बजारबाट समेत यो समय बाढी पहिलो लगायतका समस्याका कारण फलफूल तथा तरकारी भित्रिन सकेको छैन । जसले गर्दा बजारमा आपूर्ति नै कमी हुन गई मूल्यवृद्धि हुन पुगेको हो ।

आपूर्तिमा झण्डै ४० प्रतिशतले गिरावट

अहिलेको बजारमा फलफूल तथा तरकारीको आपूर्ति झण्डै ४० प्रतिशतले घटेको व्यवसायीहरुको भनाइ छ । वर्षातकै कारण उत्पादनमा कमी आउँदा र बाटोको अवरोधका कारण ३५ देखि ४० प्रतिशतले आपूर्ति कमी भएको र त्यसले बजारमा तरकारीको मूल्यवृद्धि हुन पुगेको कालिमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संघका महासचिव हरिकृष्ठ थापाले बताए ।

‘अहिले कृषकको बारीमा नै उत्पादन नै छैन । उत्पादन भएका पनि अविरल वर्षातका कारण बजारसम्म आइपुग्नै पाएका छैनन् । भीषण बर्षातसँगै ठाउँठाउँमा गएको बाढी पहिरोका कारण बाटोहरु अवरुद्ध छन् । जसले गर्दा फलफूल तथा तरकारीको ढुवानी हुन पाएका छैन् । जसका कारण बजारमा मूल्यवृद्धि हुनपुगेको छ ।’

त्यस्तै बजारमा आपूर्तिको कमी हुनुको प्रमुख कारण भारतीय बजारसमेत रहेको थापाको भनाइ छ । यो समयमा आलु प्याज लगायत तरकारीहरु भारतीय बजारमा नै महँगिन पुगेकाले नेपालमा कम आपुर्ति हुँदा बजारमा अभाव देखिएको थापाको भनाइ छ ।

यता, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिकै पूर्वपदाधिकारी समेत रहेका व्यवसायी भगवान उप्रेती भने, ‘अहिलेको बजार अभाव हुनुमा कोरोनाले समेत भूमिका खेलेको हो ।’ कोरोनाका कारण उत्पादनमा कमी आउँदा आपूर्तिसमेत कमी भइ बजार महँगी बढेको उनले बताए ।

‘उत्पादनमा जाने बेलामा कोरोनाका कारण मुलुक लकडाउनमा गयो । झण्डै ४ महिनासम्मको लकडाउनले कृषिकहरुलाई समेत नराम्रोसँग प्रभावित पा¥यो । लकडाउनकै कारण सो समयमा कृषिकहरुको उत्पादनले मूल्य र बजार पाएनन् । जसका कारण कृषकहरु मोटिभेट हुनुको साटो उल्टो डिमोटिभेट भए । कृषकहरुले उत्पादन गर्नै छाडे । जसको परिणाम अहिले देखिएको हो,’ व्यवसायी उप्रेतीले भने ।

त्यसो त कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिकै तथ्याङ्क अनुसार पनि लकडाउन अघि तरकारीको आपूर्ति दैनिक सदर ८ सय मेट्रिकटन हुने गरेको थियो । तर लकडाउन पछि भने साविककोमा आधा घटेर दैनिक सरदर ४ सय मेट्रिकटन हारहारीमा मात्र आपूर्ति भइरहेको छ । उक्त परिणाम पनि पछिल्ला दिनहरुमा घट्दो क्रममा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप