शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किम जोङको वरिपरि रहने यी ३ महिला, जोसँग शक्तिको ट्रिगर सुरक्षित छ

बिहीबार, ०८ साउन २०७७, २३ : ३९
बिहीबार, ०८ साउन २०७७

एजेन्सी । उत्तरकोरियाका सर्वोच्च नेता किम जोङको जीवन निकै रहस्यमय छ भनिन्छ । उनी कहिलेकाहीँ एक्कासि विश्वको नजरमा रहस्यमय ढंगले गायब हुन्छन् र उनको बारेमा बेला–बेलामा बहस चर्किने गर्छ । उनी गायब भएको प्रसंग विश्वका केही देशहरुका लागि चिन्ताको विषय पनि बन्ने गरेको छ भने केहीले मजाकमा पनि उडाउने गरेका छन् । त्यसपछि उनको बारेमा जानकारी प्राप्त गर्न ती देशले आफ्ना गुप्तचर संयन्त्रहरु परिचालन पनि गर्ने गरेका छन् ।

किम अहिलेसम्म २ पटक गायब भएका छन् । पहिलोपटक ४० दिनसम्म गायब भए भने दोश्रो पटक २० दिन गायब भए । दोश्रोपटक उनी केही महिनाअघि गायब भएका थिए । यद्यपि, उनी सार्वजनिक भएपछि पनि गायब भएका दिनमा के काम गरे भन्नेमा अझै विश्व दोधारमा छ । यद्यपि, पछिल्लोचोटी गायब भएका बखत भने उनी बिरामी भएर उपचारमा रहेका समाचारहरु आएका थिए ।

तर यहाँ हामी किम जोङ उनका बारेमा अर्को एउटा रोचक प्रसंग प्रस्तुत गर्दैछौ । त्यो के भने उत्तरकोरियामा किमलाई त्यहाँका बरिष्ठ सैनिक अधिकारीहरु र नेताहरुजस्तै उनको जीवनसँग जोडिएका केही महिलाहरुका बारेमा जानकारी दिनेछौं । किमसँग जोडिएका ती महिला जसले उनलाई पूर्ण रुपमा सहयोग गर्ने गरेका छन् । अझ भनौं उनको शक्ति ती महिलाहरुको निर्देशन वरिपरि घुम्ने गरेको छ ।

न्युयोर्क पोष्टका अनुसार किम पत्नी, बहिनी र अर्की एक युवती उनको जीवनमा जोडिएका छन् । किमपछि उनको बहिनीलाई उत्तरकोरियाको उत्तराधिकारीको रुपमा हेरिने गरिएको छ । तर पत्नीलाई भने सार्वजनिक कार्यक्रममा लिएर हिँडेपनि राजनीतिक गतिविधिबाट उनले निकै टाढा राखेको बताइन्छ ।

यसैबीच किमको जीवनमा अर्की एक युवती रहस्यमय ढंगले नजिकिएको खबर बाहिर आएको छ । जसले नेता किमको जीवनमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेकी छिन् । ती युवतीको नाम ह्याओन सङ वाल हो । ३६ वर्षीय किमसँग उनी निकै घनिष्ठ छिन् । त्यसैले नेता किमको जीवनमा पत्नी, बहिनी र यी युवतीको भूमिका महत्वपूर्ण रहेको बताइन्छ ।

किमकी पत्नी री सोल जुलाई कहिल्यै पनि देशको राजनीतिमा त्यति सक्रिय देखिदैन, तर उनी किमको पत्नीका रुपमा सार्वजनिक कार्यक्रमहरुमा भने भाग लिइरहेकी हुन्छिन् । उत्तरकोरियाको शासन व्यवस्थालाई नजिकबाट विश्लेषण गर्नेहरु भन्ने गर्छन् कि किमकी श्रीमतीमा कुनै राजनीतिक महत्वाकांक्षा छैन ।

त्यसैले किमको बेला बेलामा बाहिर आउने मृत्युका खबरहरुका बीचमा उनको राजनीतिक उत्तराधिकार बारेमा खासै चर्चा हुने गर्दैन । त्यसबेला किमकी बहिनी किम यो जोङको भने खुबै चर्चा हुने गर्दछ । केही महिनाअघि पनि किम गायब भएका बेलामा समेत किम योको निकै चर्चा भएको थियो । उत्तरकोरियामा किमकी बहिनी यो जोङको नाम बालबालिकाले पनि सुनेका छन् । किम यो जोङ आजकाल उत्तरकोरियाको राजनीतिमा निकै सक्रिय नाम हो । नेता किमलाई सल्लाह दिने टोलीमा उनको महत्वपूर्ण भूमिका रहन्छ ।

किमका पत्नी र बहिनीबाहेक गायिका समेत रहेकी अर्की युवती ह्याओन सङ वालले उनको जीवनमा महत्वपूर्ण भूमिका खेल्दै आएकी छिन् । ४३ वर्षीया वाललाई उत्तरकोरियामा स्पाइस गल्र्स पनि भनेर चिनिन्छि । किमसँग उनलाई यतिसम्म जोडेर हेरिन्छ कि केही महिनाअघि किमको मृत्युको हल्ला चल्दा वालको पनि मृत्युको हल्ला चलेको थियो । तर त्यो सामाचार गलत सावित भयो र कसैले त्यति वास्ता पनि गरेनन् ।

किम जोङ उनका हरेक भ्रमणमा सङ वाल पनि देखिने गर्छिन् । उत्तरकोरियाको राजनीतिलाई नजिकबाट नियाल्नेहरु भन्ने गर्छन् कि विवाह हुनुअघि वाल किम जोङ उनकी प्रेमिका थिइन् तर किमका पितालाई उनीहरुको सम्बन्ध मन नपरेपछि उनीहरुको  विवाह हुन पाएन । त्यसपछि उनीहरु दुबैजनाको सम्बन्ध पिता जीवित रहुन्जेलसम्म टाढियो । तर पिताको मृत्युपछि किम जोङ र वाल नजिकिन पुगे ।

त्यसैले अहिले उत्तरकोरियाको राजनीतिमा वाल किमकी श्रीमतीभन्दा बढी शक्तिशाली देखिन थालेकी छिन् । भनिन्छ साङ वाल किमकी श्रीमतीभन्दा शक्तिशाली हुँदैछिन् तर किमकी दिदीभन्दा बलियो हुनचाहि निकै मुस्किल छ । किनभने किमले जुन अधिकार बहिनीलाई उपलब्ध गराएका छन्, त्यति अधिकार प्रेमिकालाई दिएका छैनन् । त्यसैले भनिन्छ, अहिले उत्तरकोरियाको राजनीतिमा यी ३ महिला, जसको वरिपरि सर्वोच्च नेता किमको शक्ति घुमिरहन्छ, जोसँग शक्तिको ट्रिगर रहेको दाबी गरिन्छ । -दैनिक जागरणको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप