शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट र सर्लाहीमा चन्दा आतंक फैलाउने २ जना पक्राउ

बिहीबार, ०८ साउन २०७७, १८ : ४५
बिहीबार, ०८ साउन २०७७

रौतहट । अपहरण तथा ज्यान मार्ने धम्कीसहित लाखौं रुपैया चन्दा माग्ने २ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । सर्लाहीदेखि रौतहटसम्मका ब्यापारी तथा शिक्षकलाई थर्काउँदै लाखौं रुपैया चन्दा माग्ने २ जना युुवकलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको गढीमाई नगरपालिका ३ गमहरियाका रामशेवक ठाकुरका छोरा वर्ष ३२ का जयकिशुन ठाकुर र सर्लाही धनकौल गाँउपालिका ७ बैरियाका २८ वर्षीय मुुकेश यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुुमार महतोले बताए ।

सर्लाही रामनगर गाउँपालिका २ को धनकौल मावि छौटौलमा  प्रधानाध्यापक रहेका अशोक साहसँग उनीहरुले फोनमार्फत धम्की लिएर ६ लाख रुपैया मागेको प्रहरीको आरोप छ । साह  रौतहट गरुडा नपा–४ मा बस्दै आएका थिए । साहलाई आरोपीहरुले बिभिन्न मितिमा फोन गरेर अपहरण गर्ने र ज्यान समेत मारिदिने धम्कीसिहत ५ लाख रुपैयाँ माग गरेको डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

प्रहरीका अनुसार ९८०८२०८११३ नम्बरबाट उनीहरुले  पटक पटक धम्की दिँदै पैसा मागेका थिए । प्रधानाध्यापकको लिखित उजुरीको आधारमा त्यसलगत्तै डिएसपी महतोको कमाण्डमा २० जना प्रहरी विशेष अनुुसन्धानमा लागेको थियो ।

अनुसन्धानकै क्रममा हिजो आरोपीहरुले पुुनः रकम माग गरेपछि प्रहरीकै योजनामा उनीहरुलाई रकम लिन आउन अनुरोध गरिएको थियो । त्यसलगत्तै गरुडा ४ जिंगडिया चोकमा ना ४५ प ८१६५ नम्बरको मोटरसाईकलमा पैसा लिन आएका दुबै जनालाई सादा पोसाकका प्रहरीले पक्राउ गरेको डिएसपी महतोले बताए ।

पक्राउ परेका दुुबै जनाको साथबाट एकथान मोटरसाईकलका साथै सवारी धनी प्रमाणपत्र, दुुईवटा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, ४ थान सिमकार्ड र पुककार्ड बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका जयकिशुन ठाकुर चन्द्रपुर १० बाल्चनपुर चोकमा आकाश ग्रील उधोग सञ्चालन गर्दै आएका छन् भने मुकेश यादव बाल्चनपुर चोकमै वेलनेस पोलिक्लिनिकमा काम गर्दै आएको खुलेको छ ।

दुबैजनाले यसअघि सर्लाही बरहथवा बजारका ग्याँस डिलर तथा जग्गा कारोवारीसँग पनि धम्की दिँदै १५ लाख रुपैया माग गरेका थिए । माग अनुसारको पैसा नदिएको भन्दै उनीहरुले गत असार २३ गते बरहथवा ७ स्थित जग्गा कारोवारी घरमै गएर नलकटुवा पेस्तोल  फायर गर्न खोज्दा नपड्किएपछि  भागेको प्रहरीको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप