बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले जलमग्न भएको ठाउँमा कसरी भयो धान रोपाइँमा वृद्धि ?

बिहीबार, ०८ साउन २०७७, १५ : ३७
बिहीबार, ०८ साउन २०७७

काठमाडौं । देश बाढीले जलमग्न भएको बेला कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान रोपाइँमा वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ । अविरल वर्षाका कारण प्रायः समतल ठाउँका खेतबारीहरु डुबानमा परेका छन् । यद्यपि मन्त्रालयले अविरल वर्षाकै बीच डुबान, बाढी तथा पहिरोको प्रकोपले जताततै असर गरिरहेको समयमा पनि धान रोपाइँमा उल्लेख्य प्रगति भएको तथ्यांक सार्वजनिक गरेको छ ।

कृषि मन्त्रालयले असार ३१ गतेसम्म ८१.५८ प्रतिशत धान रोपाइँ भएको जानकारी गराएको थियो । साउन ६ गते यो तथ्यांक बढेर ९१.६८ प्रतिशतमा पुगेको मन्त्रालयले जनाएको छ । यसै तथ्यांकलाई आधार मान्ने हो भने ६ दिनमा १० प्रतिशत रोपाइँ भएको छ ।

असार ३ गतेदेखि देशभर लगातार पानी परिरहेकोमात्र होइन, कयौं क्षेत्र डुबानमा पारेको छ । सबैतिर जलमग्न छ । यस्तो समयमा १० प्रतिशत रोपाइँ भएको तथ्यांकबारे कृषि मन्त्रालयका प्रवक्ता डा.बहादुर केसी भन्छन्, ‘धेरै ठाउँमा पहिला नै रोपाइँ भइसकेको थियो, तराईतिर लगभग लगभग सम्पन्न नै हुन लागेको थियो, यो बाढीको समयमा पनि जहाँ डुबान छैन त्यहाँ रोपाइँ भएको छ, अहिले डुबान भएका अधिकांश खेतमा रोपाइँ भइसकेको थियो ।’
असार ३१ गतेसम्म प्रदेश २ मा ८३.४१ प्रतिशत रोपाइँ भएको थियो भने साउन ६ गतेसम्म ९४.१७ प्रतिशत पुगेको छ । अर्थात यो ६ दिनमा प्रदेश २ मा १०.७६ प्रतिशत रोपाइँ भएको छ ।

जबकि हालैको वर्षाले ८६ हजार हेक्टरमा लगाइएको धान तथा अन्य बाली नोक्सान भएको प्रदेश सरकारको तथ्यांकमा उल्लेख छ । प्रदेश २ का कृषि मन्त्रालयका सचिव विमल निर्मलले प्रदेश २ मा अविरल वर्षाअघि लगभग रोपाइँ भइसकेको जनाए । ‘१०–२० प्रतिशतमात्र बाँकी थियो होला,’ उनले भने, ‘तर यो बाढीले त्यसलाई प्रभावित पारिदियो ।’

बाढी नपसेको ठाउँमा अझै रोपाइँ भइरहेको जानकारी दिँदै उनले भने, ‘तर बाढीले जुन रुपमा क्षति गरेको छ, त्यो हेर्दा रोपाइँ भइसकेका खेतमा पनि पुनः रोपाइँ गर्नुपर्ने अवस्था देखिन्छ ।’ बाढीले क्षति पु¥याएको ठाउँमा कम्तीमा २० प्रतिशत रोपाइँ गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

त्यस्तै प्रदेश ५ मा पनि ९५ प्रतिशत भन्दा बढी रोपाइँ भइसकेको छ । असार ३१ गतेसम्म ८६.८४ प्रतिशत रोपाइँ भएको थियो । प्रदेश ५ पनि अधिकाँश भाग तराई मधेशमै पर्छन् । त्यहाँ पनि बाढीले निकै असर पु¥याएको छ ।
प्रदेश ५ का कृषि मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले भने, रोपाइँ गर्न थोरै बाँकी थियो, एक÷दुईमै सकिन्थ्यो तर यो बाढीले असर गरेको छ, तैपनि बाढीको प्रभाव नरहेको ठाउँमा धान रोपाइँ भइरहेको छ ।’

रोपाइँ भइसकेका अधिकाँश भागहरु डुबानमा परेको उनको भनाइ छ । बाढीले यहाँका कृषि क्षेत्रमा कति क्षति पु¥याएको छ भन्नेबारे तथ्यांक संकलन गर्ने कार्य भइरहेको उनले बताए ।

यता, प्रदेश १ मा अधिकांश जिल्लाहरु पहाडी क्षेत्रका छन् । त्यहाँ बाढीले त्यति असर पारेको देखिदैन । तर धान रोपाइँमा अरु प्रदेशभन्दा कम रहेको छ । जबकि सोही प्रदेशका झापालाई धानका लागि सुपरजोनको रुपमा राखिएको छ । असार ३१ गतेसम्म त्यहाँ ६९.९१ प्रतिशतमात्र रोपाइँ भएको थियो । साउन ६ गतेसम्म ८२.४१ प्रतिशत रोपाइँ भएको तथ्यांक छ अर्थात यो ६ दिनमा साढे १२ प्रतिशत रोपाइँ भएको छ । 

वाग्मती प्रदेश पनि अधिकांश ठाउँ डुबानमा नपर्ने क्षेत्र हो तर यहाँ पनि धान रोपाइँमा खासै वृद्धि भएको देखिएको छैन । वाग्मती प्रदेशमा असार ३१ गतेसम्म ७२.१० प्रतिशत रोपाइँ भएको थियो भने साउन ६ गतेसम्म ८२.२२ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा ९१.११ प्रतिशत, कर्णाली प्रदेश ९६.२३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९५.४९ प्रतिशत रोपाइँँ भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप