सामाजिक दूरी कायम गरी ‘गुरही’ पर्व मनाउन अनुरोध
कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले हरेक वर्ष धनगढीलगायत आसपासका क्षेत्रमा सामूहिकरूपमा भव्यताका साथ मनाउँदै आएको ‘गुरही’ पर्व यस वर्ष भने सामाजिक दूरी कायम गरी भीडभाड नगरी मनाउन अनुरोध गरिएको छ ।
यही साउन १० गते पर्ने यो पर्व कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर, भीडभाड नगरी आ–आफ्नो गाउँ घर टोल समुदायमा मनाउन सबैमा अनुरोध गरिएको सखी सञ्जाललगायत विभिन्न सङ्घ संस्थाको धनगढीमा यहाँ बसेको बैठकले निर्णय गरेको बताइएको छ ।
‘आफू बचौँं र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित सुरक्षित ढङ्गले गुरही मनाउन अनुरोध गरिएको सखी सञ्जालका कार्यवाहक संयोजक उन्नति चौधरीले जानकारी दिइन् । उनले विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै सामूहिकरूपमा एकै ठाउँमा मनाउँदा भीडभाड भई जोखिम निम्तिने भएकोले यस वर्ष सावधानी अपनाएर आ–आफ्नै गाउँघरमा मनाउन अनुरोध गरिएको बताइन् ।
यो पर्व वर्षायामको खेतीपाती सकिएपछि धानबालीमा कीरा फट्याङ्ग्रा नलागुन् भनेर गाउँका युवतीहरु गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको बताइएको छ । गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा कीरा नलाग्ने र बाली हराभरा भई सप्रिने विश्वास रहिआएको छ । पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको थारु समुदायका अगुवाहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा