शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – चीनको सत्तामा फर्किए देङ सियाओ पिङ

बुधबार, ०७ साउन २०७७, ०६ : २४
बुधबार, ०७ साउन २०७७

२२ जुलाई, सन् १९७७ मा चीनमा देङ सियाओ पिङ फेरि सत्तामा फर्किए । चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनबाट उनी स्टेट काउन्सिलको भाइस प्रिमियर, केन्द्रीय कमिटीको उपाध्यक्ष, मिलिटरी कमिसनको उपाध्यक्ष र जनमुक्ति सेनाको प्रमुख बने । सन् १९७६ को अप्रिलमा तियानान्मेन स्क्वायरमा भएको आन्दोलनमा देङ संलग्न रहेको भन्दै ‘ग्याङ अफ फोर’ उनीविरुद्ध लागेको थियो, त्यसपछि देङ कारबाहीमा परेर शक्तिविहीन बनेका थिए ।

‘ग्याङ अफ फोर’ पतन

‘ग्याङ अफ फोर’ मा माओकी चौथो पत्नी जियाङ क्विङ, पूर्व भाइस प्रिमियर तथा पोलिटब्युरो सदस्य झाङ चुन्कीअयो, वाङ होङवेन र याओ वेनयुआनको समूह थियो । उनीहरु चिनियाँ कम्युनिष्ट पार्टीको अध्यक्षका लागि माओत्से तुङका उत्तराधिकारी प्रिमियर हुवा गुओफेङलाई आफ्नो प्रभावमा राख्न सफल थिए ।  तर, सेप्टेम्बर १९७६ मा माओको निधनपछि देङले सुधारका कार्यक्रमको प्रयास थालेका थिए । जसअन्तर्गत अक्टोबरमा ‘ग्याङ अफ फोर’ का सदस्य पक्राउ परे । त्यसपछि कम्युनिष्ट पार्टीको बैठकबाट ‘ग्याङ अफ फोर’ औपचारिक रुपमा खारेज भयो । यस समुहमाथि कम्युनिष्ट पार्टीलाई पुनर्निर्माण गर्ने प्रयास गरेको र वरिष्ठ नेताहरुलाई हटाएर नयाँ संगठन सिर्जना गर्न खोजेको आरोप लगाइएको थियो । चिनियाँ अधिकारीहरुले ग्याङ अफ फोरलाई निर्दोष साबित गर्नु प्रतिक्रान्तिकारी कदम हुने ठहर समेत गरेका थिए । प्रिमियर हुवाले चीनका २९ वटा प्रशासनिक क्षेत्रमध्ये १३ वटा क्षेत्रको पार्टी नेतृत्वमा उग्र वामपन्थी प्रवृत्ति रहेको पहिचान गरे, र उनीहरुलाई शक्तिबाट हटाइयो ।

सन् १९७८ को अन्त्यसम्म आइपुग्दा देङ सियाओ पिङले हुवा गुओफेङलाई नै छायाँमा पारिसकेका थिए । पक्राउ परेका ग्याङ अफ फोरका सदस्यहरुलाई सन् १९८० मा ‘कू’ प्रयासविरुद्ध छानविन थालियो ।  शक्तिमा आएसँगै देङले चीनमा आर्थिक सुधार थाले । उनले आधुनिकीकरणका चार खम्बाका रुपमा कृषि, उद्योग, राष्ट्रिय सुरक्षा र विज्ञान÷प्रविधिलाई अघि सारे । अर्थतन्त्रलाई विकेन्द्रितकृत गर्ने र देशलाई अन्तर्राष्ट्रिय व्यापारका लागि खुला गर्न उनले सुधारका धेरै कार्यक्रम ल्याए ।

आफ्नो मृत्युअघि अर्थात् सन् १९९७ सम्म उनी राजनीतिमा प्रभावशाली नै रहे । देङले नै पार्टी प्रमुखका रुपमा जियाङ जेमिनलाई स्वीकारेका थिए र जेमिनको उत्तराधिकारीका रुपमा हु जिन्ताओलाई नियुक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप